विश्वका सबैभन्दा वृद्ध व्यक्ति बेलायती जोन टिनिसवुडको ११२ वर्षको उमेरमा निधन भएको छ । उनको उत्तरपश्चिम इङ्गल्यान्डको साउथपोर्टमा रहेको केयर होममा निधन भएको गिनिज वर्ल्ड रेकर्डले मङ्गलबार उनको परिवारलाई उद्धृत गर्दै जनाएको हो ।
टिनिसवुडको जन्म २६ अगस्ट सन् १९१२ मा लिभरपुलमा भएको थियो । अप्रिलमा भेनेजुएलाका ११४ वर्षीय जुआन भिसेन्टे पेरेजको निधनपश्चात् उनी विश्वका सबैभन्दा वृद्ध व्यक्ति बनेका थिए । ‘उहाँको अन्तिम दिन सङ्गीत र प्रेमले घेरिएको थियो’, परिवारले एक विज्ञप्तिमा भनेको छ, ‘वर्षौंदेखि उहाँको हेरचाह गर्ने सबैलाई धन्यवाद ।’
टाइटानिक जहाज डुबेको सोही वर्ष जन्मिएका र दुवै विश्वयुद्धबीच जीवित रहेका टिनिसवुडले गिनिज विश्व रेकर्ड्सलाई उनको दीर्घायुको रहस्य ‘शुद्ध भाग्य’ रहेको बताएका थिए ।
उनले स्वस्थ रहन सबै कुरामा संयम अपनाउन सल्लाह दिएका थिए । दोस्रो विश्वयुद्धको समयमा टिनिसवुडले रोयल आर्मी पे कर्प्समा प्रशासनिक भूमिका निर्वाह गरे ।
उनी लिभरपुल फुटबल क्लबका आजीवन समर्थक थिए । उनी हरेक शुक्रबार माछा र चिप्स खान्थे । विश्वको सबैभन्दा वृद्ध महिला जापानकी ११६ वर्षीया टोमिको इटुका छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।