Sun, 21 Jul, 2019


[आहुतिकाे विचार] जातीय व्यवस्था : सामाजिक सभ्याताको बाधक
आहुति
फरकधार / बैशाख २८, २०७६

विभिन्न देशमा भएका वर्ण व्यवस्थामा नगईकन म दक्षिण एसियाको मात्र कुरा गर्छु । वर्ण व्यवस्थाभित्र लुकेको षड्यन्त्रलाई छाडेर सकारात्मक, यसका सकारात्मक पक्षलाई मात्र हेर्दा पनि वर्ण व्यवस्थाको मूल अवधारण के छ भने मान्छे जन्मिँदा फरक–फरक क्षमता र विशेषताका जन्मिन्छन् । त्यसकारण तिनीहरूको समूहबद्धता फरक–फरक हुनुपर्छ भन्ने देखिन्छ । कोही बौद्धिक काम गर्ने, कोही कृषि काम गर्ने भएर जन्मिन्छन् । 



समग्रमा भन्नुपर्दा फरक–फरक क्षमताका जन्मिन्छन् । ती फरक–फरक क्षमता भएकाहरूको समूह हुन्छ, त्यसैलाई नै वर्ण भन्नेबाट सुरु हुन्छ । म यहाँ वर्ण व्यवस्थाको अत्यन्तै सकारात्मक पक्षलाई मात्र राखेर आफ्ना धारणा प्रस्तुत गरिरहेको छु । त्यसअन्तर्णत जुन व्यवस्था बन्छ, त्यो श्रम समूह हो । 

यो व्यवस्था कहिले, कहाँ, किन आदि इत्यादि कुराहरू बुझ्न इतिहाससम्म पुग्नुपर्ने हुन्छ । त्यो यहाँ यति छोटो समयमा चर्चा गर्न सम्भव छैन् । त्यसका लागि प्रशस्तै पुस्तक छन्, जुन पढेर बुझ्न सकिन्छ । बुद्धिका काम गर्ने, ज्ञानका काम गर्ने, ज्ञान आर्जन गर्ने, ज्ञान बढाउने र ईश्वरसँग कन्ट्याक्ट गराउने काम एउटा समूहको भयो, ती ब्राह्मण भए । यस्तै, कामका आधारमा अर्काे क्षेत्री, वैश्य, शूद्र भए । सुरुमा वर्णको अवधारणा त्यसरी आए पनि पछि विकसित हुँदै जाँदा पेसागत समूहहरू उँभो पर्न जातका रूपमा प्रकट भए । 

यो जात अथवा श्रम समूह, पेसा समूहमा विभक्त हुनु पनि ठूलो कुरा होइन । संसारभरि जनसंख्या बढेपछि पेसा आफसेआफ बढ्छ नै । समूहहरू बढ्छन् । तर, मुख्य कुराचाहिँ के हो भने पछि त्यसलाई अनुल्लंघनीय पेसा बन्यो, बनाइयो ।

हामीले विचार गर्यौँ भने हामी बुझ्न सक्छौँ, जुन वर्ण समूहमा धेरै पेसा छन्, त्यहाँ जात धेरै हुन्छ । उदाहरणका लागि ब्राह्मणलाई लिऊँ, ब्राह्मणहरूका जात धेरै छैनन्, त्यसकारण उनीहरूका पेसा पनि धेरै छैनन् । उनीहरूका धेरै जात छैनन् भनेको होइन, छन्, तर कम छन् । त्यस्तै, सबैभन्दा धेरै जात वैश्य र शूद्रमा छन्, किनकि उनीहरूको काम पनि धेरै छन् । उनीहरूको श्रम क्षेत्र बढ्दै जाँदा, श्रम समूह बढ्दै जाँदा उनीहरूका जात समूह पनि बढ्दै गएका हुन् । 

