भारतविरुद्धको टेस्ट सिरिजको दोस्रो खेलमा घरेलु टिम अस्ट्रेलिया १० विकेटले विजयी भएको छ । आज बिहान सम्पन्न खेलमा भारतले दिएको १९ रनको लक्ष्य अस्ट्रेलियाले कुनै पनि विकेट नगुमाइ पूरा गर्यो ।
उसका लागि अविजित रहेका नाथन म्याकस्विनीले १० तथा उस्मान ख्वाजाले ९ रन जोडे । पहिलो इनिङमा अस्ट्रेलियाले ३ सय ३७ रन बनाएको थियो । उसका लागि ट्रभिस हेडले १४१ बलमा १७ चौका र ४ छक्कासहित सर्वाधिक १४० रन बनाए ।
यस्तै, मार्नस लाबुसेनले ६४ र नाथन म्याकस्विनीले ३९ रन जोडे । भारतका लागि बलिङमा जसप्रित बुमराह र मोहम्मद सिराजले चार/चार तथा नितिशकुमार रेड्डी र रविचन्द्रन आश्विनले एक/एक विकेट लिए ।
पहिलो इनिङमा पाहुना टिम भारत १ सय ८० रनमै अलआउट भएको थियो । एडिलेड ओभलमा टस जितेर ब्याटिङ रोजेको भारतीय टिम ४४.१ ओभर मात्र मैदानमा टिक्न सक्यो ।
उसका लागि नितिशकुमार रेड्डीले ४२, केएल राहुलले ३७, शुभमन गिलले ३१, रविचन्द्रन आश्विनले २२ र ऋषभ पन्तले २१ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
भारतलाई सस्तैमा समेट्नेक्रममा अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले घातक बलिङ गरे । उनले १४.१ ओभरमा २ मेडनसहित ४८ रन दिएर सर्वाधिक ६ विकेट लिए ।
यस्तै, कप्तान प्याट कमिन्स र स्कट बोल्याण्डले दुई/दुई विकेट हात पारे । दोस्रो इनिङमा भारत १७५ रनमै अलआउट भयो । उसका लागि नितिशकुमार रेड्डीले ४२, ऋषभ पन्त र शुभमन गिलले २८/२८, यशस्वी जैसवालले २४ र विराट कोहलीले ११ रन जोडे ।
अस्ट्रेलियाका लागि कप्तान प्याट कमिन्सले पाँच, स्कट बोल्याण्डले तीन तथा मिचेल स्टार्कले दुई विकेट लिए ।
अस्ट्रेलियाको यो जितसँगै पाँच खेलको टेस्ट सिरिज १–१ को स्थितिमा आएको छ । पहिलो टेस्ट भारतले २ सय ९५ रनले जितेको थियो । अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट १४ डिसेम्बरदेखि सुरु हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।