logo-img

ब्याटिङभन्दा बलिङमा जम्दै कुशल, दुई खेलमा लिए १२ विकेट [भिडियोसहित]

पछिल्लो एक वर्षको अवधिमा सर्वाधिक लय बाहिर रहेका खेलाडीको सूचीमा पर्छन्, राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेल । बलिङ सुधारे पनि उनी ब्याटिङमार्फत टिमलाई योगदान दिन चुकिरहेका हुन् ।

पछिल्लो १० अन्तर्राष्ट्रिय म्याचमा कुशलले एउटा खेलमा मात्र अर्धशतकीय पारी खेल्न सकेका छन् । उनले अन्तिमपटक गत वर्षको अक्टोबरमा अमेरिकाविरुद्धको टी–२० आई खेलमा ५४ बलमा अविजित ९० रनको पारी खेले । त्यसयता भने कुशलको ब्याट शान्त रह्यो । ओपनिङमा चल्न छाडेपछि पछिल्लो समय राष्ट्रिय टिममा उनी तल्लोक्रममा ब्याटिङ गर्छन् । 

नेपाल प्रिमियर लिग (एनपिएल) मा कुशलसामु लयमा फर्किने मौका थियो । तर, उनले लिगको ६ इनिङ्समा ५४ रन मात्र बनाए । कुशलले कप्तानी प्रदर्शन गर्न नसक्दा पनि पोखरा एभेन्जर्सले डेब्यू एनपिएलमा खराब प्रदर्शन गर्‍यो । 



तालिकाको सातौं स्थानमा पोखराले एनपिएलमा ७ मध्ये पाँचमा हार तथा दुई खेलमा मात्र जित निकाल्यो । एनपिएलपछि खेलिएको पहिलो म्याचमा पनि कुशल सस्तैमा आउट भए ।

जय ट्रफी एलिट कप दुईदिवसीय क्रिकेटअन्तर्गत त्रिभुवन आर्मी क्लबविरुद्ध उनी पहिलोमा शून्य र दोस्रो इनिङमा पाँच रनमै आउट भए । यद्यपि कुशलले दोस्रो खेलमा पनि सानदार कमब्याक गरे । उनले मधेश प्रदेशविरुद्धको खेलमा ब्याटिङमा ६८ बलमा १० चौकाको सहयोगमा ६३ रनको आक्रामक पारी खेले । 



रेड बल क्रिकेटमा यत्तिको ब्याटिङ स्तरीय मानिन्छ । यस खेलमा नेपाल पुलिस क्लबको जितमा कुशलले बलिङमार्फत पनि योगदान दिए । उनले पहिलो इनिङमा ७ ओभरमा ३६ रन दिएर दुई तथा दोस्रो पारीमा ४.२ ओभरमा २२ रन खर्चेर सर्वाधिक ५ विकेट लिए ।



यस्तै, कुशलले जारी प्रतियोगिताको पहिलो खेलको पहिलो इनिङमा ६ ओभरमा २७ रन दिएर एक तथा दोस्रो इनिङमा १६ ओभरमा ५० रन दिएर ४ विकेट लिए । यसरी उनले दुई खेलमा १२ विकेट लिए ।  

सानदार अलराउन्ड प्रदर्शन गरेका कुशल ‘प्लेयर अफ द म्याच’ घोषित भए । यो प्रदर्शनपछि धेरै समर्थकले अब उनी लयमा फर्किएको आकलन गरिरहेका छन् । र, लगातारको खराब प्रदर्शनपछि सामाजिक सञ्जालमा ट्रोल गर्नेहरूलाई पनि केही हदसम्म कुशलले आफ्नो प्रदर्शनबाट जवाफ फर्काएका छन् । 

अब समर्थकले उनीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा पनि उत्कृष्ट कमब्याकको आशा राखेका छन् । कुशल नेपालको तर्फबाट दुवै फर्म्याटमा शतक बनाउने खेलाडी हुन् ।

उनले हालसम्म ओडिआईमा ५६ इनिङ्समा आठ अर्धशतक र एक शतकको सहयोगमा १ हजार २८५ तथा ५२ टी–२० आईमा ६ अर्धशतक र एक शतकको मद्दतमा १ हजार २९८ रन बनाएका छन् ।

कुशलले बलिङमा टी–२० आईमा १३ इनिङ्समा १९ तथा ओडिआईमा १६ इनिङ्समा १६ विकेट लिएका छन् । 

  • प्रकाशित मिति : पुस २६, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया