नेपाली सेनाले गोरखादेखि काठमाडौंसम्म पदयात्रा गरेर ३०३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने भएको छ । ‘गोरखा-काठमाडौं एकीकरण मार्ग पदयात्रा कार्यक्रम-२०८१’ अन्तर्गत सेनाले धादिङ, नुवाकोट हुँदै पुस २७ गते हनुमान ढोका पुगेर जंगी अड्डामा कार्यक्रम सम्पन्न गर्ने छ । त्यसका लागि सेनाले आज गोरखा दरबारबाट पदयात्रा सुरु गरेको छ ।
पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका ५ (पाँच) कम्पनीहरू (श्रीनाथ, कालीवक्स, वर्दवाणी, पुरानो गोरख तथा सवुज)को झण्डा र टर्चसहित गोरखा जिल्लामा तैनाथ श्री रिपुमर्दन गणबाट ऐतिहासिक सैनिक पोसाक तथा परम्परागत बाजा गाजासहितको टोली सहभागी रहेको छ ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा पौष २७ गते जंगी अड्डास्थित सभामण्डपमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको देन सम्बन्धी प्रवचन, लघु नाटक तथा वृत्तचित्र प्रदर्शन, कविता प्रतियोगिता लगायतका कार्यक्रमहरू आयोजना हुनेछ ।
त्यस्तै, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई भव्य रूपमा मनाउन देशभर र विदेशमा तैनाथ नेपाली सेनाका विभिन्न इकाईहरूमा विविध कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।
पश्चिम पृतनापति उपरथी मधुकर सिंह कार्कीको प्रमुख आतिथ्यमा शुभारम्भ भएको उक्त पदयात्रा कार्यक्रममा गोरखा जिल्ला समन्वय समितिका प्रमुख, गोरखा नगरपालिकाका प्रमुख तथा उप-प्रमुख, स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सरकारी कार्यालय तथा सुरक्षा निकायका प्रमुख र प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मी, सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।