नेपाली स्टार लेगस्पिनर सन्दीप लामिछानेको विगत प्रदर्शन हेर्दा गर्विलो छ । जहाँ–जहाँ व्यावसायिक क्रिकेट खेले उनले गतिलो छाप छाडे । त्यो विश्वको प्रतिष्ठित लिग आइपिएल होस् वा अस्ट्रेलियाको बिबिएल ।
नेपाली क्रिकेटका ‘ग्लोबल स्टार’ सन्दीपले ती लोकप्रिय लिगमा चर्चित क्रिकेटरलाई आफ्नो गुगलीमा फसाए । तर, उनी आफ्नै मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा भने विकेटका लागि संघर्ष गरिरहेका छन् ।
टप–४० भित्र पनि छैनन् सन्दीप !
लिगको आधा सिजन सकिँदा दर्शकले सन्दीपको सानदार प्रदर्शन देख्न पाएका छैनन् । विराटनगर किंग्सका कप्तानसमेत रहेका उनले चार म्याच खेल्दा केवल एक विकेट मात्र लिएका छन् ।
आफ्नो प्रदर्शनबाट सन्दीप आफैं चकित छन् । किनकी उनी विगतमा टियू मैदानमा हुने प्रायः प्रतियोगितामा दमदार प्रदर्शन गर्दै आएका थिए, जहाँ सन्दीप धेरैपटक सर्वाधिक विकेट लिने मामलामा शीर्ष स्थानमा रहेर ‘प्लेयर अफ द सिरिज’ समेत चुनिए ।
एनपिएलमा भने उनी सर्वाधिक विकेटकर्ताको सूचीमा शीर्ष ४० भित्र पनि छैनन् । सन्दीपले एनपिएलमा जनकपुर बोल्ट्सविरुद्ध डेब्यू म्याच खेलेका थिए, जहाँ उनले ४ ओभरमा बिनाविकेट ३० रन दिए ।
उनको कमजोर बलिङका कारण पनि उक्त खेलमा विराटनगरले ८ विकेटको लज्जास्पद हार बेहोर्यो । दोस्रो खेलमा पनि विराटनगरको प्रदर्शन निकै फितलो रह्यो । सुदूरपश्चिम रोयल्सविरुद्धको उक्त खेलमा विराटनगरले ९० रनको हार बेहोर्यो ।
त्यस खेलमा पनि टिम कप्तान सन्दीपको प्रदर्शन सन्तोषजनक रहेन । उनले सुदूरपश्चिमविरुद्ध ४ ओभरमा बिनाविकेट ३१ रन दिए । सन्दीपलाई विकेटको खाता खोल्न तेस्रो खेल कुनुपर्यो ।
उनले लुम्बिनी लायन्सविरुद्ध ४ ओभरमा २६ रन दिएर एनपिएलमा पहिलो विकेट लिए । सन्दीपले क्यानडाका साद बिन जाफरलाई पवेलियन फर्काउँदै विकेटको खाता खोलेका हुन् ।
उक्त खेलमा लुम्बिनीलाई २ विकेटले हराउँदै विराटनगरले जितको खाता पनि खोल्यो । तर, सन्दीप चौथो खेलमा महँगो साबित भए । कर्णाली याक्सविरुद्धको सो खेलमा उनले ४ ओभरमा बिनाविकेट ३६ रन दिए ।
‘लो स्कोरिङ’ उक्त खेलमा विराटनगर ७ रनले स्तब्ध भयो । चार खेलपछिको प्रदर्शन नियाल्दा सन्दीपले ४ खेलमा ७.६८ को इकोनमीमा ९६ रन खर्चिँदा एक विकेट मात्र हात पारेका छन् ।
लयमा किन देखिएनन् सन्दीप ?
एनपिएलको पहिलो संस्करणमा सन्दीप लयमा नदेखिएपछि उनको प्रदर्शनप्रति विभिन्न कोणबाट चर्चा हुन थालेका छन् । धेरै समर्थकले लामो समयको विश्रामपछि मैदान फर्किएका कारण उनी लयमा आउन समय लागे प्रतिक्रिया दिइरहेका छन् ।
सन्दीप ६ महिनाको ग्यापपछि गत असारमा मैदान फर्किएका थिए । गत वर्षको पुसमा बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेपछि उनी क्रिकेटबाट टाढिए । तर, गत जेठ पहिलो साता उच्च अदालत पाटनले जिल्ला अदालतको फैसला उल्ट्याउँदै सन्दीपलाई सफाइ दियो ।
उच्च अदालतको सो फैसलापछि उनलाई पुनः क्रिकेटमा फर्किने बाटो खुला भयो । र, उनले वेस्ट इण्डिजमा भएको टी–२० विश्वकपमार्फत क्रिकेटमा पुनरागमन गरे । दक्षिण अफ्रिकाविरुद्ध विकेट लिन नसकेका सन्दीपले दोस्रो खेलमा दुई विकेट लिँदै राम्रो कमब्याक गरेका थिए ।
त्यो दुई विकेटसँगै उनी टी–२० आईमा १ सय विकेट पूरा गर्ने पहिलो नेपाली बलर बने । त्यसपछि सन्दीपले ग्लोबल टी–२० लिगका साथै क्यानडा र अमेरिकामा श्रृंखला खेले । जहाँ उनको प्रदर्शन ठीकठाक रह्यो ।
यद्यपि सन्दीप विगतमा जस्तो लयमा भने देखिएनन् । र, अहिले पनि गत वर्षको ६ महिनाकै विश्रामको ‘साइड इफेक्ट’ का कारण उनको प्रदर्शनमा सुधार हुन नसकेको समर्थकको बुझाइ छ ।
साथै, सन्दीपविरुद्ध मैदान उत्रँदा विपक्षी बलर र टिमले पनि राम्रो योजना बनाउने गरेका छन् । सोही कारण पनि उनी पछिल्लो समय विकेट लिन संघर्ष गरिरहेको देखिन्छ ।
यस्तै, जारी एनपिएलमा सन्दीप कप्तानको भूमिकामा पनि छन् । सो जिम्मेवारीको दबाबले पनि उनको प्रदर्शनमा प्रभाव पारेको हुन सक्छ । सन्दीप लयमा नदेखिँदा पनि विराटनगर अहिले संकटमा छ । ऊ चार म्याचबाट २ अंकसहित तालिकाको सातौं स्थानमा छ ।
पछिल्लो खेलको हारले विराटनगरको प्लेअफ यात्रा निकै कठिन बनेको छ । उसले अब प्लेअफमा स्थान बनाउन तीनवटै खेल जित्नुका साथै अरू टिमको नतिजामा पनि भर पर्नुपर्ने समीकरण बनेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।