गिनीको दोस्रो ठूलो शहर एनजेरेकोरमा एक फुटबल खेलमा भागदौड हुँदा ५६ जनाको मृत्यु भएको छ ।
रेफ्रीको निर्णयप्रति असन्तोष व्यक्त गर्दै समर्थकहरूबीच विवाद हुँदा भागदौड मच्चिएको थियो । उक्त भागदौडका क्रममा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको त्यहाँको राष्ट्रिय टेलिभिजनले जनाएको छ ।
प्रधानमन्त्री अमादोउ ओरी बाहले फेसबुकमा पोस्ट लेख्दै लाबे र एनजेरेकोरको टोलीबीचको खेलमा खलल पुर्याउने घटनाको निन्दा गरेका छन् ।
‘सरकारले घटनाको अनुसन्धान गरिरहेको छ । घाइतेहरूको उपचार र अन्य सहयोगमा बाधा नपुगोस् भन्नेमा पूर्णरूपमा सजग छ । सरकार सबै नागरिकलाई शान्तिका लागि संयमता अपनाउन आह्वान गर्दछ,’ उनले भनेका छन् ।
सन् २०२१ मा भएको सत्ता विद्रोह (कू) बाट सत्ता कब्जा गरेर आफूलाई राष्ट्रपतिमा स्थापित गरेका गिनीका जुन्टा नेता मामाडी डौम्बोयाको सम्मानमा आयोजना गरिएको प्रतियोगिताको एक हिस्साका रूपमा दक्षिणपूर्वी सहरमा उक्त खेल भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।