logo-img

एनपिएलका सर्वाधिक रनकर्ता : शीर्षमा उक्लिए रोहित, अरूको स्थान कहाँ ?

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणमा लुम्बिनी लायन्स निकै खराब लयमा छ । उसले तीन म्याच खेल्दा जितको खाता खोल्न सकेको छैन ।

लुम्बिनीले पहिलो खेलमा विराटनगर किंग्ससँग २ विकेटले पराजय बेहोर्दै लिगको सुरुवात गर्‍यो । यस्तै, ऊ दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध १० विकेटले पराजित भयो । पराजय यात्रा जारी राखेको लुम्बिनी तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रनले स्तब्ध भयो । 

हारमा ह्याट्रिक गरेको लुम्बिनीलाई प्लेअफमा पुग्न कठिन हुने देखिन्छ । यदि अंक तालिकाको शीर्ष चारमा स्थान बनाउने हो भने उसले बाँकी चारवटै खेलमै जित्नैपर्ने समीकरण बनेको छ ।



टिमले झुर प्रदर्शन गरे पनि लुम्बिनीका कप्तान रोहितकुमार पौडेल भने राम्रो लयमा छन् । उनले पहिलो खेलमा विरानगरविरुद्ध २९ बलमा चार चौका र दुई छक्कासहित ४६ रनको पारी खेले । 

दोस्रो खेलमा रोहितले झन् आक्रामक ब्याटिङ गरे । पोखराविरुद्धको उक्त म्याचमा उनले ५९ बलमा १० चौका र चार छक्कासहित सर्वाधिक ९५ रन बनाए । तेस्रो खेलमा ब्याटिङभन्दा रोहितले बलिङ राम्रो गरे ।



सुदूरपश्चिमविरुद्धको यस खेलमा उनले ४ ओभरमा २२ रन दिएर महत्वपूर्ण एक विकेट लिए । तेस्रो खेलमा ब्याटिङमा भने रोहितले ६ बलमा एक चौकासहित ५ रन मात्र जोड्न सके ।



योसँगै उनी एनपिएलको कुल १३ खेल सकिँदा सर्वाधिक रन बनाउने सूचीको ‘नम्बर वान’ मा उक्लिएका छन् । रोहितले अहिलेसम्म तीन खेलमा १५५.३१ को स्ट्राइक रेटमा १४६ रन बनाएका छन् । 

सर्वाधिक रनकर्ताको सूचीमा दोस्रो स्थानमा जनकपुर बोल्ट्समा आबद्ध श्रीलंकनमूलका अमेरिकन क्रिकेटर लाहिरु मिलान्था रहेका छन् । उनले तीन खेलमा १४६.९३ को स्ट्राइक रेटमा १४४ रन बनाएका छन् ।

जनकपुरले लगातार तीन खेलमा जित निकाल्नुमा मिलान्थाको पनि महत्वपूर्ण भूमिका छ । यो सूचीको तेस्रो नम्बरमा सुदूरपश्चिम रोयल्सका कप्तान तथा स्टार अलराउन्डर दीपेन्द्र सिंह ऐरी रहेका छन् ।

उनले तीन म्याच खेल्दा २०४.४१ को सानदार स्ट्राइक रेटमा १ सय ३९ रन बनाएका छन् । टिमले ह्याट्रिक जित निकाल्नुमा दीपेन्द्रको भूमिका पनि प्रमुख छ । उनले पहिलो खेलमा २४ बलमा पाँच छक्का र तीन चौकासहित अविजित ५७ रनको पारी खेले ।

टिमको जितमा ‘नायक’ साबित भएका उनी ‘प्लेयर अफ द म्याच’ घोषित भए । दोस्रो खेलमा पनि दीपेन्द्रले लय कायमै राखे । काठमाडौं गुर्खाजविरुद्धको उक्त खेलमा उनले २५ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ४३ रन बनाए । तेस्रो खेलमा लुम्बिनीविरुद्ध पनि दीपेन्द्रको ब्याट चल्यो ।

यस खेलमा उनले १९ बलमा चार चौका र दुई छक्कासहित नटआउट ३९ रनको इनिङ खेले । यसरी हेर्दा दीपेन्द्र तीन म्याच खेल्दा एक खेलमा मात्र आउट भएका छन् ।

यस्तै, जारी एनपिएलमा सर्वाधिक रन बनाउने मामलामा चौथो नम्बरमा कर्णाली याक्समा आबद्ध भारतीय स्टार शिखर धवन रहेका छन् । उनले ४ खेलमा एक अर्धशतकको मद्दतमा १२२.५२ को सामान्य स्ट्राइक रेटमा १ सय ३६ रन बनाएका छन् ।

यस्तै, यो सूचीको पाँचौं नम्बरमा पोखरामा आबद्ध दक्षिण अफ्रिकीमूलका अमेरिकन ब्याटर आन्द्रेस गौस रहेका छन् । उनले दुई म्याच खेल्दा १७४.६४ को स्ट्राइक रेटमा १२४ रन बनाएका छन्, त्यसक्रममा गौसले एक शतकीय पारी खेलेका छन् । 

सर्वाधिक रनकर्ताको सूची : 

  • प्रकाशित मिति : मंसिर २२, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया