सुदुरपश्चिम प्रदेशमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसले चार वडाअध्यक्षमा र नेकपा (एमाले) एक गाउँपालिका उपाध्यक्षमा जित हासिल गरेको छ । कांग्रेस वडाध्यक्ष बाहेक कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा विजयी भएको हो । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एमाले)की सुलोचनाकुमारी भण्डारीले एक हजार सात सय ४० मत प्राप्त गरी निर्वाचित भएकी छिन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीले एक हजार चार सय ७४ मत पाएकी छिन् । तेस्रो स्थानमा नेकपा (एकीकृत समाजवादी)की जवा शाहीले पाँच सय ५३ मत पाए । दुई वर्षअघि भएको निर्वाचनमा यो गापाको उपाध्यक्षमा कांग्रेसकी मैना जोशी निर्वाचित भएकी थिइन् ।
उनको निधनपछि उपनिर्वाचन भएको हो । वि.सं २०७४ मा भने सो गा.पामा एमाले नै विजयी भएको थियो । दुई वर्ष अघिको निर्वाचनमा पराजय बेहोरेको कांग्रेस उपनिर्वाचनमा बझाङ जिल्ला, सुर्मा गापा–४ र दार्चुला जिल्ला, दुहु गापा–५ को वडाध्यक्ष पदमा निर्वाचित भएको छ ।
सुर्मा–४ मा कांग्रेसका धीरेन्द्र पुजारा छ सय ५७ मतसहित विजयी हुँदा उनको निकटतम प्रतिस्पर्धामा एमालेका लखिचन्द्र बोहराले चार सय ८७ मत पाएका छन् । यसअघिको निर्वाचनमा एमालेका प्रत्यासी यो वडाको वडाअध्यक्षमा विजयी भएका थिए ।
यसअघिको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) विजयी भएको दार्चुला दुहु-५ को वडाअध्यक्षमा कांग्रेसका धन सिंह कुँवर तीन सय ७६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका मान सिंह बडालले तीन सय ५८ मत पाएका छन् ।
कांग्रेसले डोटीको पूर्वीचौकी गापा–६ र कञ्चनपुर भीमदत्तनगर नगरपालिका–६ को वडाध्यक्षमा पुनः विजय प्राप्त गरी बिरासत जोगाएको छ । पूर्वीचौकीमा कांग्रेसका मोहन थापा चार सय ६८ मत प्राप्त गरी वडाअध्यक्षमा विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका देवबहादुर थापा तीनसय एक मत पाएका छन् ।
भीमदत्त नगरनगरपालिका-६ को वडाअध्यक्षमा कांग्रेसका प्रकाश चन्द एक हजार एक सय सात मत प्राप्त गरी विजयी हुँदा एमालेका बहादुर चन्द चार सय ८७ मतमा सीमित भएका छन् ।
उपनिर्वाचन अन्तर्गत नै कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसकी टीका चौधरीभूल निर्विरोध निर्वाचित भइसकेकी छिन् । उपनिर्वाचनमा संसद्को तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्रं) का साथै नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीको नतिजा शून्य भएको छ ।
आइतबार भएको उपनिर्वाचनमा मतदान गर्न योग्य कूल मतदातामध्ये स्वामीकार्तिक खापर गाउँपालिकामा ५२, सुर्मा गापामा ७६, पूर्वीचौकी गापामा ५३, दुहुँ गापामा ६९ र भीमदत्तनगर नगरपालिकामा ५५ प्रतिशत मत खसेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।