के उपलब्धिपूर्ण छन् प्रधानमन्त्रीका विदेश भ्रमण ?

काठमाडौं– राष्ट्र प्रमुखहरूको विदेश भ्रमणलाई महत्वका साथ हेरिन्छ । मुख्यगरी लगानी भित्र्याउन र द्विपक्षीय सम्बन्ध बढाउन विदेश भ्रमण गरिएको हुन्छ । भ्रमण र अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा शक्ति राष्ट्रका प्रमुखहरूसँग भेट हुन्छ । औपचारिक कार्यक्रम सकेपछि विश्वका अन्य नेताहरू लगानी भित्र्याउनको लागि लगानीकर्ता तथा ठूला कम्पनीका उच्च अधिकारीसँग भेट गर्छन् । अहिलको विश्वमा हुने यस्ता जमघट र भेटघाट लगानी भित्र्याउन र आफ्नो देशमा रोजगारी बढाउनको लागि नै केन्द्रित हुन्छ ।
 
हामीकहाँ पनि राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूको भ्रमणमा जम्बो प्रतिनिधिमण्डलसहित सहभागी हुने चलन छ । तर, यस्ता भ्रमण केबल औपचारितामा मात्र सीमित हुने गरेको देखिन्छ । केवल फोटो खिचाउन पाए पनि मख्ख हुने प्रवृत्ति नेपालजस्ता विकासोन्मुख देशका प्रमुखको छ ।
 
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले कुनैवेला एउटा अन्तर्वार्तामा भनेका थिए, ‘अरू देशका सरकार प्रमुखहरू न्युयोर्क र वासिंग्टनको औपचारिक कार्यक्रमपछि सिलिकन भ्याली प्राथमिकता हुन्छ, हाम्रो देशबाट जानेको प्राथमिकता न्युयोर्क र डिसीमा बस्ने नेपालीको घरमा बस्दै बित्छ ।’
 
केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री भइसकेपछि अहिलेसम्म उनले ६ देशको भ्रमण गर्ने अवसर पाए । ओलीको विदेश भ्रमणमा राज्यको ढुकुटीबाट ठूलो रकम खर्च हुने गरेको छ । उनी भारत, चीन, कोस्टारिका, भियतनाम, कम्बोडिया, स्विट्जरल्यान्ड गए । यी देशको भ्रमण गरेर प्रधानमन्त्री ओलीले मुलुकको विकास र समृद्धिका लागि कुन देशसँग के सम्झौता र सहमति गरे हामीले त्यसको खोजी गरेका छौँ । 

१. भारत 
नयाँ वर्ष २०७५ को सुरुमै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो विदेश भ्रमण छिमेकी मुलुक भारतबाट सुरु गरे । भारत भ्रमण राजकीय थियो । भारत भ्रमण मात्रै होइन, उनको विदेश भ्रमण राजकीय नै हुने गरेको छ । भारत भ्रमणको क्रममा प्रधानमन्त्री ओली र समकक्षी नरेन्द्र मोदीबीच नेपालको विकास योजनामा महत्वपूर्ण सहमति भयो । भारत भ्रमणका क्रममा नेपाल र भारतबीचका पुराना सम्झौतासहित  रेलमार्ग, जलमार्गलगायत नयाँ विषयमा भएका सहमति भएको प्रधानमन्त्रीले बताएका थिए । २२ वर्षअघि हस्ताक्षर भएको पञ्चेश्वर परियोजनाको डिपिआर छिट्टै टुंग्याउने र नेपालमा सिमराबाहेक भारतीय आकाशबाट हवाई रुट दिने विषयमा छलफल भएको थियो । द्विपक्षीय भेटमा नेपाल र भारतबीच विभिन्न ठाउँमा देखिएका सीमा विवाद, डुबान समस्याका बारेमा पनि छलफल भएको थियो ।
 
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा १२ बुँदे संयुक्त वक्तव्य जारी भयो । त्यसमा नेपालका नदी हुँदै समुद्रसम्म वाटरवेज चलाउने विषयलाई नेपाल भारतको यातायात तथा पारवहन सन्धिमा समावेश गर्ने, रक्सौल–काठमाडौं रेलमार्गको एक वर्षभित्र सम्भाव्यता अध्ययन गर्ने र नेपालको कृषिलाई व्यवसायीकरण गर्न भारतीय प्रविधिको हस्तान्तरण गर्ने विषयमा भएका सहमति भयो । प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा भारतले नेपालमाथि लगाएको नाकाबन्दीका कारण बिग्रिएको सम्बन्ध सुधार भएको पनि प्रधानमन्त्री ओलीले बताएका थिए । 

२. चीन
भारत भ्रमण गरेको २ महिना नबित्दै प्रधानमन्त्री ओलीले २०७५ असार ५ देखि १० गतेसम्म उत्तरी छिमेकी मुलुक चीनको भ्रमण गरे । भारत भ्रमणमा जस्तै चीनसँग पनि द्विपक्षीय सम्झौता भए । प्रधानमन्त्री ओलीले बेइजिङमा नेपाल–चीन वाणिज्य मञ्चलाई सम्बोधन गर्दै अहिले नेपालमा चिनियाँ लगानीका लागि उपयुक्त वातावरण रहेको बताए । सम्बोधन क्रममा ओलीले चीनको असल छिमेकीका रूपमा नेपालले चीनसँग आर्थिक तथा व्यापारिक सहयोगलाई मजबुत बनाउने आशा व्यक्त गरे  । 