त्यसकारण यो जात अथवा श्रम समूह, पेसा समूहमा विभक्त हुनु पनि ठूलो कुरा होइन । संसारभरि जनसंख्या बढेपछि पेसा आफसेआफ बढ्छ नै । समूहहरू बढ्छन् । तर, मुख्य कुराचाहिँ के हो भने पछि त्यसलाई अनुल्लंघनीय पेसा बन्यो, बनाइयो । बाजे, बराजु, बा–आमाले जे पेसा गरेका छन् त्यही गर्नुपर्ने, त्यसैमा अडिइरहनुपर्ने, उल्लंघन गर्न नपाइने, वंशाणुगत रूपमै अनुल्लंघनीय बनाइनुचाहिँ अनौठो कुरा हो । संसारमै कहीँ नभएको श्रम विभाजन यहाँ दखिन्छ । सबैभन्दा घातक कुरा यही भयो र छ । अहिले कसैले उल्लंघन गर्न चाहँदा त यति गाह्रो छ, त्यसवेला कति गाह्रो थियो होला, हामी आफैँ कल्पना गर्न सक्छाैँ । 

अहिले हामीले संघीय गणतन्त्रीय लोकतन्त्रात्मक व्यवस्था भनेजस्तै त्यतिवेला समग्र जात व्यवस्था भनेको  राजनीतिक, आर्थिक, सामाजिक व्यवस्था हो । जसलाई व्यवस्था, सिस्टम भनिन्छ, त्यस्तै जातीय व्यवस्था पनि त्यतिवेलादेखि व्यवस्था बन्दै आयो ।

यसै कारणले श्रम समूहहरू वर्ण समूह बन्नका निम्ति अनिवार्य पृष्ठभूमि बन्यो । यदि श्रम समूह वा पेसाहरू  फेरबदल गर्न पाउने भए, त्यसले वर्ग निर्माणतिर लैजाँदैनथ्यो । उदाहरणका लागि एउटा सफाइ गर्नेको छोराले अर्काे पेसामा गएर लुगा सिउन थाल्थ्यो वा शिक्षक बन्थ्यो वा पण्डित्याइँ गर्न पाउँथ्यो र गर्थ्यो भने वर्ण व्यवस्था जात व्यवस्थामा परिणत हुँदैनथ्यो । भन्नुको अर्थ वर्ण निर्माणको प्रक्रिया अर्कै हुन्थ्यो । जस्तो युरोपतिर भयो । तर, यहाँचाहिँ पेसा उल्लंघन गर्न नपाउने, वंशाणुगत रूपमा जे गरेका छन्, त्यही गर्नुपर्ने भएकाले सम्पत्ति कमाउने पेसा नभएका श्रम समूहहरूचाहिँ तल्लो वर्गमा पर्यो ।

त्यसैले वर्ण व्यववस्था र जात व्यवस्था दक्षिण एसियामा वर्ण निर्माणको एउटा मुख्य मेरुदण्ड बनेर आयो । जमिनको  काम जसलाई छ, त्यसले जमिन पाउने वा शासनमा जो छ, उसले जमिन पाउने ? शूद्रभित्रका जति पनि पेसागत समूहहरू थिए, उनीहरूले नगदमा काम नगर्ने बालीमा गर्ने भएपछि उसको वर्ग स्वतः नै तल रह्यो । 

किन भन्दा सामन्तवाद सिद्धान्तअन्तर्गत उत्पादनको मुख्य स्रोत जमिन हो, जमिन उसले राख्न नपाउने भएपछि ऊ यसै कमजोर भइहाल्यो । त्यसकारण जात व्यवस्था अनुल्लंघनीय श्रम विभाजन बाट सुरु भइदिएपछि त्यसले जातीय अहम् बनाउँदै जान्छ । अहिले हामीले संघीय गणतन्त्रीय लोकतन्त्रात्मक व्यवस्था भनेजस्तै त्यतिवेला समग्र जात व्यवस्था भनेको  राजनीतिक, आर्थिक, सामाजिक व्यवस्था हो । जसलाई व्यवस्था, सिस्टम भनिन्छ, त्यस्तै जातीय व्यवस्था पनि त्यतिवेलादेखि व्यवस्था बन्दै आयो । यसरी कतिवटा जरा छन् भनेर हेर्दा म पाँचवटा देख्छु । 

