एसियाका उत्कृष्ट विश्वविद्यालयको सूचीमा त्रिभुवन विश्वविद्यालय

काठमाडौं– बेलायतस्थित द टाइम्स हाइअर एजुकेसनले सार्वजनिक गरेको स्तर निर्धारण सूचीमा त्रिभुवन विश्वविद्यालय पनि परेको छ । एसियाका उत्कृष्ट विश्वविद्यालयहरुको स्तर निर्धारण सूचीमा त्रिभुवन विश्वविद्यालय तीन सयमा २५१औँ स्थानमा सूचीकृत भएको हो । 

संस्थाले स्तर निर्धारणका लागि विभिन्न आधार तय गरेको थियो । विश्वविद्यालयमा रहेका कुल शिक्षक संख्या, महिला शिक्षक संख्या, स्नातक र स्नातकोत्तर तहहरुमा अध्ययनरत विद्यार्थी संख्या, महिला विद्यार्थीहरुको संख्या, शिक्षक विद्यार्थी अनुपात, विश्वविद्यालयभित्र भएका अनुसन्धानहरु, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित लेख, रचना, जर्नलहरु, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित लेखमा गरिएका साइटेसन, विश्वविद्यालयभित्र अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्या, अनुसन्धानका लागि भएको लगानी, विद्यावारिधि प्रदान गरिएको संख्या लगायत मुख्य सूचकलाई आधार मानी सन् २०१९ का लागि उपलब्ध गराइएको तथ्यांककका आधारमा विश्वविद्यालयहरुको मूल्यांकन गरेको हो । 

त्रिभुवन विश्वविद्यालयले पहिलो पटक एसियाका विश्वविद्यालयहरुको स्तर निर्धारणका लागि गरिने सूचीकरण प्रक्रियामा भाग लिएको थियो । यसअघि स्तर निर्धारण मूल्यांकनमा त्रिवि विश्वका उत्कृष्ट हजारमध्ये ८०१औँ सूचीमा पर्न सफल भएको थियो । 

त्रिभुवन विश्वविद्यालयले आइतबार विज्ञप्ति जारी गर्दै उपलब्धिबाट थप उत्साही भएको जनाएके छ । विश्वविद्यालयलाई यो उत्कृष्टताको यात्रामा थप उचाई उपलब्ध गराउन क्रियाशील रहने उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई विश्वास छ, हामी सबैको प्रतिबद्धता र लगानशीलताबाट भविष्यमा त्रिविले विश्वमा अझ उच्च स्थान हासिल गर्नेछ ।’





  • प्रकाशित मिति : बैशाख २९, २०७६ आइतबार १३:७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया