Mon, 20 May, 2019


कवि विप्लव प्रतीकसँग कपाल संवाद
फरकधार / बैशाख ३१, २०७६

सन् १९९० को दशकको कुरा हो । काठमाडौंमा ‘कपाल पाल्ने ट्रेन्ड’को सुरुवात भयो । हिप्पीहरु आउने क्रम निकै कम भइसकेको थियो, उनीहरुले छाडेको प्रभावमा काठमाडौं अगाडि बढिरहेको थियो । काठमाडौंका युवाहरु लामो कपाल सर्लक्क लर्काएर पछाडि चुल्ठो बाँधेर हिँड्थे । 

अर्कोतिर नेपाल प्रहरीलाई यसको विरोधमा थियो । प्रहरीले जुन चोकमा होस् या बाटोमा किन नहोस्, चुल्ठो बाँधेका युवा भेटे च्याप्प समाउँथ्यो, कपाल काटिदिन्थ्यो । 

प्रहरीको यो ‘मोरल पुलिसिङ’ले काठमाडौंका अभिभावक खुसी थिए, उनीहरु सोच्थे– कपाल पाल्ने केटा ‘आवारा’ हुन् । 

समाजले ‘आवारा’को संज्ञा त दिन्थ्यो तर कवि विप्लव प्रतीकलाई त्यति बेला प्रहरीको कदम र समाजको इमेजविरुद्ध विद्रोह गर्ने जोश पलायो । अनि उनले प्रत्येक महिना सैलुनमा गएर काँटछाँट गर्ने आफ्नो कपाल हलक्क बढ्न दिए, केही महिनापछि पछाडि चुल्ठो बाँधेर सहरमा निर्धक्क हिँड्न थाले ।

‘प्रहरीले खोजीखोजी कपाल पाल्ने केटाहरुको कपाल काटिदिन्थ्यो, मैले अरु केही गर्न सकिनँ, त्यसको विरोधमा कपाल पालिदिएँ,’ विप्लवले केही दिनअघि यो कुरा सुनाउँदा उनको अनुहारमा मुस्कान देखियो, ‘त्यसपछि मैले कहिल्यै कपाल ठुटो बनाएर काटिनँ, हल्काफुल्का मिलाएँ मात्र ।’

अनि विस्तारै विप्लवको शोख नै बन्यो, लामो कपाल । अब त कतिसम्म भइसकेको छ भने विप्लवलाई काठमाडौंमा पछाडिबाट पनि त्यही कपालका कारण चिन्नेहरु निकै बढेका छन् । ‘अब त साथीहरुकै लागि भए पनि पालिरहेको छु,’ विप्लव हाँसे ।

प्रहरी एक्सनको विरोध गर्न पालेको त्यही कपालका कारण विप्लवले साथीहरुको वाहवाही पाए, अनि त झन् ‘फुर्केर’ कपाल पाल्ने नै भए । 

यता, विप्लवलाई आमाले चाहिँ बारम्बार कपाल काट्न अनुरोध गरिन् । ‘आमाले त कपाल काटिदिए म औधी खुसी हुन्थेँ भन्नुहुन्थ्यो,’ विप्लव विगततिर फर्किए, ‘तर, मैले आमाको खुसीलाई पनि बेवास्ता गरेँ, कपाल पालिरहेँ ।’

बाटोमा विप्लव हिँड्दा बालबालिका डराउँथे, कुकुरहरु भुक्थे । अनि उनका आफन्तहरु पनि भन्थे– कपाल काटिदिए हुन्थ्यो । ‘तर, मैले संकल्प लिएको थिएँ, कपाल पाल्छु, व्यवहारमा परिवर्तन ल्याएर राम्रो हुन्छु,’ विप्लवले त्यति बेलाको आफ्नो चाहना सम्झिए, ‘मलाई अचम्म लाग्थ्यो, मानिसहरु अर्काको शरीरमाथिको अधिकारबारे किन त्यति धेरै चासो दिन्छन् ?’