पहिले, यो अर्थतन्त्र हो । समाजको जात व्यवस्था भनेको अर्थतन्त्र नै हो । अहिले आएर अलि–अलि भत्किन थालेको छ । नत्र भने यो अर्थतन्त्र नै हो । कसले कति जमिन राख्न पाउने क्लियर कुरा छ नि ! कसले बिर्ता पाउने, कसले नपाउने । नेपालमा एउटा प्रश्न पनि छ, कुन दलितले बिर्ता पाउँछ । पशुपतिभक्त महर्जन बाहेक कुन दलितले नेपालमा बिर्ता पायो ? ती ज्यापूले पनि बिर्ता पाउनुको मुख्य कारण छ, त्यो यहाँ भन्न मिल्दैन । त्यसबाहेक कुन चाहिँ दलितले बिर्ता पायो ? दलितले सम्पत्ति राख्न पाउँदै पाउँदैन नि ! जात व्यवस्था भइसकेपछि कुन जातका मान्छेहरू माथि जाने भन्ने कुरा प्रस्ट नै हुन्छ ।

२०२१ मा भुमिसुधार लागू नभएको भए, यहाँ ज्यापूहरूका बाहेक कसैको पनि नयाँ घर बन्दैनथ्यो, अपवादबाहेक, उपत्यकामा । त्यो भूमिसुधारले चौखण्डी जमिन पाउने भएकाले श्रेष्ठहरूको जमिन काट्दै, लिँदै, आधा जमिन बेच्दै, आधा जमिनमा घर बनाउँदै, ज्यापूहरूको पक्की घर हुन सम्भव भएको हो । नत्र त्यो सम्भव थिएन, जमिन राख्ने अधिकार प्रधान, श्रेष्ठहरूसँग मात्रै थियो । किनकि प्रधान, श्रेष्ठहरू क्षेत्री जात, माथिल्लो जातअन्तर्गत मानिन्थे । 

अर्काे पक्ष, यो राजनीति हो । जात व्यवस्था भनेको सीधा राजनीति नै हो । जन्मिनेबित्तिकै कसलाई बाजे भन्ने । कसलाई बराजु भन्ने, बाजेको पनि बाउ भन्ने प्रस्ट हुन्छ भनेपछि यो राजनीति नै हो । राजनीतिक हैसियत त त्यतिवेलाको त्यही हो नि ! 

सात सालअघि सबै क्षेत्रीहरूले सरकार चलाए । सात सालपछि सबै ब्राह्मणले चलाए, सत्र सालपछि फेरि क्षेत्रीहरू मात्रै आए, नगेन्द्रप्रसाद रिजालबाहेक । पञ्चायतले त बाहुनबाहेक अरूलाई सरकारमा ल्याएन । 

एउटा ब्राह्मण, क्षेत्री मुखिया भयो भने मुखिया हुन्छ । एउटा दलित मुखिया भयो भने मिजार हुन्छ । राजनीतिक पद नै प्रस्ट छ नि ! मतवाली, दलितका निम्ति मिजारबाहेक मुखियाको पद छैन । सात सालदेखि अहिलेसम्म मरिचमान श्रेष्ठ, देउवा, गिरिलगायतबाहेकका को चाहिँ भयो त प्रधानमन्त्री ? चाहे कम्युनिस्ट आओस्, चाहे लोकतान्त्रिक आओस् हुने त त्यही हो । 

