शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयमाथि छलफल भएको छ ।
उक्त समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा आफ्नो सुझाव प्रस्तुत गर्दै निजामती कर्मचारीका विभिन्न संगठनका प्रतिनिधिले हक, हितको लागि सङ्गठित हुने अधिकार संविधानले नै दिएको भन्दै यसलाई कुण्ठित गर्ने काम नगर्न सुझाव दिएका छन् ।
यसै गरी उक्त बैठकमा संघीय संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष गोविन्द बेल्बासेले संसद्को महासचिव र सचिव संसद् सेवा भित्रैबाट हुनुपर्ने बताएका छन् । उनले संसद्को महासचिव–सचिव टपक्क टिपेर ल्याउने व्यवस्था गलत रहेको बताए ।
उनले भने, ‘संसद् सेवामा ३०/३२ वर्ष काम गर्ने तर सचिवहरू टपक्क टिपेर ल्याउँदा खेरी संसद् सचिवालयका कर्मचारीहरू सेवामा नै बस्न नचाहेको अवस्था छ । संसद्को सचिव र संसद्को महासचिव संसद् सेवाभित्रैबाट हुनुपर्छ । यो व्यवस्थाका लागि अनुरोध छ । संसद्को सचिव टपक्क टिपेर ल्याउने व्यवस्था गलत छ । महासचिव भित्रकै हुनुपर्छ ।’
हाल संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभामा एक–एक जना सचिव छन् । दुवै सचिव संसद् सेवा बाहिरबाट पनि नियुक्त हुन सक्ने प्रावधान छ । यही प्रावधानमा टेकेर संसद् सेवाभन्दा बाहिरबाट सचिव नियुक्त गर्ने अभ्यास छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।