प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय सञ्चालन गर्न आफूले हस्तक्षेप नगरेको बताएका छन् । त्रिविको नीति अधिवेशनलाई बिहीबार सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालय उपकुलपतिले नै सञ्चालन गर्ने बताए ।
विश्वविद्यालयमा मेरिटोक्रेसी लागू गर्नुपर्ने कुलपति ओलीको भनाइ छ । ‘शिक्षा क्षेत्र नियम, कानुन र प्रक्रियाभित्र चल्नुपर्छ । त्रिविको सर्वोच्च संस्था भनेको सिनेट नै हो । नीति, कार्यक्रम, बजेट यसैले पास गर्दछ । स्वायत्त संस्थाले मेरिटोक्रेसी ल्याउँदा साँच्चैको मेरिटोक्रेसी हुनुपर्यो,’ कुलपति ओलीले भने ।
कुलपतिले हस्तक्षेप गरेको चर्चा हुने गरेको प्रसंग उप्काउँदै उनले विश्वविद्यालयलाई हस्तक्षेप नगरेको बताए ।
‘म सधैं देखिरहेको छु, कुलपतिले हस्तक्षेप गर्यो । मेरोविरुद्ध त यसै पनि कहीँ पहिरो गयो भने प्रधानमन्त्री नै यस्तो छ पहिरो किन जाँदैन । वर्षा बाढी गयो भने प्रधानमन्त्री नै यस्तो छ बाढी किन जाँदैन । कहीँ मान्छे हर्टअट्याक भयो भने प्रधानमन्त्री नै यस्तो छ, हर्टअट्याक किन हुँदैन । जेसुकै भए पनि प्रधानमन्त्रीलाई एउटा गाली नगरिकन त चित्त नबुझ्ने तत्वहरू छन्,’ ओलीले भने, ‘मेरो कुनै हस्तक्षेप होइन । हामी सबैले साना कुरामा नअल्झिएर विश्वविद्यालयलाई मजबुत बनाउनु पर्छ ।’
उनले ७ पुसको विश्वविद्यालय सिनेटमा निमित्त डिनसहित उपस्थित हुन पनि निर्देशन दिएका छन् । विश्वविद्यालयले नीति अधिवेशनबाट ११ बुँदे प्रस्ताव पास गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।