म त यो कुरा यतिसम्म भन्न सक्छु कि जुन जातको मान्छे पावरमा छ, उसले आफ्नो सरकार बनाउँदा पनि आफ्नै जातको खोज्छ । राजाका पालामा प्रधानमन्त्रीका हुनका लागि निवेदन त माधव नेपालले पनि गरेका थिए नि, तर ज्ञानेन्द्र आफू क्षेत्री भएकाले शेरबहादुरलाई प्रधानमन्त्री बनाए । सात सालअघि सबै क्षेत्रीहरूले सरकार चलाए । सात सालपछि सबै ब्राह्मणले चलाए, सत्र सालपछि फेरि क्षेत्रीहरू मात्रै आए, नगेन्द्रप्रसाद रिजालबाहेक । पञ्चायतले त बाहुनबाहेक अरूलाई सरकारमा ल्याएन । 

जब क्षेत्री राजाहरूका सरकार आउँछ, क्षेत्री–क्षेत्री प्रधानमन्त्री ल्याउँछन् । जब पार्टी–पार्टीहरूको सरकार आउँछ, तब ब्राह्मण प्रधानमन्त्री हुन्छन् । लोकतन्त्र आउँछ, तब बाहुन मात्र प्रधानमन्त्री हुन्छन् । भनेपछि यो राजनीति होइन भने के हो, यसबाट पैदा हुने कुरा राजनीति हो । 

तेस्रो कुरा, यो सामाजिक संगठन हो । कुन जात कसरी संगठित हुने र कसको विरुद्ध कसरी प्रस्तुत हुने भनेर यहाँ सबैलाई प्रस्ट छ । यो संगठन कस्तो संगठन हो भने वासु बरालको एउटा ‘हिन्दू समाजको सामाजिक संगठन’ किताबमा चित्रण भएजस्तै । 

अब आउँछ, मेलै सबैभन्दा जोड दिने कुरा । त्यो हो संस्कृति । जात व्यवस्था संस्कृतिको मेरुदण्ड हो । संस्कृति सबैभन्दा गहिराइमा सत्वबाट अभिव्यक्त हुन्छ । एउटा मानिसको दिमागभित्र चारवटा कुरा हुँदा रहेछन् । सामान्यतया ।

राहुल सांस्कृत्यायन ब्राह्मण कुलमा जन्मेर, हिन्दू धर्म छाडेर बौद्धिस्ट भएर फेरि बौद्धिस्ट पनि छाडेर माक्र्सवादी भएको मान्छे । तर, पनि गोरुको मासु खाएर उहाँले बान्ता गर्नुभयो । त्यसपछि उहाँले आफ्नो पुस्तकमा लेख्नुभएको थियो, ‘उसबख्त मेरे अन्दरका ब्राह्मण जाग उठा ।’

सबैभन्दा माथिल्लो तहमा भावना हुँदो रहेछ । त्यो भावनामा कस्तो भन्दा नदी बगिरहँदा पानीमाथि बगिरहने हावाजस्तो । एकदम चन्चल । त्यसबाट अलि भित्र हुन्छन् कसैका धारणा । तीचाहिँ पहिलो तहमा भएको जस्ता चञ्चल हुँदैनन् । तिनीहरूले अलि–अलि प्रतिरोध गर्छन् । त्योभन्दा अलि भित्र हुँदो रहेछ, विचार । त्यो विचारसम्म  आफुलाई थाहा हुन्छ म यति हुँ भन्ने । त्यो विचारमा भित्र बसेको हुन्छ सत्व । जुनचाहिँ मान्छे आफैँलाई थाहा हुँदैन आफू को हुँ भन्ने ।
 
यसमा एउटा उदारण जोड्न चाहन्छु । राहुल सांस्कृत्यायनले व्यक्त गर्नुभएको छ । तिब्बतमा गएका वेला उहाँलाई मासु दिइएछ । उहाँलाई असाध्यै मीठो लागेछ । उहाँजस्तो पण्डितलाई तिब्बतीहरूले पनि खुवाउन पाउँदा खुसी व्यक्त गरेछन् । राहुल सांस्कृत्ययनले मासु मीठो लागेपछि सोधेछन्, ‘के को मासु हो, मलाई त साहै मीठो लाग्यो ?’

उनले उत्तर पाएछन्, गोरुको हो भनेर । त्यति सुनेको पाँच मिनेटमै उहाँले बान्ता गर्नुभएछ । उहाँ ब्राह्मण कुलमा जन्मेर, हिन्दू धर्म छाडेर बौद्धिस्ट भएर फेरि बौद्धिस्ट पनि छाडेर माक्र्सवादी भएको मान्छे । तर, पनि गोरुको मासु खाएर उहाँले बान्ता गर्नुभयो । त्यसपछि उहाँले आफ्नो पुस्तकमा लेख्नुभएको थियो, ‘उसबख्त मेरे अन्दरका ब्राह्मण जाग उठा ।’

उहाँ स्वयंलाई पनि थाहा थिएन, उहाँभित्र ब्राह्मण कहाँ लुकेको थियो । त्यो सत्वको रूपमा थियो । त्यो सत्वको निर्माण आमाको कोखबाट जन्मिँदै भएको हुन्छ । त्यहाँबाट सुरु हुन्छ, जात व्यवस्था । 

जसरी महिलाहरूका बारेमा समाजमा गीतहरू लेखिएका छन् । एउटा केटाले केटीलाई आफ्नो प्रेम प्रस्ताव राख्दा प्रेम पत्र दिन्छ । तिम्रो लागि आकाशको तारा ल्याइदिन्छु, संसार त्यागिदिन्छु भन्छ । त्यो वास्तवमा केही हँुदैन । उसले परिआएपछि हान्ने गालामै हो । पुरुषलाई वा महिलालाई नै थाहा हुँदैन, म महिलाविरोधी भइसकेँ, म पुरुषविरोधी भइसकेँ । त्यो सबै गर्ने भनेको सत्वको काम हो । 

उदाहरणका लागि एउटा कार्यालय वा संगठनमा एउटा महिला कोषाध्यक्षहुँदासम्म पुरुषलाई केही मतलव हुँदैन, यतिसम्म कि उपाध्यक्ष हुँदासम्म पनि थाहा हँुदैन । तर, जब एउटी महिला अध्यक्ष हुन्छ, तब पुरुषलाई झड्का लाग्छ । 

हो, जात व्यवस्था त्यसरी निर्माण भएको छ । यो संस्कृतिको गहिराइमा छ । त्यसकारण यस विषयमा दुई चार पुस्तक पढेर प्रवचन गरिन्छ, चर्चा गरिन्छ, त्यो हुन्छ कि उसलाई घर पुगेर आमा देख्नेबित्तिकै डर लागिहाल्छ । हजुरबा देख्नेबित्तिकै उसलाई डर लाग्छ । केही क्षणअघि जातीय भेदविरुद्ध भाषण दिएर आएको मान्छे घरमा आफ्नो हजुरबालाई देख्दै भन्छ, ‘मेरा हजुरबाको सोच त अहिले पनि त्यस्तै छ ।’ ऊ त्यो घेरालाई चिर्न सक्दैन । 

अर्काे छ संहिता र धर्म । हुन त नेपाल–भारतका धेरै विद्वान्ले हिन्दू धर्मविरुद्ध अनेकन् कुरा लेखेका छन् । ती कुरा केही हदसम्म ठीक छन् भने केही हदसम्म गलत । कुनै–कुनै कुरा त अतिरञ्जित गरेर नै लेखेको छ । खैर, मलाई यो धर्मसँग कुनै सरोकार छैन । म त भौतिकवादी हुँ । तर, धेरै हिन्दूहरूले भन्छन्, जात व्यवस्था हिन्दू व्यवस्था होइन, हिन्दूका कुनै पनि ग्रन्थमा जातीय भेदभाव छैन । 

हिन्दूहरूका धेरै शाखा छन्, कृष्णप्रणामी, वैष्णव, शैवहरू छन् । यीबाहेक पनि धेरै छन् । ती सबैले मान्ने चार– पाँचवटा कुरा समान छन् । सबैले होम गर्छन् । सबैले गाईलाई पुज्छन् । सबैको जात हुन्छ, हिन्दू भइसकेपछि जात नहुने भन्ने हुँदैन । हुन त अहिले केही विदेशी मूलका मान्छेहरू हिन्दू धर्ममा आएका छन्, तिनीहरूले कुन जात पाएका छन्, त्यो थाहा भएन । नत्र सबैको जात हुन्छ । 

