प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमले उत्कृष्ट सुरुवात गरेको छ । मंगलबार धनगढीको फाप्ला क्रिक्रेट मैदानमा भएको उदघाटन खेलमा गण्डकी प्रदेशलाई ७ विकेटले हराउँदै सुदूरपश्चिमले विजयी सुरुवात गरेको हो ।
गण्डकीले दिएको ५६ रनको लक्ष्य सुदूरपश्चिमले ९.५ ओभरमा तीन विकेट गुमाएर गर्यो । उसका लागि रेवती धामीले २७ बलमा सर्वाधिक २१ रनमा बनाइन् । उनी अविजित रहिन् । बलिङमा गण्डकीका लागि आकृति तिवारी र अपेक्षा बुढाथोकीले एक/एक विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको गण्डकीले निर्धारित १५ ओभरमा ७ विकेटको क्षतिमा ५५ रन मात्र बनायो । उसका लागि रेखा तामाङले २० बलमा १३ रन, सिर्जना पौडेलले २६ बलमा १०, निरु जिटीले १३ बलमा ७ रन बनाए ।
सुदूरपश्चिमका लागि रेवती धामीले चार, जानकी थापा र रितु कनौजियाले एक/एक विकेट लिए । उत्कृष्ट अलराउन्ड प्रर्दशन गरेकी रेवती धामी ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेको प्रतियोगितामा समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली, एपिएफ, र सुदूरपश्चिम तथा समूह ‘बी’ मा कोशी, बागमती, मधेस र आर्मी रहेका छन् ।
सुपर–४ चरणमा पुग्न प्रत्येक समूहबाट शीर्ष दुई टोली भिड्नेछन् । फाइनल खेलमा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउने क्यानले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।