Mon, 20 May, 2019


कर्पाे टक
इसेवाका सिइओ अस्गर अलीः एउटा टाइपराइटरले बदलिदिएको जिन्दगी
फरकधार / बैशाख २६, २०७६
सबै तस्वीर: अस्गरकाे फेसबुकबाट ।

जब हात्तिसारस्थित लालचन प्लाजाको आठौं तलामा रहेको नेपालको पहिलो अनलाइन पेमेन्ट गेटवे इसेवाको कार्यालयमा बसेर इसेवाका प्रबन्ध निर्देशक तथा मुख्य कार्यकारी अधिकारी अस्गर अली विगतमा फर्किन्छन्, उनी मुसुक्क हाँस्छन् ।

उनको अनुहारमा आउने यो मुस्कानको मुहान सन् १९९६ देखि नै सुरु हुन्छ । त्यति बेला अस्गर बुटवलको लुम्बिनी बोर्डिङ स्कुलमा ६ कक्षामा पढ्थे । बुबाले व्यवसायमा ध्यान देला र छोरा बिग्रिएला भनेर अस्गरलाई होस्टेलमा राखेका थिए । बुबा र उनका अंकलहरु व्यवसायमा थिए, अस्गरलाई पढाएर ‘केही र कोही बनाउन’ चाहन्थेँ, आफ्नै व्यवसायको बिँडो थाम्ने होइन । 

‘बुबा दाङमा व्यापार गर्दै हुनुहुन्थ्यो,’ केही दिनअघि अस्गर विगतमा फर्किए, ‘अंकल बुटवलमा हुनुहुन्थ्यो । सँगै राखे व्यापार तिरै ध्यान देला भन्ने सोचेर मलाई बुबाले होस्टेलमा राखेर पढाउने हुनुभयो ।’

त्यसैले ६ कक्षा पुग्दा नपुग्दै अस्गर होस्टल बस्न थाले । ६ कक्षामा पढ्दा अस्गरको स्कुलमा दुई वटा कम्प्युटर र एउटा टाइपराइटर ल्याइयो । स्कुलले लिने परीक्षाहरुका लागि प्रश्नपत्र प्रिन्ट गर्न त्यो टाइपराइटर ल्याइएको थियो । तर, टाइपराइटर ल्याएको केही समयमा टाइपराइटर चलाउन जान्ने स्कुलका एक मात्र शिक्षक भारत फर्किए । अब स्कुलमा टाइपराइटर चलाउन जान्ने कोही थिएन । 

अस्गरलाई टाइपराइटर सिक्न मन लाग्यो । ‘टाइपराइटर सिक्नु पर्छ भन्ने चाहना पछाडिको एउटै ध्येय परीक्षाको प्रश्नपत्र टाइप गर्न पाए धेरै नम्बर ल्याउन सक्थेँ भन्ने थियो,’ अस्गर हाँसे, ‘अनि उनी टाइपिङ सेन्टर धाउन थाले ।’ ६ कक्षा पढ्ने अस्गरलाई टाइपिङ इन्स्टिच्युटमा अरु विद्यार्थीहरु अचम्म मानेर हेर्थे । तर, उनको दिमागमा एउटै कुरा थियो– मैले अहिले टाइपिङ सिकेँ भने भोलि आफ्नो प्रश्नपत्र आफैं टाइप गर्न पाउँछु अनि परीक्षामा राम्रो नम्बर ल्याएर पास हुन्छु । 

उनलाई यो कुरामा उत्साह थपेको थियो त्यो इन्स्टिच्युटमा उनले पाएको प्रतिक्रियाका कारण । टाइपिङ इन्स्टिच्युटमा उनलाई भनिएको थियो– ६ कक्षामा पढ्ने केटो टाइपिङ सिक्ने, तिमीलाई म फ्रिमा सिकाउँछु । यसले अस्गरको मनमा उत्साह थपिदियो । 

