नेपाल प्रिमियर लिग (एनपिएल) मा खराब प्रदर्शन गर्नेमा टिममा पर्छ, लुम्बिनी लायन्स । पाँच म्याच खेल्दा ऊ लगालग चार खेलमा पराजित भयो । लुम्बिनीले मंगलबार भने चितवन राइनोजलाई ३३ रनले हराउँदै जितको खाता खोल्यो ।
यो जितपछि प्लेअफ पुग्ने लुम्बिनीको गणितीय सम्भावना कायमै छ । टिमले जितभन्दा बढी हार बेहोरे पनि कप्तान रोहितकुमार पौडेलले भने सानदार प्रदर्शन गरिरहेका छन् ।
जारी एनपिएलमा उनी लुम्बिनीका लागि ‘वान म्यान आर्मी’ को रूपमा देखिएका छन् ।
रोहितले एनपिएलमा विराटनगर किंग्सविरुद्ध खेल्दै डेब्यू गरेका थिए । सो खेलमा उनले २९ बलमा चार चौका र दुई छक्कासहित सर्वाधिक ४६ रन जोडे । यद्यपि त्यस खेलमा लुम्बिनीले १ सय ९२ रनको लक्ष्य दिँदा पनि २ विकेटको पराजय बेहोर्यो । दोस्रो खेलमा रोहितले झन् सानदार इनिङ खेले । पोखराविरुद्धको उक्त खेलमा उनले ५९ बलमा १० चौका र चार छक्कासहित ९५ रनको इनिङ खेलेका हुन् ।
दुर्भाग्य रोहितको सानदार ब्याटिङका बाबजुद पोखराविरुद्ध लुम्बिनीले १० विकेटको लज्जास्पद हार बेहोर्यो । सुदूरपश्चिम रोयल्सविरुद्ध तेस्रो खेलमा भने रोहित ५ रनमै पवेलियन फर्किए । उक्त खेलमा उनले ४ ओभरमा २२ रन दिएर महत्वपूर्ण एक विकेट लिँदै टिमलाई जित दिलाउने प्रयास गरे ।
यद्यपि त्यस खेलमा लुम्बिनी ४५ रनले पराजित भयो । चौथो खेलमा पनि रोहितले अलराउन्ड प्रदर्शन गरे । जनकपुर बोल्ट्सविरुद्धको उक्त खेलमा उनले ३८ बलमा तीन चौकासहित ३५ रन जोड्दा बलिङमा ४ ओभरमा २२ रन दिएर महत्वपूर्ण दुई विकेट लिए । लगभग जितिसकेको उक्त खेलमा लुम्बिनी एक रनले स्तब्ध भयो ।
टिमले लगातार चार खेलमा हार बेहोरे पनि रोहित भने हारेनन् । उनले आफ्नो लय पाँचौं खेलमा पनि जारी राखे । यसपटक रोहितले ब्याटिङ मात्र होइन बलिङमा पनि सुधार गरे । चितवनविरुद्धको खेलमा रोहितले ब्याटिङमा ५७ बलमा ६ चौका र पाँच छक्कासहित ८० रनको उत्कृष्ट पारी खेल्दा बलिङमा ४ विकेट लिए ।
उनी लुम्बिनीले एक रन जोड्दा दुई विकेट गुमाएको अवस्थामा क्रिजमा आएका थिए । बिहानको मौसममा टियूको मैदान बलर अनुकूल मानिन्छ । मंगलबार पनि सुरुवातमा त्यही दृश्य देखिँदै थियो । तर, सुझबुझ तरिकाले ब्याटिङ गर्दै रोहित क्रिजमा जमे । र, उनलाई आउट गर्न विपक्षी बलरलाई अनेक योजना बनाउनुपर्यो ।
एक समय रोहितले ३५ खेल्दा २९ रन मात्र जोडेका थिए । तर, त्यसपछि खेलेका २२ बलमा उनले चार छक्का र पाँच चौकाको मद्दतमा ५१ रन जोडे । रोहितकै ब्याटिङका कारण पनि लुम्बिनी १ सय ६७ को स्कोरमा पुग्यो ।
लुम्बिनीले लक्ष्य बलियो दिएको थिएन । तर, रोहितको घातक बलिङका कारण १६८ रनको लक्ष्य चितवनका लागि सगरमाथाभन्दा अग्लो लाग्यो । र, उसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र जोड्न सक्यो । चितवनको इनिङ ध्वस्त पार्ने श्रेय रोहितलाई नै जान्छ ।
उनले ४ ओभरमा १७ रन दिएर महत्वपूर्ण ४ विकेट लिए । योसँगै रोहित एनपिएलमा एक खेलमा ८० रन बनाउने र चार विकेट लिने पहिलो खेलाडी बने । टिमको जितमा ‘हिरो’ साबित भएका उनी ‘प्लेयर अफ द म्याच’ चुनिए ।
उच्च लयमा रहेका रोहित लिगको १७ खेल सकिँदा सर्वाधिक रन बनाउने मामलामा ‘नम्बर वान’ मा छन् । रोहितले अहिलेसम्म ५ म्याच खेल्दा १३८.०९ को स्ट्राइक रेटमा २ सय ६१ रन बनाएका छन् ।
बलिङतर्फ उनले चार इनिङमा ७ विकेट लिएका छन् । सानदार अलराउन्ड प्रदर्शन गरिरहेका रोहितले लिगकै ‘सर्वोत्कृष्ट’ खेलाडीको अवार्ड जित्ने सम्भावना छ । यो अवार्ड जित्न सके उनले कार उपहार पाउने छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।