प्रधानमन्त्री ओलीले चिनियाँ व्यवसायीलाई नेपालमा लगानी गर्ने उपयुक्त वातावरण रहने जानकारी दिँदै विदेशी व्यवसायीलाई सुरक्षित र स्थिर वाणिज्य वातावरण प्रदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । चीन नेपालको सबैभन्दा ठूलो लगानी मुलुक रहेको भन्दै चीन र नेपालबीचको आर्थिक तथा व्यापारिक आवतजावत बढ्दै गएको उनले बताए  । 

माथिल्लो मस्र्याङ्दी–२ आयोजना (६०० मेगावाट), कालीगण्डकी गर्ज आयोजना (१६४ मेगावाट), त्रिशूली–गल्छी आयोजना (७५ मेगावाट), सिउरी न्यादी जलविद्युत् आयोजना (४०.२७ मेगावाट) निर्माण गर्नेसम्बन्धी द्विपक्षीय सम्झौता भएको छ  ।
 
त्यस्तै, दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने उद्योग, फलफूल प्रशोधन उद्योग स्थापना गर्ने सहमति पनि भएको छ । नेपाली पस्मिना खरिद, पूर्वी तराईको सिँचाइ प्रणाली व्यवस्थित गर्न सहयोग र रसुवागढी–केरुङ प्रसारण लाइन निर्माण गर्ने समहति पनि भएको छ । 

३. कोस्टारिका  
प्रधानमन्त्री ओली युएनको ७३औँ महासभामा भाग लिन जाँदा कोस्टारिकाको औपचारिक भ्रमण गरे । कोस्टारिकामा युनिभर्सिटी अफ पिसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रिया विश्वकै उदाहरणीय भएको बताए । प्रधानमन्त्री ओलीले कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग सान होजेस्थित कला संग्रहालय भबनमा द्विपक्षीय भेटवार्ता पनि गरे ।
 
दुइपक्षीय भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले नेपाल र कोस्टारिकाले दुई देशबीच शान्ति, लोकतन्त्र, विकास, सुशासनलगायत क्षेत्रमा आपसी सहकार्य र सहयोग गर्नेबारे छलफल भएको बताए ।
 
प्रधानमन्त्री ओलीले राष्ट्रपति क्वेसाडालाई नेपाल भ्रमणको निमन्त्रणा दिए । कोस्टारिकाका राष्ट्रपति क्वेसाडाले प्रधानमन्त्री ओलीसँगको भेटलाई ऐतिहासिक भन्दै जलवायु परिवर्तन, आर्थिक विकास, मानव अधिकारलगायत क्षेत्रमा मिलेर सहकार्य गरिने प्रतिबद्धता जनाए । 



४.भियतनाम 
प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि वैशाख २६ गते बिहीबार भियतनाम प्रस्थान गरे । भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन् ।

नेपाल र भियतनामबीच द्विपक्षीय सम्बन्ध र व्यापार अभिवृद्धिका विषयमा १६ बुँदे सहमति भयो । सो अवसरमा कूटनीतिक तथा सरकारी राहदानीवाहकलाई प्रवेशाज्ञा छुटसम्बन्धी सहमति र दुई सरकारबीच द्विपक्षीय परामर्श संयन्त्र निर्माण गर्ने विषयमा हस्ताक्षर भयो । योसँगै दुई देशबीचको आन्तरिक सुरक्षा तथा फौजदारी अपराधविरुद्ध सहकार्य गर्ने र उद्योग व्यापारको विकासमा पनि साझेदारी गर्ने सहमति भयो । 



५.कम्बोडिया 
३० गतेसम्म भियनतामको भ्रमण सकाएर ३० गते नै उनी कम्बोडियातर्फ लागे । कम्बोडियामा उनले आफ्ना समकक्षी हुन सेन, नेसनल एसेम्बली र सिनेटका अध्यक्षसँग भेट गरे । भ्रमणकै क्रममा कम्बोडियाका कार्यवाहक राष्ट्र प्रमुख भिबोल सेना फिक्डे से छुन्मबीच सिनेट हाउसमा प्रधानमन्त्री ओलीबीच भेट भयो । भेटमा द्विपक्षीय सम्बन्ध, संसद् र संस्कृतिसम्बन्धी विषयमा छलफल भएको थियो । 

कम्बोडियाको विदेशमामिला मन्त्रालयका अधिकारीले सो भेटघाटले दुई देशबीचको सम्बन्ध बलियो बनाउनाका साथै अर्थ, व्यापार, पर्यटन र संस्कृतिसम्बन्धी सहयोग र संसदीय अनुभव आदानप्रदान गर्न बढावा दिने विश्वास व्यक्त गरे । 

६. स्विट्जरल्यान्ड
२०७५ माघ ६ गते प्रधानमन्त्री ओली स्विट्जरल्यान्डको डावोस गए । उनी विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको टोलीसहित डाबोस गएका थिए । सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले २२ जनवरीमा स्टाट्रेजिक आउटलुक अन साउथ एसियामा आफ्नो धारणा राखे । यस्तै, २३ जनवरीमा प्रधानमन्त्री ओलीले सेपिङ दि फ्युचर अफ डेमोक्रेसीका विषयमा धारणा राखे । 

जनवरी २४ मा प्रधामन्त्री ओलीले जी–२० देशका प्रमुखहरूसँग छलफल गरे । सत्रको साइडलाइनमा देशका नेता तथा बिजनेस लिडरहरुसँग पनि छलफल गरे । 

  • प्रकाशित मिति : जेठ १, २०७६ बुधबार १४:५१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया