काठमाडौं– प्रहरीले शनिबारदेखि काठमाडौंका १० वटा सरकारी अस्पतालमा निगरानी बढाउने भएको छ । सरकारी अस्पतालमा सुर्ती र चुरोट सेवन गरेको पाइएमा अब ठाउँका ठाउँ कारबाही हुने भएको छ ।
प्रहरीले काठमाडौंका वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, कीर्तिपुर अस्पताल, गंगालाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग, कान्ति बालअस्पताल, सिभिल अस्पताल र प्रसूति गृहमा निगरानी बढाउने भएको हो ।
प्रहरीले पहिलो चरणमा सरकारी अस्पतालबाट अभियान थाल्ने र दोस्रो चरणमा निजी अस्पतालमा पनि यो अभियान चलाउने भएको छ । अनुगमनका क्रममा सुर्तीजन्य पदार्थ सेवन गरेको भेटेमा जरिबाना तिराइने प्रहरीको भनाइ छ ।
पहिलोपटक चेतावनी दिएर माफी दिने र दोस्रोपटकबाट भने ५० रुपैयाँका दरले जरिवाना गर्ने नीति प्रहरीले लिएको छ । सूर्तीजन्य पदार्थ ऐन, २०६८ बमोजिम कारबाही प्रक्रिया थालिएको प्रहरीको भनाइ छ ।
सबैलाई जानकारी गराउनका लागि चेतनामूलक बोर्ड र पर्चा पनि वितरण गरिनेछ । जरिवानाबाट संकलित रकम नेपाल सरकारको राजश्वमा दाखिला गरिने प्रहरीको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।