अस्गरले टाइपराइटर चलाउन राम्रोसँग जानिसकेका थिए । स्कुलमा परीक्षा पनि नजिकिँदै थियो । टाइप राइटरमा प्रश्नपत्र टाइप कसले गर्ला भन्ने खोजी पनि सुरु भयो । अस्गरले लामो समयदेखि सोचिरहेको मौका गुमाउन चाहेनन् ।

‘तर, सरहरुले बठ्याइँ गर्नुभयो,’ अस्गर लामो समयसम्म हाँसे अनि थपे, ‘अरु सबै कक्षाको प्रश्नपत्र मैले टाइपिङ गर्न पाएँ तर मेरो कक्षाको प्रश्नपत्र सरहरुले मलाई नै दिनुभएन ।’ तर, उनले आफूले प्रश्नपत्र टाइप गरेको कुरा अरु कक्षाका कसैलाई पनि भनेनन् । शिक्षकले त भन्ने कुरा नै भएन ।

त्यसपछि स्कुलमा आएका दुई कम्प्युटर सिकाउन थालियो । अस्गर होस्टलमा बस्ने भएकाले राती अबेरसम्म पनि उनको कम्प्युटरमा एक्सेस भयो । स्कुलमा कम्प्युटर पढाउने शिक्षक पनि होस्टलमा नै बस्ने भएकाले उनीहरु दुई जना मिलेर अबेरसम्म कम्प्युटर ‘एक्सप्लोर’ गरे । त्यही सात आठ कक्षामा पढ्दा अस्गर कम्प्युटरसँग नजिकिए, प्रविधिसँग सम्मोहित भए । कालान्तरमा उनी यही क्षेत्रमा स्थापित भए ।

८ कक्षासम्म लुम्बिनीमा पढेपछि ९ कक्षा पढ्न अस्गरलाई बुबाले होराइजन बोर्डिङ स्कुलमा डे बोर्डस गरिदिनु भयो । त्यति बेला अस्गरलाई बुबाले बारम्बार भनेको कुरा अहिले पनि सम्झनामा छ । त्यसैलाई उनले आफ्नो जीवनको मूलमन्त्र बनाए । ‘बुबाले हामीलाई सानैदेखि भन्नुहुन्थ्यो– हामी यो संसारमा अस्थायी रुपमा आएको हौँ, यो जीवनमा गरेका हामीले गरेका सबै कुराको हिसाबकिताब हुन्छ र माथि गएर त्यसको सब हिसाबकिताब बुझाउनु पर्छ,’ अस्गरले सम्झिए । बुबाले सिकाएको यो कुराले अस्गरको बानी नै बन्यो । 

अहिले स्कुले जीवन सम्झिँदा अस्गरलाई लाग्छ, बुबाले होस्टलमा राखिदिएकाले उनले जीवनमा कुनै पनि घटनालाई ट्याकल गर्न आफैं तयार हुनु पर्ने सिक्न पाए । होस्टल र स्कुलमा आफूभन्दा सिनियरले गर्ने व्यवहार र साथीहरुबीच हुने सानातिना झगडाले पनि आफूलाई जीवनमा आइपर्ने घटना ट्याकल गर्न सिकाएको अस्गरलाई लाग्छ । 

‘सिनियरहरुले बुलिइङ गर्ने, शिक्षकहरुले पनि राम्रो पढ्नेलाई ध्यान दिने अन्यत्र हुने जस्तै हाम्रो स्कुलमा पनि हुन्थ्यो, त्यसले मलाई कुनै पनि समस्या ट्याकल आफैंले गर्ने भन्ने हो सिकायो,’ अस्गरले सम्झिए ।

बुटवलमा स्कुल लेभलको पढाइ सकिएपछि अस्गर पढ्न काठमाडौं आए । ‘खासमा बुबा मलाई आफ्नो व्यवसायबाट टाढा राख्न चाहनुहुन्थ्यो, म पढोस् भन्ने उहाँको चाहना थियो,’ अस्गरले सम्झिए, ‘मेरो एकजना अंकल काठमाडौंमा पढ्दै हुनुहुन्थ्यो, म आएर काठमाडौंमा उहाँसँगै बस्न थालेँ ।’ 

