नेपाल प्रिमियर लिग (एनपिएल) मा सर्वाधिक चर्चामा रहेका खेलाडी हुन्, भारतीय स्टार शिखर धवन ‘गब्बर’ । उनी नेपाल आउने भएपछि एनपिएलको चर्चा थप चुलियो ।
अन्ततः गब्बरलाई पहिलोपटक कीर्तिपुरस्थित त्रिवि मैदानमा देख्न पाइयो । कर्णाली याक्समा अनुबन्धित उनको खेल हेर्न हजारौं समर्थक टियू मैदान पुगे । र, शिखरले पनि समर्थकसँग आफ्नो प्रदर्शनबाट सन्तुष्ट पार्ने पूरा कोसिस गरे ।
अपेक्षाकृत प्रदर्शन गर्न नसके पनि उनले एनपिएलको चर्चालाई बढाउन महत्वपूर्ण भूमिका खेले । शिखरले एनपिएलको पहिलो सिजनमा चारवटा म्याच खेले, जसमा उनले १२२.५२ को सामान्य स्ट्राइक रेटमा १ सय ३६ रन बनाए । त्यसक्रममा शिखरले एक खेलमा अर्धशतकीय पारी खेले ।
एनपिएलमा धवनले जनकपुर बोल्ट्सविरुद्धको खेलमा डेब्यू गरेका थिए, उक्त खेलमा उनले १४ बलमा तीन चौकाको सहयोगमा १४ रन मात्र जोड्न सके । उनी क्यानेडियन अलराउण्डर हर्ष ठाकरको बलमा बोल्ड भए । धवनले समर्थकको मन जित्न नसकेको उक्त खेलमा कर्णाली ८ विकेटले पराजित भयो ।
दोस्रो खेलमा भने उनले उत्कृष्ट पुनरागमन गरे । काठमाडौं गुर्खाजविरुद्धको उक्त खेलमा उनले ५१ बलमा पाँच छक्का र चार चौकासहित अविजित ७२ रन बनाए ।
यद्यपि धवनको प्रदर्शन कर्णालीको जितका लागि पर्याप्त भएन । त्यस खेलमा कर्णाली तीन विकेटले पराजित भयो । तेस्रो खेलमा पनि धवनको ब्याट चल्यो । चितवन राइनोजविरुद्धको सो खेलमा उनले ४१ बलमा चार चौका र एक छक्कासहित ४५ रनको पारी खेले ।
चितवनविरुद्धको उक्त खेलमा कर्णालीले ६ विकेटको जित निकाल्नमा धवनको इनिङ महत्वपूर्ण साबित भयो । उनी सो खेलमा नामिबियाका अलराउण्डर जोन निकोल लोफ्टी इटोनको बलमा आउट भए ।
तेस्रो खेलमा भने धवन सस्तैमा पवेलियन फर्किए । शनिबार भएको विराटनगर किंग्सविरुद्धको खेलमा उनले ५ बलमा एक चौकासहित ५ रन मात्र जोड्न सके । उक्त खेलमा गब्बर नेपाली युवा तीव्र गतिका बलर प्रतिश जिशीको बलमा बोल्ड भए ।
उनी नेपाली बलरविरुद्ध आउट भएको यो पहिलो खेल हो । धवन प्रतिखेल ३० हजार अमेरिकी डलर पारिश्रमिक पाउने सर्तमा ४ खेलका लागि एनपिएलमा जोडिएका थिए । जसअनुसार धवनले चार म्याच खेलेबाफत १ करोड ६२ लाख रुपैयाँ पारिश्रमिक पाउने छन् ।
नाम र दामअनुसार प्रदर्शन गर्न नसके पनि धवनले एनपिएलमा खेलाडीलाई भने आफ्नो अनुभव बाँडे । साथै, उनले नेपाली खेलाडी प्रतिभावान् रहेको भन्दै प्रशंसाका साथै क्रिकेट टिप्स पनि दिए ।
भारत फर्किँदै गर्दा शिखरले घुँडाले साथ दिएमा आउँदो सिजनको एनपिएल खेल्ने चाहना पनि व्यक्त गरेका छन् । घुँडाको समस्या र बढ्दो उमेरका कारण शिखरले गत अगस्तमा ३८ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।