चोरीमा संलग्न भएको आरोपमा पाकिस्तानी दम्पती पक्राउ

काठमाडौं– महानगरीय अपराध अनुसन्धान महाशाखाले चोरीमा संलग्न भएको आरोपमा पाकिस्तानी दम्पतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राहदानी नं. क्युडब्लू ४१०२६४३ वाहक मोसिन खान र एइ ०११०९४३ वाहक पूजा मोसिन खान छन् । महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार २९ वैशाखमा भक्तपुरको सूर्यविनायकमा उनीहरुले आफूसँग यूएस डलर भएको बताउँदै चोरी गरेका थिए ।

‘डलरको बहाना गरेर नेपालको सबैभन्दा ठूलो नोट हेरौं भन्दै उनीहरुले एक हजार दरको नोटको विटो देखाउन लगाएर ३० हजार रुपैयाँ चोरी गरेको उजुरी परेको थियो’, उनी भन्छन् ।

पाकिस्तानी दम्पत्ति यतिमा मात्र सीमित रहेनन् । सूर्यविनायकमा चोरी गरेर भागेका उनीहरु लोकन्थली आए । र, उस्तै शैली प्रयोग गरेर हेका किचन स्टोर्सबाट ७० हजार रुपैयाँ चोरी गरे ।

उनीहरुले रुपन्देही पुगेर पनि राइजिङ स्पोर्टस् ग्यालीबाट पनि १ लाख ५० हजार रुपैयाँ चोरीको प्रयास गरेको एसएसपी थापा बताउँछन् ।

‘हामीलाई सूचना प्राप्त हुने वित्तिकै उनीहरुले प्रयोग गरेको बा१९च ७४ नंम्बरको कार सिनामंगलमा बरामद गरिएको थियो’, थापाले भने, ‘रुद्र भ्यू होटलमा कार भेटिएपछि जेकजाँच गर्ने क्रममा दुई जना पक्राउ परेका थिए ।’



उनीहरुको साथबाट महाशाखाले ५० दरका १७ र एक सय दरका २१ थान यूएस डलर, पाकिस्तानी मुद्रा ८ सय र नेपाली रुपैयाँ एक लाख ३७ हजार ५ सय बरामद गरेको थियो ।

अध्यागमन विभागको रेकर्ड अनुसार उनीहरु एक महिनाअघि मात्रै पर्यटक भिसामा नेपाल प्रवेश गरेका थिए । थप अनुसन्धान महानगरीय प्रहरी वृत्त, ठिमीले गरिरहेको छ ।



  • प्रकाशित मिति : जेठ १, २०७६ बुधबार १५:९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया