काठमाडौं– मोटरसाइकल चोरी भयो भने भेटिने सम्भावना कम हुन्छ । चोरहरुले पार्टपुर्जा परिवर्तन गरेर चलाउने गरेकाले मोटरसाइकल भेट्न कठिन हुने गरेको हो । काठमाडौंमा मोटरसाइकल चोरी गरेर पार्टपूर्जा परिवर्तन गर्ने चोरहरु सक्रिय छन् । मोटरसाइकल ग्यारेज सञ्चालक समेत यसमा संलग्न भएको खुल्न आएको छ ।
काठमाडौंको गोकर्णेश्वरमा पर्ने अत्तरखेलमा भएको छ । स्थानीय राजन कार्कीको पार्किङ गरिएको मोटरसाइकल वैशाख २८ गते चोरी भएको भनी महानगरीय प्रहरी वृत्त बौद्धमा आएको निवेदन दर्ता भयो । त्यसको अनुसन्धान गर्ने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीको मोटरसाइकल मर्मत केन्द्रमा विभिन्न मोटरसाइकलका पाटपूर्जा फेला परेका छन् ।
मोटरसाइल ग्यारेजमा चोरीको मोटरसाइकल लुकाइछिपाइ राखेको भन्ने गोप्य सूचनाको आधारमा खोजी गर्दा कार्कीको हराएको मोटरसाइकलका पार्टपूर्जा मात्र फेला परेको थियो । पार्टपूर्जा बरामद गरी तीन जनालाई अनुसन्धानका लागि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए । शङ्खरापुर नगरपालिका–५ पालुबारीका ग्यारेज सञ्चालक तिलकबहादुर तामाङ, निराजन ओझा र मोहम्मद सज्जाद खान पक्राउ परेको बोगटीले जानकारी दिए ।
ग्यारेजबाट पार्टपूर्जा अलग गरिएको मोटरसाइकलको ट्यांकी छ थान, साइलेन्सर पाइप, रिङ, टायर, लेगगार्ड र इञ्जिन बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुले पाटपूर्जा निकालेर फरकफरक मोटरसाइकलमा जोड्ने गरेको अनुसन्धानबाट पत्ता लागेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।