logo-img

वाइल्डलाइफ फोटोग्राफी चुङ्बा शेर्पा : इन्डोनेसिया उड्ने तयारीमा थिए, सपना अधूरै छाडेर अस्ताए

चुङ्बा शेर्पा केहीदिन अघिदेखि वन्यजन्तुको फोटो खिच्न इन्डोनेसिया जाने तयारीमा थिए। उनले १० दिनपहिले नै यात्राका लागि आवश्यक तयारी पूरा गरेका थिए । पारिवारिक स्रोतका अनुसार, उनले प्लेन टिकट पनि लिइसकेका थिए । 

यस यात्रालाई उनले फोटोग्राफी जीवनकै महत्त्वपूर्ण यात्राको रुपमा लिएका थिए । तर उनी एक साताअघि अचानक बिरामी परे । कलेजोसम्बन्धी समस्याले ग्रसित बनेपछि उनलाई काठमाडौंको ग्रान्डी अस्पतालमा भर्ना गरियो । भेन्टिलेटरमा उपचाररत शेर्पाले ६४ वर्षको उमेरमा आइतबार राति १२:१५ बजे अन्तिम सास फेरे । बाँकी सपना सधैँका लागि अधूरो छाडेर उनी स्वर्गीय भए । 

खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्लामा जम्मिएका शेर्पा ‘वाइल्डलाइफ फोटोग्राफी’को क्षेत्रमा पछिल्लो पाँच वर्षदेखि सक्रिय थिए । उनले नेपालका विभिन्न राष्ट्रिय निकुञ्ज र दुर्गम स्थानहरूमा पुगेर दुर्लभ वन्यजन्तुका तस्बिरहरू खिचेका छन् । उनले खिचेका जङ्गली याक, हिउँचितुवा र बाघका तस्बिरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चा कमाएका छन् । चुङ्बाको जीवन सङ्घर्ष र उपलब्धि जो कोहीका लागि प्रेरणादायी छ ।  

विसं २०४० मा तत्कालीन चौँरीखर्क गाउँ पञ्चायतका प्रधानपञ्चबाट उनको सार्वजनिक जीवनको सुरुआत भएको थियो । बहुदल आएपछि नेपाली कांग्रेसमा प्रवेश गरेका शेर्पा पछिल्लो समय खुम्बु पासाङल्हामु गाउँपालिका समितिका सभापति थिए । उनीले शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन् । 



लुक्ला विमानस्थलदेखि चौँरीखर्कमा माध्यमिक विद्यालय स्थापनामा उनको ठूलो योगदान रहेको खुम्बु पासाङ ल्हामु गाउँपालिका–१ का वडाध्यक्ष फुनुरु शेर्पाले बताए । उनले भने, “खुम्बुको एउटा धरोहर गुमायौँ, उहाँ असाध्यै सहयोगी र दयालु हुनुहुन्थ्यो, कुनै लोभलालच र स्वार्थ बिना अथक समाजसेवा गर्ने मान्छे हामीले सायद पाउँदैनौँ होला ।” 

सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चे सोलुखुम्बुका तत्कालीन प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले चुङ्बा शेर्पाको योगदानलाई सम्झँदै प्रतिक्रिया दिए । उनले भने, “चुङ्बा शेर्पा नेपालमा मात्रै नभई विश्वभर ख्यातिप्राप्त प्रतिभाशाली वाइल्डलाइफ फोटोग्राफर हुनुहुन्थ्यो । उहाँको फोटोग्राफीले वन्यजन्तु पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका निर्वाह गरेको छ ।” चुङ्बा शेर्पा कुनै सामान्य फोटोग्राफर नभएर प्रकृतिप्रति गहिरो माया गर्ने व्यक्ति भएको उपाध्यायको ठम्याइ छ । 

चुङ्बा शेर्पा ५७ वर्षको उमेरमा वाइल्डलाइफ फोटोग्राफीमा होमिएका थिए। लामो समयसम्म यती एयरलाइन्समा जागिर र होटल व्यवसाय सफलतापूर्वक सञ्चालन गरेका उनी छोराछोरीलाई सबल बनाइसकेपछि सानैदेखिको सपना पूरा गर्न फोटोग्राफीमा लागेका हुन् । 

उनले क्याननको उच्चस्तरीय क्यामेरा र लेन्स प्रयोग गर्न विदेशीहरूबाट अनलाइन कक्षा लिएका थिए । वन्यजन्तुका फोटो खिच्न शेर्पाले धेरै जोखिम मोलेका थिए । जङ्गली याकको फोटो खिच्ने क्रममा उनलाई याकले आक्रमण गरेको उनले आफ्नो अन्तरवार्तामा भनेका छन् । बाघको फोटो खिच्दा पनि बाघले झम्टिएपछि भागेर ज्यान जोगाएका थिए । नेपालको निकुञ्ज विभागले देशैभरका संरक्षित क्षेत्रमा फोटो खिच्न उनलाई अनुमति दिएको थियो । 



शेर्पाले सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ३३ पटक फोटो खिचेको वडाध्यक्ष फुनुरु बताउँछन् । उनले तिब्बतसँगको सिमाना लिमी भ्याली पुगेर दुर्लभ जङ्गली याकको सुन्दर तस्बिर खिचेका थिए । यसअघि नरेश कुसीको टिमले जङ्गली याकलाई क्यामेरामा कैद गर्न सफल भएको थियो । वाइल्डलाइफ फोटोग्राफरका रूपमा चुङ्बाले खिचेको तस्बिर नै हालसम्मकै सुन्दर भएको जानकारहरू बताउँछन् ।

शेर्पाले नेपालको पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुर्याएका छन् । नेपाल पक्षी संरक्षण सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पर्यटन बोर्डजस्ता थुप्रै संस्थाबाट उनले सम्मान प्राप्त गरेका छन् । 

शेर्पाका दुई छोरा र दुई छोरी छन् । जेठा छोरा छेवाङ शेर्पा चिकित्सक हुन् भने छोरी बन्दा फुटी शेर्पा जहाजकी क्याप्टेन हुन् । पत्नी आङफुटी शेर्पाको निधन १० महिनाअघि भएको थियो भने छोरी मिङ्मा शेर्पाको पाठेघरको क्यान्सरबाट डेढ वर्षअघि निधन भएको थियो । 

उनका परिवारका सदस्यहरूका अनुसार शेर्पाले फोटोग्राफीबाट कहिल्यै आर्थिक लाभको अपेक्षा गरेनन् । आफ्नो फोटोहरूले नेपालको वन्यजन्तु संरक्षण र पर्यटन प्रवर्द्धनमा योगदान दिन सकून् भन्ने उनको चाहना थियो ।  

  • प्रकाशित मिति : माघ १, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया