शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माणको कुरामा सबैले प्रतिबद्धता जनाएको बताएकी छन् ।
बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफलमा उनले स्वास्थ्य विज्ञान विश्वविद्यालय आवश्यक छ भन्ने कुरा आमरूपमा उठेको र संसदमा सबैले प्रतिबद्धता पनि जनाएको भन्दै सबैले एकजुट भएर विश्वविद्यालय निर्माण गरेर जानुपर्ने बताइन् ।
उनले लामो समयदेखि बैठक र सभा हुन नसकेको सिटिइभिटीले दुवै बैठक राखेको भन्दै यसलाई नियमित गर्ने प्रयास गरेको पनि बताइन् ।
‘६९ सालदेखि काम हुन नसकेको सिटिइभिटीको परिषदको बैठक म जाँदा ११ महिनादेखि बसेको थिएन । सिटिइभिटीको सभा भनेर ८ वर्षदेखि बसेको थिएन, जसले नीति गत निर्णय गर्नुपर्ने थियो, मैले सभा र बैठक दुवै राखि सकेपछि एक ढङ्गले त्यसलाई नियमित गर्ने प्रयास गर्दैछु । लामो समयदेखि बेथितिमा रहेको ठाउँलाई बनाउन समय लाग्छ । त्यसकारण आजै यो किन भएन भनेर भनि राख्दा त्यसलाई बनाउनु गर्नुपर्ने प्रयत्न अझै बाँकी छन्,’ मन्त्री भट्टराईले भनिन्, ‘त्यसैले हामीले आज समितिले दिएको सबै निर्देशनलाई पालना गर्ने दायित्व सरकारको हो । गर्नुपर्छ तर त्यसको लागि हुने कानुनी जटिलता र प्रक्रियाहरू फुकाउनु पर्ने हुँदा त्यो फुकाउनको लागि केही समय लाग्ने हुँदा यस वर्ष तपाईंले भन्नु भएको सबै काम गर्नको लागि अर्को क्यालेन्डर पर्खिनुपर्ने कुरा अनुरोध गर्न चाहन्छु ।’
समिति सभापति अम्मरबहादुर थापाले समितिबाट निर्देशन भएर गएको विषयको प्रगतिबारे अनिवार्यरूपमा जानकारी गराउनुपर्ने बताए ।
‘जे कुराको समितिले निर्णय गरेर पठाउँछु । त्यो कुराहरूको के कस्तो प्रगति भएको छ, छैन वा गर्दै छौ भन्ने कुराको पनि जानकारी समितिमा आउनुपर्छ । यो मन्त्रीज्यूलाई एउटा मेरो आग्रह छ,’ थापाले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।