logo-img

मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, बैंकहरूको कर्जा विस्तारमा पनि देखिएन सुधार
फाइल तस्बिर

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा मुद्रास्फीतिले वाञ्छित सीमा नाघेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत मङ्सिर मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत मङ्सिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति ४.९५ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षमा सरकारले मुद्रास्फीतिलाई पाँच दशमलव पाँच प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ ।

गैरखाद्य वस्तुभन्दा खाद्य वस्तुमा मूल्यवृद्धि उच्च देखिएको छ । गत मङ्सिरमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति नौ दशमलव ९९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ९२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः पाँच प्रतिशत र चार दशमलव ९२ प्रतिशतले वृद्धि भएको थियो ।

राष्ट्र बैंकका अनुसार खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४३ दशमलव ०५ प्रतिशत, दाल तथा गेडागुडीको १० दशमलव ६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको नौ दशमलव ७० प्रतिशत र घ्यू तथा तेलको नौ दशमलव ३९ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक दशमलव १८ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको शून्य दशमलव ८३ प्रतिशतले घटेको छ ।



गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क सात दशमलव ९८ प्रतिशत, मदिराजन्य पेयपदार्थको सात दशमलव ०१ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको छ दशमलव ७५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको पाँच दशमलव २९ प्रतिशतले वृद्धि भएको छ ।

गत मङ्सिरमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क छ दशमलव ५२ प्रतिशतले वृद्धि भएको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क पाँच दशमलव ८९ प्रतिशतले वृद्धि भएको छ । प्रदेशगत रुपमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ३६, मधेश प्रदेशको छ दशमलव ७७, बागमती प्रदेशको पाँच दशमलव ८४, गण्डकी प्रदेशको चार दशमलव ८१, लुम्बिनी प्रदेशको पाँच दशमलव ५३, कर्णाली प्रदेशको चार दशमलव १९ र सुदूरपश्चिम प्रदेशको छ दशमलव ६६ प्रतिशत रहेको छ ।



यस अवधिमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव ८२, तराईको छ दशमलव ३१, पहाडको पाँच दशमलव ६५ र हिमालको छ दशमलव ५८ प्रतिशत रहेको छ । गत मङ्सिरमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति छ दशमलव ५२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति  दुइ दशमलव ६३ प्रतिशत रहेको थियो । यो अवधिमा निर्माण सामग्रीको थोक मुद्रास्फीति चार दशमलव १४ प्रतिशतले घटेको छ ।

बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार



राष्ट्र बैंकले चालु आर्थिक वर्षको पाँच महिनामा एक सय २४ खर्ब भन्दा बढीको तरलता प्रशोचन गरेको छ । प्रतिवेदनअनुसार निक्षेप सङ्कलन बोलकबोलमार्फत ११ खर्ब ११ अर्ब ८५ करोड र स्थायी निक्षेप सुविधामार्फत एक सय १३ खर्ब ३२ अर्ब ४५ करोड रुपैयाँ गरी कूल एक सय २४ खर्ब ४४ अर्ब ३० करोड रुपैयाँ तरलता प्रशोचन गरिएको छ । यो कारोबारमा आधारित तरलता प्रशोचन हो ।

अघिल्लो वर्षको सोही अवधिमा ओभरनाइट तरलता सुविधा र स्थायी तरलता सुविधालगायत उपकरणहरूमार्फत खुद रू तीन सय ८६ अर्ब ८६ करोड तरलता प्रवाह गरिएको थियो । यस अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजारमा वाणिज्य बैंकहरूबाट अमेरिकी डलर दुई अर्ब २३ करोड खरिद गरी रू दुई खर्ब ९९ अर्ब ९५ करोड तरलता प्रवाह गरेको छ । 

त्यस्तै यो अवधिमा अमेरिकी डलर एक अर्ब ६४ करोड बिक्री गरी रू दुई खर्ब २१ अर्ब एक करोड बराबरको भारतीय रूपैयाँ खरिद भएको राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको पाँच महिनामा वाणिज्य बैंकहरूको रू छ खर्ब आठ अर्ब ५५ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) को रू ७८ अर्ब ८१ करोड गरी कूल रू छ खर्ब ८७ अर्ब ३६ करोडको अन्तर–बैंक कारोबार भएको छ ।

बैंक वित्तीय संस्थाहरूको निक्षेप परिचालन र कर्जा प्रवाह भने सुस्त देखिएको छ । पछिल्लो पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रू एक खर्ब ७२ अर्ब ३२ करोड अर्थात् दुई दशमलव सात प्रतिशतले बढेको छ ।

यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रू एक खर्ब ७८ अर्ब २९ करोड अर्थात् साढे तीन प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रू एक खर्ब १० अर्ब १ करोडले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा भने मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा सात प्रतिशतले बढेको छ । गत मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४ दशमलव एक प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५ दशमलव नौ प्रतिशत रहेको छ । गत आवको वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३ दशमलव एक प्रतिशत र ३६ दशमलव नौ ९ प्रतिशत रहेको थियो ।

यो अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह तीन दशमलव छ । विकास बैंकहरूको दुई दशमलव सात र वित्त कम्पनीहरूको कर्जा प्रवाह चार दशमलव तीन प्रतिशतले बढेको छ । गत मङ्सिर मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १३ दशमलव पाँच  प्रतिशत रहेको छ भने घर जग्गा धितो सुरक्षणमा ६६ दशमलव एक प्रतिशत रहेको छ ।

पछिल्लो पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा पाँच दशमलव चार, निर्माण क्षेत्रतर्फको कर्जा तीन दशमलव पाँच र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा तीन दशमलव आठ प्रतिशतले बढेको छ । 

त्यस्तै यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा तीन दशमलव छ । सेवा उद्योग क्षेत्रतर्फको कर्जा पाँच र उपभोग्य क्षेत्रतर्फको कर्जा तीन दशमलव छ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा भने शून्य दशमलव सात प्रतिशतले घटेको छ । 

  • प्रकाशित मिति : पुस २६, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया