आँधीको मनोरम नृत्य नाटकमा अभिभावकलाई प्रश्नैप्रश्न

काठमाडौं– केही दिन अघि एउटा नाटक रिहर्सलका क्रममा निर्देशक घिमिरे युवराजले भनेका थिए, ‘किशोरावस्था ब्युटिफुल टाइम हो । तर, यो आँधी पनि हो । अलिकति पनि ख्याल गरिएन भने ठूलो गडबडी हुन सक्छ ।’ अहिले उनकै निर्देशन र लेखनमा तयार भएको नाटक ‘आँधीको मनोरम नृत्य’मा उनले यस्तै किशोरवयका मानिसको मनोविज्ञानलाई मञ्चमा उतारेका छन् । 

नाटकले ‘टिन एजर’का युवाको मनोविज्ञानलाई मिहीन ढंगले केलाएको छ । अर्थात् भनौँ, उनीहरूकै दृष्टिकोणबाट लेखिएको छ । यसमा युथहरूले के चाहन्छन् ? के सोच्छन् ? के बुझिरहेका छन् ? के गर्न खोजिरहेका छन् ? के गरिहेका छन् ? आदिजस्ता कुरा देखाएर नाटकले अभिभावकलाई प्रश्नैप्रश्नको पोको तेस्र्याएको छ । आफ्ना छोराछोरीको क्रियाकलापप्रति सचेत रहन र उनीहरूको कुरालाई एकपटक मनन् गर्न अभिभावकलाई सुझाइएको छ । र, सम्भावित दुर्घटनाबाट बच्न सचेत गराइएको छ ।

नाटकको पहिलो दृश्यले नै महँगो विद्यालयमा छोराछोरीलाई भर्ना गरेपछि सबै कुरा ठीक हुन्छ भन्ने अभिभावकको सोचाइप्रति कटाक्ष प्रहार गरेको छ । छोराछोरीलाई महँगो स्कुलको बसमा कोचिदिएपछि आफ्नो दायित्व पूरा भएको ठान्ने अभिभावकको मनोविज्ञानलाई नाटकमा सशक्त ढंगबाट प्रहार गरिएको छ । व्यस्त जीवनशैलीका कारण अभिभावकले बालबालिकालाई  पर्याप्त समय नदिएको विषयलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । नाटकको पहिलो दृश्यमा विद्यार्थीहरूले चक–चक गरेको देखेर एक शिक्षकले भनेको कुराबाट पुष्टि हुन्छ ।

जुन दृश्यमा विद्यार्थीहरूलाई मनोरञ्जनका लागि घुमाउन (पिकनिक) लगिएको छ । तर, त्यहाँ विद्यार्थीहरूको चकचक (उट्पट्याङ) सम्हाल्नै हम्मे हम्मे भएपछि एक शिक्षकले भन्छन्, ‘हैन यी विद्यार्थीहरू कति चकचक गर्न सकेका हुन् !’ त्यसैबेला बच्चाका अभिभावकले ‘मेरो बच्चालाई तीन महिना भइसक्यो स्कुल भर्ना गरेको अझै बोली फुटेको छैन’ भनेको स्मरण गर्दै रिसाउँदै भन्छ, ‘के बच्चाहरूको बोली फुटाइदिने काम हाम्रो हो र ?’ 



शिक्षकको यो भनाइले अभिभावकले महँगो शुल्क तिरेर आफ्ना बालबच्चा पठाएको विद्यालयका शिक्षकको दायित्वमाथि नै प्रश्न उठ्छ । अभिभावकबाट छोराछोरी लिइसकेपछि उनीहरूको राम्रो हेरचाहका गर्नुको सट्टा पैसा कमाउनका लागि मात्र खोलिएकोप्रति नाटकले व्यंग्य गरेको छ ।

शिक्षकले विद्यार्थी सम्हाल्न गाह्रो उनीहरूलाई गाडीमा हाल्छन् र घरतिर लान्छन् । गाडीमा बस्दा विद्यार्थीहरू सरको नजर छल्दै झ्यालबाट टाउको निकालेर जिज्ञासाका साथ घरीघरी बाहिरतिर हेर्छन् । आपसमा आपूलाई मन लागेको कुरा गर्न खोज्छन् । तर, सरले हप्काउँदा, त्यसो गर्न नपाउँदा कुनै बन्धनमा बाँधिएको महसुस् गर्छन् र झन् बढी उत्सुक देखिन्छन् । उनीहरू स्वतन्त्र हुन चाहन्छन् । विद्यालय होस् या अन्य कुनै ठाउँ खाली समय पाउनेबित्तिकै नाच्न–गाउन थाल्छन् । यो क्रम चलिरहन्छ । अरू कसैको मतलब गर्दैनन्, उनीहरू ।



वर्तमान परिवर्तनशील समयमा प्रविधिले ल्याएको एक्लोपन, परिवारप्रतिको बेवास्ता र अभिभावकको लापरबाहीले किशोरकिशोरीहरू विभिन्नखाले हिंसा भोग्न बाध्य छन् । टिनएजका युथहरूका मनमा धेरै कुरा खेलिरहेका हुन्छन् । तर, अभिभावकले बालबालिकासँग प्रत्यक्ष संवाद नगर्दा उनीहरू आफ्ना मनको भाव पोख्ने साथी खोज्छन् र अपरिपक्व साथीको संगतले कुबाटो रोज्छन् । एक विद्यार्थी भन्छ ‘ला चुरोट खा, अहिले ठूला–ठूला मान्छेहरू जति छन् नि सब यही खाएर त ठूला भएका हुन् ।’ अनि अर्कोले खान्छ । यसको परिणामस्वरूप उनीहरू थाहै नपाई कुलतमा फसिरहेका हुन्छन् । जुन यथार्थसमेत नाटकले पस्केको छ ।

यो उमेर नै आँधीजस्तो हुन्छ, जो बेगवान् भएर उड्न खोज्छ । तर, समाज, घरपरिवार र विद्यालयले उनीहरूको चाहना नबुझेपछि, बुझ्ने कोसिस नगरेपछि, वा बुझेर पनि नबुझेजस्तो गरेपछि विभिन्न समस्या आउन सक्छन् । त्यसैले यसप्रति सचेत गराउँछ, नाटकका यी दृश्यले । 

नाटकमा सानादेखि ठूला फलामका प्रप्सहरूको प्रयोग गरिएको छ । यसलाई कलाकारले अत्यन्तै सरल ढंगबाट कथाको परिवेशअनुसार चलाएका छन् । नाटकमा प्रयोग गरिएका फलामका यी प्रप्स विद्यार्थी र समाज, विद्यालय, अभिभावकबीचको पर्खाल वा बाधक देखाउने विम्बका रूपमा प्रयोग गरेको देखिन्छ ।
नाटक ‘आँधीको मनोरम नृत्य’ हेरिसकेपछि सायद अभिभावकको मनमा एउटा बेगवान आँधी चल्नेछ । जुन आँधीले छोराछोरी टाढा पुर्याएका अभिभावकको नजरलाई समीप ल्याउने र उनीहरूसँग जुधाउन लगाउने विश्वास लिएका छन्, नाटककार घिमिरेले । 

योभन्दा पहिले उनले गर्ने नाटक प्रायः इतिहास, संस्कति वा अति उच्च कल्पना (फिक्सन)मा आधारित हुन्थे । यसपटक उनका विद्यार्थीले ‘हामी हाम्रैबारे लेखिएको नाटक गर्न चाहन्छौँ’ भनेपछि उनी यो नाटक लेख्न हौसिएका हुन् ।

सामान्यतः सहरमा भाडा लिएर बस्ने परिवार अलिअलि कमाइ भएपछि साथीहरूको भेटघाट गर्ने आफन्त वा नातागोतालाई बोलाएर सानादेखि ठूला पार्टी दिने चलन बढेको कुरा नाटकमा देखाइएको छ । त्यही पार्टी संस्कृतिबाट सिर्जित नसामा लिप्त भएपछि छोराछोरी तथा श्रीमती असुरक्षित हुने गरेको तितो यथार्थलाई पनि प्रस्तुत गरिएको  छ । 