उनीसँगै उनको स्कुलका केही साथी पनि काठमाडौं आएका थिए । तीमध्ये ६/७ मिलेर एउटा फ्ल्याट लिएका थिए । तर, अस्गर अंकल काठमाडौंमा भएकाले अंकलसँगै बस्न थाले ।

‘सातैपिच्छे म उनीहरुको फ्ल्याटमा जान्थेँ, हामी निकै रमाइलो गथ्र्यौँ,’ अस्गरले कलेज जीवनको त्यो रमाइलो पल सम्झिए । 

तर, जब प्लस टु सकेर सबै साथीहरु आआफ्नो बाटो लागे, अस्गर झसङ्ग भए । त्यति बेला अस्गरका कोही साथी इन्जिनियरिङ पढ्न लागे, कोही मेडिकल साइन्स । जे होस्, अत्यन्त मिल्ने ६/७ जना साथीहरु ६/७ तिर भए । 

‘प्लस टु पढ्दा जीवनमा यसै बितिहाल्छ, यस्तै रमाइलोमा बितिहाल्छ भन्ने लागेको थियो,’ अस्गरले जीवनलाई त्यति बेला बुझे, ‘तर, साथीहरु चारतिर छरिएपछि मैले बल्ल जीवन बुझेँ, जीवनमा त आफ्नो लागि आफैंले केही गर्नु पर्ने रहेछ, रमाइलो भन्ने त दुई चार दिनको कुरा मात्र रहेछ ।’ 

त्यसपछि आफ्नो ‘प्यासन’को क्षेत्रमा अस्गर अझ बढी तल्लिन हुन थाले । पुल्चोक इन्जिनियरिङको प्रवेश परीक्षामा उनी सफल भएका थिएनन् । त्यसले उनलाई कम्प्युटर किनेर घरमा ल्याएर केही गर्नु पर्छ भन्ने सोच जन्माइदियो । अनि उनलाई अंकलले साथ दिए । प्लस टु सकेपछि एक वर्ष ‘फाल्तु’ भए अस्गर । 

र, त्यही एक वर्ष नै अस्गरको जीवनको ‘टर्निङ पोइन्ट’ बन्यो । त्यही वर्षमा उनले आफूले गर्नु पर्ने काम, आफूले गर्न सक्ने काम के हो भन्ने बुझ्न थाले, आफ्नो प्यासन पछ्याउन थाले । 

त्यही बेला अस्गरले लेख्न थाले । काठमाडौंका एफएममा कथा पढिन थालेका थिए । अस्गरका कथा काठमाडौंका एफएमबाट बज्न थाले । विस्तारै अस्गरले त्यसलाई निरन्तरता दिन थाले । तर, यो क्रम लामो समय रहेन । 

‘एकदिन म झसंग भएँ,’ उनले भने, ‘सम्झिएँ– के म लेखक नै बन्ने हो त ?’ उनले आफूलाई गरेको प्रश्नको जवाफ आफैंबाट पाए– होइन । अनि उनी झन् ‘डेडिकेटेड’ भएर कम्प्युटरमा लाग्न थाले । काठमाडौंमा अंकलले उनलाई पूरा साथ दिए । त्यसैले साँझतिर कम्प्युटर चलाउन थालेका अस्गर भोलिपल्ट मध्यदिनसम्म पनि कम्प्युटरमा नै घोत्लिन्थे । तर, यसमा उनको अंकलको कुनै गुनासो हुँदैनथ्यो, बरु अंकल अस्गरमा उत्साह नै थप्थे । 

