logo-img

यी पाँच क्रिकेटर, जसले आइपिएल अक्सनमा महँगो मूल्य पाए [भिडियोसहित]
ऋषभ पन्तको ‘विश्वकीर्तिमान’

१८औँ सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा पनि टिमहरूले पैसाको वर्षा गरेका छन् । साउदी अरेबियाको जेद्दामा भएको अक्सनमा उनीहरूले केही खेलाडीमाथि खुलेरै पैसा खर्च गरेका हुन् ।

यसपटक टिमहरूको प्राथमिकतामा भारतीय खेलाडी परे । अक्सनमा सर्वाधिक मूल्य पाउने खेलाडीको सूचीमा भारतीय विकेटकिपर ऋषभ पन्त शीर्ष स्थानमा रहे । दिल्ली क्यापिटल्सका पूर्वकप्तान पन्तलाई लखनउ सुपर जायन्ट्सले २७ करोड भारुमा अनुबन्ध गर्‍यो । 

योसँगै ऋषभ क्रिकेट इतिहासकै सर्वाधिक महँगो खेलाडी बने । यसअघि क्रिकेटको अक्सनमा कुनै पनि खेलाडीमाथि यति ठूलो बोली लागेको थिएन । पन्तलाई अनुबन्ध गर्न लखनउले रोयल च्यालेन्जर्स बेंगलुरु, सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्ससँग कडा प्रतिस्पर्धा गरेको थियो ।

अन्ततः पन्तलाई अनुबन्ध गर्न लखनउले कीर्तिमानी मूल्य खर्चियो । उनी आक्रामक ब्याटिङका लागि परिचित छन् । दिल्लीमा रहँदा १११ म्याच खेलेका पन्तले १४८.९३ को स्ट्राइक रेटमा ३ हजार २ सय ८४ रन बनाएका छन् । त्यसक्रममा उनले १८ अर्धशतक र एक शतक प्रहार गरे । यसपटक दिल्लीले रिलिज गरेपछि पन्त २ करोड बेस प्राइसका साथ अक्सनमा सहभागी थिए ।  



यस्तै, आइपिएल अक्सन २०२५ मा सर्वाधिक मूल्य पाउने खेलाडीको सूचीको दोस्रो स्थानमा अर्का भारतीय खेलाडी श्रेयस अय्यर रहे । उनी २६ करोड ७५ लाख भारुमा पञ्जाब सुपर किंग्समा जोडिए ।

योसँगै अय्यरले आइपिएल अक्सनमा सर्वाधिक मूल्य पाउने मामलामा अस्ट्रेलियाका मिचेल स्टार्कको रेकर्ड तोडे । स्टार्क गत सिजनको आइपिएल अक्सनमा २४ करोड ७५ लाखमा बिक्री भएका थिए ।

यद्यपि उनको रेकर्ड एक वर्षमै भंग भयो । गत सिजनमा कोलकाता नाइट राइडर्सलाई च्याम्पियन बनाएका कारण पनि यसपटक अय्यरले महँगो मूल्य पाए । अक्सनमा उनलाई अनुबन्ध गर्न पञ्जाबसँगै दिल्ली र कोलकाताले प्रतिस्पर्धा गरेका थिए । तर, उनीहरू २४ करोड ७५ लाख तिर्न तयार नभएपछि अय्यर पञ्जाबमा पुगे ।

दुई टिमबाट आइपिएल खेलिसकेका उनले हालसम्म ११५ खेलमा  २१ अर्धशतकको मद्दतमा ३ हजार १२७ रन बनाएका छन् । यस्तै, अर्का भारतीय क्रिकेटर वेंकटेश अय्यर आइपिएल २०२५ को अक्सनमा महँगोमा बिक्री हुने खेलाडीको सूचीमा तेस्रो स्थानमा रहे ।



उनी २३ करोड ७५ लाख भारुमा कोलकाता नाइट राइडर्समा पुनरागमन गर्न सफल भए । उनलाई भित्र्याउन केकेआरका साथै बेंगलुरु र लखनउ प्रतिस्पर्धामा थिए । वेंकटेशलाई अनुबन्ध गर्न बेंगलुरुले कोलकातासँग अन्तिमसम्म प्रतिस्पर्धा गर्‍यो ।

यद्यपि बेंगलुरु २३ करोड ७५ लाखभन्दा बढी रकम तिर्न इच्छुक नभएपछि उनी फेरि कोलकाताको जर्सीमा देखिने छन् । वेंकटेश यति महँगो मूल्यमा बिक्री भएपछि धेरै क्रिकेट समर्थक र विश्लेषक अचम्ममा परेका छन् । हालसम्म उनले ५० आइपिएल म्याचमा ११ अर्धशतक र एक शतकको मद्दतमा १ हजार ३२६ रन बनाएका छन् । 

यस्तै, भारतीय स्पिनर युजवेन्द्र चहलले पनि कीर्तिमानी मूल्य पाए । उनी अक्सनमार्फत १८ करोड भारुमा पञ्जाबमा अनुबन्ध भए । आइपिएल इतिहासमा कुनै पनि टिमले स्पिनरमाथि यति धेरै रकम खर्चिएको यो पहिलोपटक हो ।

२ करोड ‘बेस प्राइस’ राखेका चहललाई लिन पञ्जाबसहित लखनउ, बेंगलुरु र हैदराबाद प्रतिस्पर्धामा थिए । अन्तिममा उनलाई पञ्जाबले महँगोमा अनुबन्ध गर्‍यो । सन् २०१३ देखि आइपिएल खेल्न लागेका चहलले हालसम्म १६० खेलमा २०५ विकेट लिएका छन् । उनी आइपिएलमा सर्वाधिक विकेट लिने मामलामा शीर्ष स्थानमा छन् । 

यस्तै, आइपिएल अक्सन २०२५ मा महँगो मूल्य पाउने खेलाडीको सूचीमा भारतीय तीव्र गतिका बलर अर्शदीप सिंह पनि रहेका छन् । उनलाई पनि पञ्जाब किंग्सले १८ करो भारुमा अनुबन्ध गर्‍यो ।

२ करोड बेस प्राइस राखेका सिंहलाई भित्र्याउन पञ्जाबसहित राजस्थान, हैदराबाद र गुजरातले पनि बोली लगाए । तर, अन्तिममा पञ्जाबले उनलाई भित्र्याउन सफल भयो ।

उनले हालसम्म आइपिएलमा ६५ खेलमा ७६ विकेट लिएका छन् । यसपालि आइपिएल अक्सनमा नेपाली खेलाडीले भने नाम दर्ता गराएका थिएनन् । हालसम्म नेपाली खेलाडीको रूपमा स्पिनर सन्दीप लामिछानेले मात्र आइपिएल खेलेको इतिहास छ ।   

  • प्रकाशित मिति : मंसिर १०, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया