मुग्लिन–मलेखु सडक स्तरोन्नतीका क्रममा सवारी सञ्चालन नरोकिने भएको छ । गत हप्ता दिउँसोमा सवारी साधन रोकेर स्तरोन्नतिपछिको काम गरिएका थियो ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का ई विजय दराइका अनुसार यही ७ पुसदेखि १३ गतेसम्म सवारी रोकेर काम गरिएको भए पनि अहिले सवारी सञ्चालन गरेरै धमाधम काम गरिएको हो ।
सो समयमा दिउँसो ११ बजेदेखि २ बजेसम्म सवारी रोकेर सडकको विशालटार, खटौटीलगायतका क्षेत्रमा भित्तो काट्ने काम गरिएको थियो । उनले भने, ‘अहिले सवारी नरोकेरै हामीले काम गरिरहेका छौँ ।’
निर्माण कम्पनीले सन् २०२२ को डिसेम्बरबाट काम सुरु गरेको हो । तीन वर्षभित्रमा काम सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको थियो । अहिलेसम्म २० प्रतिशत मात्र काम भएको जनाइएको छ । भित्तो काट्ने र नदीतर्फ पर्खाल लगाउने काम भइरहेको छ । कुरीनटार क्षेत्रमा कालोपत्रेका लागि बेस र सववेसको काम भइरहेको छ ।
मुग्लिनबाट मलेखुसम्म ३९ किलोमिटर सडक यस खण्डमा विस्तारको काम भइरहेको हो । निकै साँघुरा र भित्तो काट्न एवं पर्खाल उठाउन कठिन ठाउँमा दुई लेन अर्थात् ९ मिटर फराकिलो सडक बनाइँदै छ । उकालो ठाउँमा तीन लेन अर्थात् १२ मिटरको हुने छ । झण्डै एक दशमलव ५ किलोमिटर सडक यस्तो ठाउँमा पर्दछ ।
बजार क्षेत्र कुरिनटार, चरौदी, विशालटार, चुम्लिङ्टार, मझिमटारलगायतका करिब छ किलोमिटर क्षेत्रमा चारलेन अर्थात् १८ मिटर फराकिलो सडक बनाइँदै छ । मुग्लिन, बेनिघाट र मलेखु बजारमा छ लेन अर्थात् २६ मिटर फराकिलो सडक बनाइँदै छ । एक किलोमिटरभन्दा बढी क्षेत्रमा फराकिलो सडक बनाउन लागिएको हो । पृथ्वी राजमार्गमा पर्ने नागढुङ्गा–मुग्लिन सडक खण्डलाई दुई भागमा विभाजन गरेर स्तरोन्नतिको काम गरिएको हो ।
विश्व बैंकको सहयोगमा सडक निर्माण थालिएको हो । निर्माण कम्पनीले ४ अर्ब ८० करोड रुपैयाँमा ठेक्का सम्झौता गरी काम गर्दै आएको छ । संघीय राजधानी बाहिरिने र प्रवेश गर्ने प्रमुख सडक भएकाले उच्च सवारी चाप रहेको छ । समयमा काम नहुँदा सो सडक हुँदै यात्रा गर्ने यात्रुले कठिनाइ भोग्नु परेको छ । रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।