संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफ्नो समस्या सुनाउन मन्त्रालय आउने अधिकांश कर्मचारीहरूले नेता बोकेर आउने गरेको बताएका छन् ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलेसुरू गरेको ३९औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले कर्मचारीले आफूलाई परेको समस्या सुनाउन आउँदा कुनै न कुनै नेता लिएर आउने गरेको बताए ।
सरकारका मुख्यसचिव एकनारायण अर्याल समेत सहभागी सो कार्यक्रममा उनले नेता बोकेर आफूलाई भेट्न आउने कर्मचारीबाट आजित भइसकेको बताए ।
उनले भने, ‘मैले मन्त्रालय सम्हालेको पाँच महिना बितिसकेको छ । मुख्यसचिवजी साँच्चिकै मेरो कार्यकक्षमा आएर मलाई यस्तो समस्या पर्यो । यसरी हेरिदिनुहोस् भनेर कोही कर्मचारी आउनुहुन्न । जो पनि कर्मचारी आउनुहुन्छ एउटा न एउटा नेता बोकेरै आउनुहुन्छ । यो पीडाबाट म आफै ‘परिसान’ छु ।’
अब आउने ३९औँ ब्याचका कर्मचारीहरूले त्यस्तो ‘हर्कत’ नदोहोर्याउनेमा आफू विश्वस्त रहेको मन्त्री गुप्ताको भनाइ छ । उनले भने, ‘कमसेकम तपाईँहरूको यो ब्याचले यो काम (नेता बोक्ने) गर्ने छैन । तपाईँहरू गर्नुहुन्न भन्ने विश्वास छ । राम्रा मात्रै कामका लागि तपाइहरूलाई धेरै–धेरै शुभकामना छ ।’
उनले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको खण्डमा सुविधाहरू आफै प्राप्त हुने भन्दै राम्रो काम गर्दा मात्रै सबैले सम्मान पाउनाका साथै देशको गरिमा समेत जोगिने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।