उपन्यासकारले कविबाट धेरै कुरा सिक्न जरुरी छ

कविता संग्रह होस् या निबन्ध संग्रह नै किन नहोस्, जब पुस्तक प्रकाशन हुन्छ, भूपिन चर्चामा आइहाल्छन् । पछिल्लो समय उनी उपन्यास ‘मैदारो’ लिएर आएका छन् । र, यो पनि चर्चाको शिखरमा नै छ । कवितामा राम्रो जमिरहेका भूपिन किन उपन्यासमा लागे, उपन्यास लेख्दा के अनुभूत गरे र अहिले किन उपन्यास लेखिनु पर्यो भन्ने विषयमा केन्द्रित रहेर उनीसँग फरक धारका इन्द्र चौधरीले कुरा गरेका छन् । त्यही कुराकानीको अंशः

 

कविताले ठ्याक्क जे भन्नु पर्ने हो, त्यो तपाईंका कवितामा पाइन्थ्यो । मीठा शब्द, लाक्षणिक भाव र गहिरो अर्थ बोकेका कविता लेख्दालेख्दै भूपिन किन उपन्यासमा हाम्फाल्नु परेको हो ?

मैदारोको पठनपछि मूल रूपमा पाठकबाट दुई थरीका प्रतिक्रिया बढी आएका छन् । केही पाठकहरूले मलाई ‘तपाईँको कविता र निबन्ध भन्दा पनि उपन्यास अब्बल लाग्यो’ भने भने केही पाठकहरूले ‘तपाईँको कविता र निबन्धले दिलाएको इज्जत उपन्यासले धानेको छ’ भन्ने आशयका प्रतिक्रिया पनि लेख्नु भएको छ । 

साहित्यिक कठघरामा उभिएर उपन्यास नै लेख्नुपर्नाका कारण चाहिँ मेरो उपन्यासप्रतिको बालककाल देखिको प्रेमको प्रतिफल हो । यो पनि सत्य हो कि, मैले जुन विषयको चयन गरेँ, त्यो सर्वाधिक बलियोसँग उपन्यासमा नै लेख्नसक्छु भन्ने मलाई लागिरह्यो ।

तर, अरू विधामा लेख्न सकिँदैनथ्यो भन्ने होइन, मलाई लाग्यो, उपन्यास लेख्दा विषयवस्तुप्रति बढी न्याय होला । यो मेरो नितान्त वैयक्तिक ठम्याई थियो । अहिले सोच्छु, मेरो ठम्याई गलत थिएन । 



 

विश्व बजारमा त त्यस्तो छैन, तर पछिल्लो समय नेपालमा भने साहित्यकार हुँ भन्नका लागि उपन्यास नै लेख्नु पर्छ भन्ने जस्ता कुरा गरिन थालेका छन् नि, कवितामा जमिरहेका तपाईंहरु पनि आख्यानमा जम्प गर्दा यो झन् पुष्टि हुँदै गएको हो ?



म साहित्यकार हुँ भनेर चिनाउनकै लागि आख्यानमा लागेको होइन । लेखनमा गम्भीर हुनु नै पहिलो सर्त हो, तर यसलाई साह्रै ठूलो अपराधका रुपमा पनि लिइनु हुन्न । देश र जनताविरुद्ध गद्दारी गर्नेहरू बिकिरहेको समयमा सिर्जनात्मक श्रम गर्नेहरूले हाम्रा उत्पादन बेचिन योग्य छन् भनी सोच्नु अपराध होइन ।

विश्व बजारमा पनि आख्यानको लोकप्रियता बढ्दै गएको संकेत उहिल्यैदेखि देखिन थालेका हुन् । मेरो एक सामान्य अवलोकन छ, पुरस्कारका कारण पनि आख्यान यति धेरै लोकप्रिय हुँदै आएको छ । आख्यानका लागि दिइने पुलित्जर र बुकर प्राइजमा त उपन्यास हुने नै भए, ’नोवेल’ पुरस्कारमा पनि ‘नोभेल’को वर्चस्व छ । पत्रपत्रिकामा तिनीहरूको गजब चर्चा छ । 

नेपालकै कुरा गर्दा पनि मदन पुरस्कार र अहिलेको चर्चित पद्मश्री पुरस्कारमा पनि आख्यान नै बढि पुरस्कृत छन् । तिनीहरूको लोभलाग्दो चर्चा छ । यसको प्रभाव पाठकमा यतिसम्म छ कि पहिला खासै नबिकेका किताब पनि पुरस्कार पछि बिक्न थाल्छन् (अपवाद त छन् नै) । लेखकहरू पनि यसको प्रभावले तानिएका हुनसक्छन् । 