तर, चासो दिने मात्र होइनन्, विप्लवसँग त एउटा घटना अहिले पनि सम्झनामा छ । उनी सधैं हिँड्ने बाटोमा एउटा कपाल काट्ने पसल थियो । यो संयोग हुनसक्थ्यो, विप्लव त्यो बाटो हिँड्दा कपाल काट्ने पसलका हजाम उनलाई हेरिरहन्थेँ । ‘ऊ मेरो कपाल काट्न पाए हुन्थ्यो जसरी लोभिएको हुन्थ्यो,’ विप्लवले सम्झिए, ‘तर, मैले वास्ता नै गरिनँ, महिनौँ उसले मेरो आश गरिरह्यो र धेरै पछि उसले मलाई हेर्न छोडिदियो ।’ कतिसम्म भएछ भने विप्लव परबाट आउँदै रहेछन् भने पनि त्यो हजाम पसलभित्र छिर्दो रहेछ !

विप्लवको पहिचान नै बनिसकेको लामो चुल्ठे कपाल अमेरिकामा पनि प्रशंसित नै भयो । उनले अमेरिकाको बसाइमा पनि कपालका कारण आफ्नो इमेज बदलिएको पाए । ‘त्यहाँ पनि नेपालमा जस्तै हो, कपाल पाल्नेहरुलाई समाजले राम्रो मान्दैन,’ उनले भने, ‘मलाई पनि राम्रो मानिएन होला तर त्यहाँ वरपरका केटाकेटीहरु मलाई रकस्टार अंकल भन्थे ।’ यस्तो किन भने त्यो समयमा रक र पप गीत गाउने अमेरिकी गायकहरु अधिकांशले कपाल पालेका थिए ।

जजसले जे जे भने पनि विप्लवलाई कपालप्रतिको मोह भने हटेन । उनले कपाल पाल्न छोडेनन् । ‘मान्छेको प्रिजेन्ससँगै आएको हो कपाल,’ विप्लवलाई लाग्छ, ‘यसले मान्छेको पहिचान वा भूमिकामा केही खेलिरहेको चाहिँ पक्कै हुन्छ ।’

त्यसैले विप्लवले कपालसँगका सबै एक्सपरिमेन्ट पनि गरे । नयाँ नयाँ डिजाइनमा कपाल काटे, विभिन्न स्टायलमा कपाल काटे । ‘लामो कपालका जेजस्ता डिजाइन हुन्थे, सबै बनाएँ,’ उनले भने, ‘सिर्फ डेड लक चाहिँ गरिनँ, त्यसले कपाल ठुटै बनाएर काट्नु पर्छ भन्ने डर भयो ।’ 

घरमा बारम्बार कपाल काट्न भनिए पनि विप्लवले बरु कपाल रंग्याइदिए । ‘सेभेन्टिजको अन्त्यतिर कपाल ब्लिच गर्नु भनेको नेपाली समाजमा भयंकरै गर्नु थियो,’ उनले भने, ‘ एकपटक मैले ब्लिच गरेँ, त्यसपछि कहिल्यै मेहन्दी पनि लगाइनँ ।’

अहिले विप्लवको कपाल सेतै फुलेको छ । तर, पनि उनलाई मेहन्दी लगाउन मन छैन । ‘मान्छेहरु अहिले हाइलाइट गर्छन्, कपाल सेतो बनाउँछन्,’ उनले भने, ‘त्यो ठिक होइन, कपाल जस्तो छ, त्यस्तै रहन दिनुपर्छ ।’

अहिले पनि नेपाली समाज कपाल पाल्ने ‘केटा’हरुलाई खासै राम्रो मान्दैन । तर, यो कुरामा विप्लवलाई कुनै चिन्ता छैन । 

‘कपाल पालेर के भयो ?’ घट्टेकुलोस्थित घरमा कुरा गर्दा उनले प्रश्न गरे, ‘कपाल छोटो हुने तर सोच पुरानो नै भयो भने के हुन्छ ?’

विप्लव आफ्नो कपाललाई चन्चलताको प्रतीक मान्छन् । जीवनमा गाम्भिर्य हुनु पर्ने भएकाले उनी कपालको त्यति धेरै वास्ता पनि गर्न भ्याउँदैनन् । यसको अर्थ के होइन भने उनी कपाललाई माया नै गर्दैनन् । 

‘कपालको माया त गर्छु,’ उनी भन्छन्, ‘कपाललाई हानी नगरोस् भनेर नै लोरियलको स्याम्पु प्रयोग गर्छु ।’

बरु उनले महिनापिच्छै कपालका लागि भनेर छुट्याएका छन्– तीन हजार । 


यो पनि नछुटाउनुहोस्