प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिकूल परिस्थितिमा पनि सत्य र न्यायप्रति अटल रहेन प्रतिबद्धता जनाएका छन् । बुधबार चाइना मिडिया ग्रुपसँगको एक विशेष अन्तर्वार्तामा उनले आफ्नो राजनीतिक करियर र व्यक्तिगत जीवनका बारे खुलेर आफ्ना धारणाहरु राखेका थिए । त्यस क्रममा उनले किशोर अवस्थामा आफू हजुरआमा र अन्य अभिभावकहरू साथै शिक्षकहरूबाट सत्यको अनुसरण गर्नुपर्छ भन्ने सिकेको उल्लेख गरेका छन् ।
‘हरेक पटक सत्यको जित हुँदैन, तर अन्त्यमा सत्यको जित हुन्छ,’ उनले अन्तर्वार्तामा भनेका छन् । अन्तर्वार्ताका क्रममा ओलीले आफूले राजनीतिक यात्रा सुरु गर्दा निकै अन्धकार पूर्ण अवस्था रहेको र संघर्ष गर्नुपरेको एवं संघर्षको नेतृत्व गरेपछि राजनीतिक परिवर्तन ल्याएको उल्लेख गरेका छन् । सो क्रममा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रस्ताव गरेका तीनवटा विश्वव्यापी पहलको अन्तरसम्बन्ध विश्व शान्ति र सुरक्षा हासिल गर्नु रहेकाले त्यसले आर्थिक विकासको महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका थिए । प्रधानमन्त्री ओलीले विश्वमा शान्ति र समृद्धि अपरिहार्य भएको उल्लेख गरे ।
‘आर्थिक विकासका लागि आर्थिक सुरक्षा जरुरी छ । भोका जनताले केही गर्न सक्दैनन् । आर्थिक समृद्धि पहिलो हो । हामी जनतालाई खुशी बनाउन चाहन्छौँ । सुखी, संसारका प्रत्येक व्यक्तिले आफू सुरक्षित छ भनी महसुस गर्नुपर्छ । समाजमा समानता हुनुपर्छ । त्यसका लागि चीनको प्रयास सकारात्मक छ,’ अन्तर्वार्ताका क्रममा उनले भनेका छन् ।
त्यस्तै उनले साझा मूल्यमान्यता र समझदारीका आधारमा एकताबद्ध भएर नेपाल-चीन मित्रता अझै प्रगाढ बनाउनुपर्ने उल्लेख गरेका छन् । ‘हाम्रो नारा र नीति ‘सबैसँग मित्रता र कसैसँग शत्रुता छैन’ भन्ने हो । नेपाल सार्वभौम र राजनीतिक रूपमा स्वतन्त्र देश हो । हामी हाम्रो आन्तरिक र बाह्य नीतिहरू निर्णय गर्न स्वतन्त्र छौं ,’ उनले भने ।
नेपाल र चीनको मित्रता पुरानो भएको उल्लेख गर्दै ओलीले दुई देश बीचको मित्रता निरन्तर विकसित, गहिरो, फराकिलो हुँदै गइरहेको उनले बताए । प्रधानमन्त्री ओलीले चीनको विकास पूर्ण र व्यापक बन्दै गएकाले शिक्षा, स्वास्थ्य र अर्थतन्त्रलगायत विभिन्न क्षेत्रमा चीनले बहुआयामिक सफलता हासिल गरेको औंल्याएका छन् ।
अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभको ढाँचाभित्र नेपालले गरेको सम्झौताले दुई देशको विकास रणनीतिको प्रतिबद्धतालाई सुदृढ बनाउने पनि बताए । ‘यस पटक हामीले बीआरआई कार्यान्वयन ढाँचामा हस्ताक्षर गर्यौं र यो एक धेरै महत्त्वपूर्ण सम्झौता हो, जुन छाता सम्झौता जस्तै हो । जस अन्तर्गत राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, सबै क्षेत्रहरू समेट्ने धेरै परियोजनाहरू हुनेछन्। र स्वास्थ्य, र पूर्वाधार, विकास क्षेत्र पनि समेटिनेछन्,’ उनले भने ।
चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा ओलीले गत सोमबारदेखि चार दिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किसकेका छन् । भ्रमणका क्रममा उनले नेपाल र चीन बीचको कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सव सन् २०२५ मा पूरा हुने भएकाले सो अवसरमा विशेष समारोहको आयोजना गरिने पनि बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।