पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को मिति नजिकिएसँगै खेलाडी कडा अभ्यासमा छन् । यही १५ मंसिरदेखि सुरु हुने एनपिएलमा पूर्वको विराटनगरदेखि पश्चिमको सुदूरपश्चिमको सहभागिता रहनेछ । आठवटै टिमले डेब्यू सिजनमै उपाधि जित्ने दाबी गरिरहेका छन् ।
यस्तै दाबी गर्नेमध्येमा पर्छ, चितवन राइनोज पनि । यद्यपि लिग सुरु नहुँदै चितवनलाई चिन्ता पनि थपेको छ । कुशल मल्ल ‘मार्की प्लेयर’ रहेको चितवनमा आबद्ध दक्षिण अफ्रिकाकी तीव्र गतिका बलर मार्चन्ड डे लांगले एनपिएल गुमाउने छन् ।
उनले चोटका कारण एनपिएल नखेल्ने भएका हुन् । यस्तै, अर्का तीव्र गतिका बलर कमल सिंह ऐरीले पनि चोटका कारण एनपिएल गुमाउने सम्भावना छ । यदि उनी पनि एनपिएलबाट बाहिरिएमा चितवनलाई धक्का लाग्न सक्छ ।
भाग्यले साथ नदिँदा अक्सनमा चितवनले टी–२० विशेषज्ञ खेलाडी अनुबन्ध गर्न सकेन । उससँग विदेशी खेलाडीको रूपमा इंग्ल्याण्डका रवि बोपारा र ल्यूक मार्टिन बेनकेन्स्टाइन, नामिबियाका जान निकोल लोफ्टी इटन र अफगानिस्तानका हसन इसाखिल रहेका छन् । उनीहरूमध्ये रवि र लोफ्टीले टी–२० मा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
रविसँग आइपिएल, पिएसएल, सिपिएल, बिबिएल, एलपिएलदेखि टी–१० लिगको अनुभव छ । यस्तै, अलराउन्डर लोफ्टी इटनले टियू मैदानमा सानदार प्रदर्शन गर्दै आएका छन् । उनले गत वर्षको फागुनमा टियू मैदानमा नेपालविरुद्ध ३३ बलमै शतक हिर्काउँदै विश्वकीर्तिमान बनाए ।
उनीभन्दा अघि टी–२० आईमा सर्वाधिक छिटो शतक बनाउने रेकर्ड कुशल मल्लको नाममा थियो । यस्तै, चितवनमा आबद्ध युवा विदेशी अलराउन्डर ल्यूक मार्टिनले घरेलु क्रिकेटमा राम्रो गर्दै आएका छन् । उनले गत जनवरीमा भएको यू–१९ विश्वकपमा इंग्ल्याण्डको उपकप्तानको जिम्मेवारी सम्हालेका थिए ।
बेनकेन्स्टाइनले १७ वर्षको उमेरमै काउन्टी क्रिकेटमा ४२ रन दिएर ६ विकेट लिएका थिए । उनी स्पिन बलिङ गर्छन् ।
यस्तै, चितवनले अर्को विदेशी खेलाडीको रूपमा अफगानिस्तानका ब्याटर हसन इसाखिललाई अनुबन्ध गरेको छ । यू–१९ विश्वकप खेलिसकेका उनी ओपनिङ ब्याटर हुन् ।
इसाखिलले हालसम्म १६ टी–२० खेलमा तीन अर्धशतकसहित ४२६ रन बनाएका छन् ।
यस्तै, चितवनले अक्सनमार्फत रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषवाकर, विपिन रावल, सन्तोष कार्की, दीपेश श्रेष्ठ, अमरसिंह रौटेला, दीपक बोहरा, रञ्जित कुमार र गौतम केसीलाई अनुबन्ध गरेको छ ।
युवा खेलाडीमा निर्भर
उमेश पटवाल हेडकोच रहेको चितवन युवा खेलाडीमा बढी निर्भर हुने देखिन्छ । उसँग ओपनिङका लागि अनुभवी खेलाडी छैनन् । चितवनमा यो जिम्मेवारी सन्तोष कार्की र विपिन रावलले सम्हाल्न सक्छन् । ओपनिङका लागि दीपक बोहरा र अफगानिस्तानका हसन इसाखिल पनि विकल्पमा छन् ।
मध्यक्रमका भने चितवनसँग अनुभवी खेलाडी छन् । यो भूमिकामा रवि बोपारा, जान निकोल लोफ्टी इटन, शरद भेषवाकर र कुशल मल्ल रहेका छन् । तल्लोक्रममा चितवनसँग अमरसिंह रौटेला, ल्यूक मार्टिन बेनकेन्स्टाइन र रञ्जित कुमार रहनेछन् ।
फास्ट बलिङमा भने चितवन कमजोर देखिन्छ । मार्चन्ड डे लांग र कमल सिंह ऐरीले एनपिएल गुमाउने भएपछि चितवनको फास्ट बलिङ पक्ष कमजोर देखिएको हो । अहिले चितवनमा फास्ट बलरको रूपमा रिजन ढकाल, गौतम केसी र दीपेश श्रेष्ठले खेल्ने छन् ।
स्पिनतर्फ चितवन सन्तुलित देखिन्छ । उसँग स्पिनरको रूपमा कुशल मल्लसहित रञ्जित कुमार, शरद भेषवाकर, जान लोफ्टी इटन रहेका छन् । यस्तै, चितवनमा आइकोनिक प्लेयर्समा ब्याटर सलाहुद्दिन खान हुने छन् ।
यस्तै, चितवनले ट्यालेन्ट हन्टबाट मनिष पुन र रोशन झालाई पनि छनोट गरेको छ । चितवनले पहिलो खेलमा १७ मंसिरमा काठमाडौं गुर्खाजसँग खेल्ने तालिका छ ।
यो पनि
शिखर धवन अनुबन्धपछि कर्णाली याक्स फुरुङ्ग, टिम कति बलियो ? [भिडियोसहित]
एनपिएल : ‘कीर्तिमानी’ खेलाडीआबद्ध चितवन राइनोज कति बलियो ? [भिडियोसहित]
एनपिएलमा सुदूरपश्चिमले देखाउला तुफान ? कति बलियो छ टिम ? [भिडियोसहित]
अक्सनमा ‘भाग्यमानी’ बनेको जनकपुर कति बलियो ? को-को छन् टिममा स्टार ?
विदेशी खेलाडी अनुबन्धपछि बलियो बन्यो काठमाडौं, जित्ला एनपिएल उपाधि ?
एनपिएलमा कति ‘पावरफुल’ छ पोखरा ? को-को छन् स्टार ?
नेपाल प्रिमियर लिग : सन्दीप नेतृत्वको विराटनगर किंग्स कति बलियो ? [भिडियोसहित]
एनपिएलमा विदेशी खेलाडी : ‘गब्बर’ देखि गुप्टिलसम्म, अरू को-को अनुबन्ध ? [भिडियोसहित]
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।