यो पृथ्वी पनि कम हुँदै छ । ७० प्रतिशत पर्यावरण त सकिसक्यौँ, हामीले । अब ३० प्रतिसत मात्र छ । यस अर्थमा पृथ्वीको आयु कम हुँदै छ । पृथ्वी नै सकिँदै छ भने जात व्यवस्था त अलिअलि कम हुँदै छ । त्यो अर्कै कुरा हो । 

सबै शाखामा भएकाहरूको जात हुन्छ, धर्म भनेको नियम संग्रह हो, आदेश हो । यत्ति गरेन भनेपछि तँलाई सजाय हुन्छ भनेपछि ऊ बाध्य भएर मान्नैपर्छ । हुन त धेरैले धार्मिक हुनु र आध्यात्मिक हुनुलाई एउटै सोच्छन् । तर, यी कुराहरू फरक छन् । धर्म भनेको नियम हो, त्यसकारण यसले सबैलाई आदेश दिन्छ, तर अध्यात्मले मान्छेलाई सही र गलत के हो भनेर बुझाइदिन्छ, आदेश दिँदैन । 

यति कुरा गरिसकेपछि के हुन्छ, जसको अर्थतन्त्र छ, राजनीति छ, सामाजिक संगठन छ, जसको संस्कृतिको मेरुदण्ड नै यही हो । र, अर्काेचाहिँ धर्म र संहितासहितको व्यवस्था छ भने के हो ? यो जात व्यवस्था भनेको समग्रमा समाजको सिंगो प्रणाली हो । जात व्यवस्था कुनै अंशको कुरा होइन । यो सिंगो प्रणाली नै हो । अहिलेसम्म त्यो छरपस्ट नै छ । त्यो कम हुँदै छ, एउटा कुरा हो, आनन्द लिनका लागि भन्न सकिन्छ ।
 
हो कम हुँदै छ । यो पृथ्वी पनि कम हुँदै छ । ७० प्रतिशत पर्यावरण त सकिसक्यौँ, हामीले । अब ३० प्रतिसत मात्र छ । यस अर्थमा पृथ्वीको आयु कम हुँदै छ । पृथ्वी नै सकिँदै छ भने जात व्यवस्था त अलिअलि कम हुँदै छ । त्यो अर्कै कुरा हो । 
 
त्यसमा यसको अन्त्य कसरी गर्ने भन्ने कुरा आउँछ भने यसमा मेरा दुई–तीनवटा अवधारणा छन् । संसारमा जात व्यवस्था हटाउन के–के भएका छन् र त्यसले हटाउन सक्यो कि सकेन भनेर चर्चा गराैँ । अहिलेसम्म सबैभन्दा सशक्त रूपमा र विशाल रूपमा आएका अम्बेडकर नै हुन् । उनले धेरै मिहिनेत पिन गरेका । उहाँको निष्कर्ष के थियो भन्दा धर्म परिवर्तन । 

आजपनि विश्व जगत्मा जसको ठूलो लगानी छ, जोसँग धेरै पैसा छ, त्यसलाई पनि जातको कुराले छाडेको छैन । उदारणका लागि, ‘एनआरएन’लाई हेरौँ, ऊ नेपालमा आएपछि सबैभन्दा पहिले मान्छेको जात सोध्छ । उसमा पनि जातको कुरा कहाँबाट आयो भन्दा ऊ कुनै सामन्तवादको विरुद्ध पुँजीपति क्रान्ति गरेर आएको थिएन । ऊ नेपालमा आफ्नो पुर्खाले पाएको बिर्ता र कमाएको सम्पत्ति बेचेर लगानी गरेर धनी भएको हो । 