अर्कोतिर, आफ्नो प्यासनलाई पछ्याउन पाएका अस्गरले आफू कहाँ छु र अगाडिका वर्षमा आफूलाई कहिले कहाँ पुर्याउने भन्ने योजना बनाउन थाले । उनले आफूले बनाएको त्यो प्रष्ट चित्र अहिले पनि सम्झिन्छन् । तर, जीवन सोचेजस्तो हुँदैन । कहिलेकांही जे सोचिएको हुँदैन, त्यो हुन सक्छ । जे सोचिएको हुन्छ, त्यो नहुन पनि सक्छ । 

अस्गरको जीवनमा पनि ठ्याक्कै यस्तै भयो । उनले बनाएको स्केचअनुसार जीवन अगाडि बढेन । एनसिआइटी कलेजमा पढ्न सुरु गरेपछि उनको विश्वास ढकालसँग भेट भयो । विश्वास ढकाल ‘सार्प बिजनेस माइन्ड’का थिए । यी दुई एकअर्कासँग मिल्न थाले । व्यवसायका नयाँ योजना बन्न थाले, अस्गरले त्यही बाटोलाई आफ्नो भविष्य सम्झिए, केही सिक्दै, काम गर्दै गर्न थाले । 

‘विश्वास ढकाल मल्टिडाइमेन्सनल हुनुहुन्छ, उहाँले राम्रो योजना बनाइसक्नु भएको थियो । कतिसम् मभने कोटेश्वरमा उहाँको फ्ल्याटकै दुई कोठामा हाम्रो अफिस थियो,’ अस्गरले भने, ‘अब अफिसमा पनि कम्प्युटर चलाउनु र कलेजमा पनि कम्प्युटर प्रोग्रामिङ नै गर्ने भएकाले मलाई खास जीवन बाँचिरहेको आभास भएको थियो ।’

कलेज सकिँदानसकिँदै पूर्ण रुपमा व्यवसायमा लागे अस्गर, आइटी व्यवसायमा । उनकाे कम्पनी एफवान सफ्ट नेपालले बैकिङ क्षेत्रमा उपलब्धिमुलक काम गरेकाे छ । त्यसैकाे एउटा प्राेडक्ट इसेवा अहिले धेरै नेपालीकाे जीवनशैली बनिसकेकाे छ । व्यवसायका रुपमा अगाडि बढेपछि  अस्गर व्यस्त हुने नै भए । जब कम्पनीलाई अलिक बढी समय दिनु पर्ने भयो, त्यसपछिका दिनहरु कसरी बिते भन्ने नै सम्झँदैनन् अस्गर । ‘विहान घरबाट निस्कनु र अबेर घर फर्किनु दैनिकी हुन थाल्यो,’ उनी सम्झन्छन्, ‘अहिले पछाडि फर्किँदा मलाई लाग्छ, मैले धेरै कुरा मिस गरेको छु । जस्तो कि मैले म्यारिज लाइफ, टिपिकल पारिवारिक जीवन नै पनि मिस गरिरहेको छु ।’

तर, पनि उनलाई यसमा कुनै पछुतो छैन । ‘२४ वर्षको उमेरदेखि मेरो हरेक दिन कसरी गयो भन्ने म आफैंलाई थाहा छैन,’ अस्गर भन्छन्, ‘मैले आफ्नो प्यासनलाई फलो गरेँ, त्योवाहेक अरु सबै कुरा मिस गरेँ ।’

त्यसो त अहिले अस्गर आफ्नो र टिमको प्यासनका कारण नेपालको डिजिटल भुक्तानी र बैकिङ सिस्टममा केही भए पनि परिवर्तन आएको देख्दा खुसी हुन्छन् । ‘तर, गर्नु पर्ने अझै धेरै छ,’ उनले निक्र्योल निकालेका छन् ।

र, सँगसँगै बढेको छ उनको व्यस्तता पनि । यो व्यस्ततालाई बुझाउनलाई उनले नयाँ वाक्यांश ‘क्वाइन’ गरेका छन्– लाइफ फुल अन झ्याप व्यस्त ।


यो पनि नछुटाउनुहोस्