जहाँसम्म मैदारोको सन्दर्भ छ, यसको बिज मेरो मनमा लगभग चौबीस वर्षअघि नै अङ्कुरित भएको थियो । मैले त्यति बेला नै उपन्यासको खेस्रा तैयार गरेको थिएँ । साँचो हो कि ठ्याक्कै त्यही खेस्रा अनुसार मैले मैदारो लेखिन । पात्रहरू र उनीहरूका कथा बदलिए तर भीरको कथा बदलिएन । 

स्पष्ट छ, चौबीस वर्ष अघि अहिले जस्तो आख्यानको क्रेज पनि थिएन । त्यसकारण बजारलाई मात्र ध्यान दिएर भूपिनले मैदारो लेख्यो भन्ने कुरा असत्य हो । 

 

आख्यान एउटा ठूलो क्यानभासमा लेखिन्छ, तर यसको अर्थ के होइन भने कविता त्यहाँभन्दा फराकिलो अर्थात् बोधगम्य हुन सक्दैन । एउटा कविता लेखिसकेपछि जुन आनन्द पाइन्छ, त्यो उपन्यासको हकमा के हुँदो रहेछ ? एउटा पाना, एउटा च्याप्टर वा पूरै उपन्यास लेखिसकेपछि कविताले दिने आनन्द पाइँदो रहेछ ?

आख्यान मूलतः पात्रहरू, तिनीहरूका सुख दःुख र संघर्षका कथाहरूको दुनियाँ हो, जसबाट लेखकले एक विशेष विचारलाई अभिव्यक्त गर्ने कोसिस गर्छ । कविता मूलतः बिम्वहरूको भाषा हो, जसलाई आफ्नो गन्तव्यमा पुग्न पात्र र चरित्रभन्दा बढी बिम्व र प्रतीकहरूको आवश्यक पर्दछ । रुपक र अलङ्कारहरूको जरुरत पर्छ । 

यसको अर्थ कवितामा पात्र, चरित्र र कथाहरूको जरुरत नै पर्दैन भन्ने पनि नलागोस् । बिम्वका तहहरूको कारण कविता आख्यानभन्दा बढी खँदिलो हुन्छ । किताबको गहिराई बुझ्न कवितामा बिम्वका तहहरू उघार्नु पर्छ भने उपन्यासमा पात्रका कथाहरू । 

 

पछिल्लो एक दशकयता नेपाली बजारमा आइरहेका उपन्यासहरु खाली गफ मात्र छन्, कथ्य मात्र छन् । सरसर्ती एउटा पात्रको अनुभव वर्णन गरिएका लेखोट उपन्यास भनेर बिक्री गरिएका छन् । हिजो ध च गोतामे, लैनसिंह वाग्देलहरुले लेखेजस्तो वा ५० को दशक अघिका जस्ता उपन्यास खासै आएका छैनन् । के भूपिन आफैंलाई चाहिँ विश्वास छ कि मैदारो अहिले बजारका उपन्यासभन्दा अलग उभिन्छ ?

मैदारो लेख्दा मेरो आख्यानकार अस्तित्व अलग उभिनु पर्छ भन्ने कुरामा मेरो धेरै नै सिर्जनात्मक मेहनत खर्च भएको छ । एकै स्वादको लेखनले साहित्यलाई मार्छ । 

तपाईँले प्रश्नमा राख्नु भएका आरोपबाट पछिल्लो लेखन मुक्त नरहेको मैले पनि सुनेको छु । कहीँ कतै बोध पनि गरेको छु । तपाईँले भनेझैँ नै एउटा पात्रका अनुभवलाई वर्णन गरिएका सबै उपन्यास कमजोर हुने कुरामा त मेरो शङ्का छ, तर सबै आख्यानकारहरू यसरी नै लेखनमा लागे भने आख्यानमा आउनु पर्ने नवीनता आउन पाउँदैन । कल्पनाशिलता आख्यानको प्राण हो, त्यसको अभावमा आख्यान निसासिन थाल्छ । 

म कति अलग उभिन सकेँ, त्यो त पाठक र समयले मूल्याङ्कन गर्ला, यतिचाहीँ म निर्धक्क भन्न सक्छु, म मैदारोलाई चलिरहेको आख्यान लेखनको परम्पराबाट जोगाउन चाहन्थेँ । म कथावाचनको शैली र भाषामा केही प्रयोग गर्न चाहन्थेँ । आख्यानमा निबन्धात्मक भाषाको प्रयोग सचेतता पूर्वक गरिएको थियो । 