तर, धर्म परिवर्तनबाट जात व्यवस्था हुँदैन रहेछ भनेर भारतबाट देखिइ नै हाल्यो । नेपालको परिपे्रक्ष्यमा हेर्दा पनि झन् प्रस्ट भयो । नेपालमा जातीय विभेदका कारण धर्म परिवर्तन गरे । हिन्दूबाट इसाई धर्ममा गएकालाई दलित इसाई भन्न थाले । त्यसकारण यसले विभेद उन्मूलन गर्न सकेन । यो ठीक भएन, जात व्यवस्था समाजको मूल प्रणाली भइसकेपछि । 

जात व्यवस्था समाजको अर्थ व्यवस्था, सामाजिक संगठन, सांस्कृतिको मेरुदण्ड, राजनीति, धर्म र संहिता हो । त्यसकारण जात व्यवस्थालाई उन्मूलन गर्नका लागि त्यस्तो आन्दोलन अथवा परिवर्तनको आवश्यकता छ, जसले यी सबैलाई चिर्न सकोस् । दार्शनिक रूपमा नै राजनीतिक, सांगठनिक र समग्रतामै आजको जुन राजनीतिक र सामाजिक संरचना छ, त्यसलाई बदल्न जरुरी छ । अरू कुनै विकल्प छैन । 

यस्तो किन भन्दा दक्षिण एसियामा पुँजीवाद आयो, नेपालमा अलि पछि पुँजीवाद आयो, तर पुँजीवादी क्रान्ति भएर आएन । हामो दुर्भाग्य ! पुँजीवादी क्रान्ति नआईकनै पुँजीवाद आएको हुनाले पुँजीपति वर्गको मुख्य हिस्सामा को आयो भन्दा हिजोका सामन्ती वर्ण नै मुख्य बन्न आइपुगे । पुँजीवाद पुँजीवादी क्रान्ति भएर आएको भए त्यसले सामन्त, जात व्यवस्थासँग लड्थ्यो ।

आजपनि विश्व जगत्मा जसको ठूलो लगानी छ, जोसँग धेरै पैसा छ, त्यसलाई पनि जातको कुराले छाडेको छैन । उदारणका लागि, ‘एनआरएन’लाई हेरौँ, ऊ नेपालमा आएपछि सबैभन्दा पहिले मान्छेको जात सोध्छ । उसमा पनि जातको कुरा कहाँबाट आयो भन्दा ऊ कुनै सामन्तवादको विरुद्ध पुँजीपति क्रान्ति गरेर आएको थिएन । ऊ नेपालमा आफ्नो पुर्खाले पाएको बिर्ता र कमाएको सम्पत्ति बेचेर लगानी गरेर धनी भएको हो । 

सामन्तवाद र जातिवाद वर्ण व्यस्थाको रक्षा गर्ने त छँदै थियो । हुँदा–हुदा पुँजीवाद पनि वर्ण व्यवस्थाको रक्षा गर्नतर्फ गयो । पुँजीवादको विकल्पविना जाति व्यवस्था उन्मूलन गर्ने कुराचाहिँ अब म सम्भव देख्दिनँ । शिक्षामा, स्वास्थ्यमा, रोजगारमा दलितहरूको पहुँच त बढाउँदै गइरहेको पनि छ, तर यो समाधान होइन । यही नै मेरो निष्कर्ष हो । समग्र रूपमा भन्नुपर्दा जात व्यवस्था रहँदा दलितहरू मुक्त हुन्छन् या हुँदैनन् त परको कुरा भयो । जात व्यवस्था हुँदासम्म समाज सभ्यातामा पनि जान सक्दैन । दलितहरूको मुक्तिको कुरा मात्रै होइन । समग्र समाज अघि बढ्न सक्दैन । जात व्यवस्था रहँदासम्म । 

(दलित रिडर र मार्टिन चौतारीले संयुक्त रूपमा आयोजना गरेको दलित बहस शृंखलाको तेस्रो भागमा आहुतिले दिएको मन्तव्यको सम्पादित अंश )


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्