काठमाडौंमा जारी पहिलो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्स भिड्दै छन् ।
यी दुई टिमबीचको खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । जारी एनपिएलमा कर्णाली र विराटनगर दुवैले समान तीनवटा खेल खेलिसकेका छन्, जसमा उनीहरूले दुईमा पराजय बेहोर्दा एक/एकवटा खेल जितेका छन् ।
विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भयो । यस्तै, उसले दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ९० रनको हार बेहोर्यो । तेस्रो खेलमा भने सन्दीप लामिछाने कप्तान रहेको विराटनगरले लुम्बिनी लायन्सविरुद्ध २ विकेटको रोमाञ्चक जित निकाल्यो ।
उता कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेट र दोस्रो खेलमा काठमाडौं गुर्खाजविरुद्ध तीन विकेटको पराजय बेहोर्यो । उसले तेस्रो खेलमा भने चितवन राइनोजसँग ६ विकेटको सानदार जित निकाल्यो ।
आज विराटनगर र कर्णाली लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने छन् । आजै हुने पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
जारी एनपिएलमा दुवै टोलीको यो तेस्रो खेल हो । दुई खेल खेलिसकेको लुम्बिनीले दुवैमा हार ब्यहोरेको छ । लुम्बिनी पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेटले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा ऊ शुक्रबार पोखरा एभेन्जर्ससँग १० विकेटले स्तब्ध भयो ।
सुदूरपश्चिम रोयल्सले भने दुईवटै खेल जितेको छ । सुदूरपश्चिमले पहिले खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले हराएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।