आख्यानमा सर्भाइभर टेक्निक, उल्टो कला, कला कथा, लोककथाहरूको प्रयोग र बाग्लुङे भाषिकाको मीठासले मैदारो अलग स्वादको छ भन्ने लाग्छ । मेरो विचारमा आख्यान प्रयोगका लागि संगीत, कला र कविता झैँ उर्वर विधा हो । परम्परा पछ्याउने काम मात्र यसले गर्नु हुन्न । पाठक बिच्किएलान् भनेर डराउनु पनि हुन्न । 

 

सहरमा अहिले धेरै उपन्यास आएका छन्, थोरै कविता । तर, अहिले आएका थोरै कविता पछिसम्म रहने र उपन्यास चाहिँ एक झोंका समयमा बिलाइ जाने जस्तो अनुभूत गर्न थालिएको छ, कमसल उपन्यासको बाढी आएर हो कि ? यही भीडमा आउन तपाईंलाई केले प्रभाव पार्यो वा प्रेरित गर्यो ?

आख्यानमा मात्रै होइन, सबै विधामा धेरै थोरै समस्याहरू त छन् नै । यस्ता समस्याहरू कवितामा पनि छन् । निबन्धमा पनि छन् । तर पनि मलाई लाग्छ, केही सीमिततासहित कविता तुलनात्मक रूपमा अरू विधा भन्दा बलियो देखिन्छ । कवितालाई बलियो पार्न कविहरू विभिन्न प्रयोग गरिरहेका छन् । विषयको खोज र क्राफ्ट दुवैमा । कविहरू (सबै हैन केही कविले) नविनता खोजिरहेका छन् । आफ्नो सिग्नेचर र अघिल्लो कविताको प्रभावबाट डिपार्चर खोजिरहेका छन् । 

सिर्जनामा हस्तक्षेपका लागि यो सार्थक र अर्थपूर्ण कुरा हो । तर कवितामा पनि समस्या हुँदै नभएका चाहीँ होइनन् । आख्यानमा भर्खरै लाग्न खोजेका र कतिपय लेखिरहेका आख्यानकारहरूले कविहरूबाट धेरै कुरा सिक्न जरुरी छ । 

 

एउटा उपन्यासमा के सबैभन्दा बढी सशक्त हुनुपर्छ, शैली, विषयवस्तु वा भाषा ?

यसको उत्तर एकदम सरल छ । उपन्यास मात्रै होइन हरेक सिर्जना सफल हुन तपाईँले उल्लेख गर्नु भएका तीनवटै कुरा सशक्त हुनुपर्छ । मेरो विचारमा विषयवस्तु आफैमा सानोठूलो हुन्न, कति नवीन, मौलिक र लेखिनै पर्ने भन्ने चाहीँ लेखकलाई लाग्न सक्छ । लेखिनै पर्ने कुरा चाहिँ लेखनको पक्षधरता वा दर्शनसँग जोडिने कुरा भयो । त्यो कुरामा लेखक चुजी हुनु अत्यन्त आवश्यक छ । चुनौतीपूर्ण अवश्य हुन्छ, तर बारम्बार लेखिएको विषयमा भन्दा केही नविन विषयमा लेख्नु उचित नै हुन्छ । फेरी विषयवस्तु नविन भएर मात्र पुग्दैन, त्यसलाई भाषा र शैलीले नै हो विशिष्ट बनाउने । कलाले नै हो उत्कृष्ट बनाउने । यसप्रति हरेक लेखक सचेत मात्रै होइन, क्रियात्मक पनि हुनुपर्छ । 

 

कविता लेख्दा र उपन्यास लेख्दा के फरक अनुभूत गर्न पाइने रहेछ ?

मानसिक श्रम त अभ्यस्तताको कुरा भयो, कविताले भन्दा आख्यानले धेरै शारीरिक श्रमको माग गर्छ । अधिक धैर्यताको चाहना राख्छ । कथाको बुनाइमा बढी अनुसासन खोज्छ । कथा यस्तो स्वीटर हो, जसको एउटै घर फुस्क्यो भने पनि पूरै उपन्यास उघ्रिने खतरा हुन्छ । कवितामा मिलाउन सकिने ठाउँहरू हुन्छन् तर उपन्यासमा हरेक घरमा विचार पुर्याउनु पर्दो रहेछ ।

  • प्रकाशित मिति : बैशाख ३०, २०७६ साेमबार १२:४४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया