रौतहटमा पर्सा राष्ट्रिय निकुञ्जबाट आएका जङ्गली हात्तीले क्षति पुर्याउन थालेपछि स्थानीय त्रसित बनेका छन् । हात्तीले रौतहटको चन्द्रपुर, गुजरा, बृन्दावन र फतुवा विजयपुर नगरपालिकाको विभिन्न वडामा दिनहुँजसो क्षति पुर्याइरहेका छन् ।
विगत वर्षमा केही दिन आएर बसेर जाने जङ्गली हात्ती यस वर्ष भने असारदेखि नै यसै क्षेत्रमा आइरहेको स्थानीयले बताएका छन् । हात्तीले मकैबारी, केराबारी, आलुबारी, गहुँबारीका साथै घर नै भत्काउन थालेका छन् । हात्तीले बढीजसो केराबारी नष्ट गरेको पाइएको छ ।
हात्तीको बथानले रौतहटको चन्द्रपुर–३ गैँडाटार र चन्द्रपुर ३ जुडिबेलामा लगाइएको केराखेतीमा क्षति पुर्याएको छ । पटक–पटक गरेर करिब एक बिघामा लगाएको केराखेती नष्ट गरेको चन्द्रपुर–३ गैँडाटारका किसान लालबाहादुर दोङले जानकारी दिए । उनीसहित हर्क घिसिङ, चमेली मायालगायतको बिघौँबिघा जमिनमा लगाएको केराबारी हात्तीले नष्ट गरेको छ ।
चन्द्रपुर–३ गैँडाटारमा पनि हात्तीले केराबारीमा क्षति पुर्याएको छ । त्यस्तै, चन्द्रपुर नगरपालिकामा आठ र फतुवा विजयपुर नगरपालिका–११ मा चार घर भत्काएको छ । हात्तीले चन्द्रपुर–३ गैँडाटारमा सात र वडा नम्बर २ जुडिबेलामा एउटा घर भत्काएको स्थानीयले जानकारी दिएका छन् । गैँडाटारमा पनि हात्तीले घर भत्काएका छन् ।
हात्ती नियन्त्रण गर्न डिभिजन वन कार्यालयका प्रमुख हेमन्तप्रसाद साहले ‘इनालाइजर’ (वन्यजन्तुलाई हल्का झट्का दिने उपकरण) प्रयोग गर्नुपर्ने बताए । पर्सा राष्ट्रिय निकुञ्ज अमलेशगञ्जका प्रमुख रामचन्द्र खतिवडासँग परामर्श गरेर सो ‘इनालाइजर’ प्रयोग गर्नु नै हात्ती रोक्ने मुख्य उपाय भएको उनले बताए । ‘इनालाइजर’ खरिद गर्न चन्द्रपुर र फतुवा विजयपुर नगरपालिकामा सहयोगका लागि आफूले पत्राचार गरेको प्रमुख साहले बताए ।
हात्तीले क्षति पुर्याएका व्यक्तिलाई डिभिजन वन कार्यालयले क्षतिपूर्ति दिने भएको छ । हात्तीको आक्रमणबाट ज्यान गुमाएका, घाइते भएका, घर भत्काएका, बालीमा क्षति भएको यकिन गरेर क्षतिपूर्ति दिने प्रावधान रहेको प्रमुख साहले बताए । रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।