नाटकमा झकेन सरको परिवारको कथा छ । झकेन, उनकी आमा, छोरा, छोरी र श्रीमती गरी पाँचजनाको परिवार छ । झकेनको घरमा आएका पाहुनाले रक्सी खाइसकेपछि उसकै छोरी र श्रीमतीको नजिक गएर उनीहरूलाई छुने वा जिस्क्याउने गरेको देखिन्छ । छोराछोरी के गरिरहेका छन् । झकेनलाई मतलब छैन । ऊ आफ्नो कामबाट फुर्सद नै पाउँदैन । त्यसैले छोराछोरी पनि आफ्नो मनपरी क्रियाकलाप गर्न थाल्छन् । आधुनिक परिवेशमा किशोरकिशोरी पारिवारिक माया र अभिभावकत्वबाट वञ्चित हुँदै जाँदा कुण्ठित मनोविज्ञानमा पिल्सिनुपरिरहेको भन्ने सन्देश यो नाटकले दिएको छ ।

कसैले पनि उनीहरूका भावना नबुझेपछि विरक्त भएर नाटककी एक पात्र (संगीता उराव) भन्छे, ‘अचेल आफ्नै मन फरक लागिरहेको छ । कहिले साथीसँग घुम्न जाऊँजस्तो लाग्छ । कहिले हल्ला गरूँ, चिच्याऊँजस्तो लाग्छ ।’ रुँदै भन्छिन्, ‘कसलाई भन्ने ? कक्षामा मिल्ने साथी पाउन पनि गाह्रो छ, जोसँग मनको कुरा गर्न पाइयोस्, सुख–दुःख का कुुरा गर्न पाइयोस् ।’ यसरी उनीहरू न घरपरिवार, न विद्यालय, न समाज कोहीबाट पनि माया नपाएपछि निराश हुने गर्छन् । त्यसले गर्दा  सिर्जनशील उमेरमा नराम्रा गतिविधिमा हात हाल्न सक्छन् । यसबाट बालबालिकालाई बचाउन समयमै ध्यान पुर्याउन आग्रह गरेको छ, नाटकले ।  

अहिले सिकाइ, बुझाइ र भोगाइ फेरिएको मात्र छैन, धेरै परिवर्तन भएको छ । समाजमा किशोरावस्थाका आफ्ना नानीहरू हुर्किंदै गरेको परिवेश आत्मसात गर्न नसक्दा  थुप्रै समस्या उब्जिएका छन् । अभिभावक आफ्नो छोराछोरीको बारेमा बुझ्न  विद्यालयमा जान्छन् । त्यहाँ अभिभावकले आफ्नो छोराछोरीबारे नराम्रो सुन्छन् । अनि उल्टै छोराछोरीलाई कराउँछन् । आफ्नो इज्जत फाल्यो भनेर छोराछोरीलाई गाली गर्छन् । उनीहरू आफ्ना छोराछोरी के चाहन्छन् ? उनीहरूले यस्तो किन गरेका होलान् भन्ने बुझ्ने कोसिस गर्दैनन् । 

कोही अभिभावक आफ्ना साथीहरूको अगाडि छोराछोरी पढाइएको विद्यालयबारे गर्वका साथ सुनाउँछन् । एक पात्र भन्छ, ‘बच्चाको अगाडि गएर आँ... गर् भनेँ, उसको मुखबाट ठ्वाँस्स चुरोट गन्हायो । एक झ्याम्म लगाएँ ।’ यसले उनीहरू बालबालिकाप्रति जिम्मेवार छैनन् भन्ने देखाउँछ । आफ्ना छोराछोरीले कुन बाटो अपनाएका छन् र उनीहरूले भविष्यबारेका के सोचिरहेका छन् भन्ने कुरा अभिभावकले बेलैमा सोच्न आवश्यक छ । 

नाटकले अभिभावकको निगरानी नभएका कारण बच्चाहरूले सानैदेखि अभिभावकका मोबाइलमा लुकी–लुकी अश्लील भिडियो हेर्ने, सानै उमेरमा प्रेममा फस्ने र सानै उमेरमा शारीरिक सम्बन्ध राख्ने गरेको र त्यसबाट विभिन्नखाले समस्या आएको कुरालाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ । 

नाटककी एक पात्र, निस्सिम एक जेहेनदार विद्यार्थी हुन्छिन् । तर उनी साथीहरूको लहलहैमा लागेर प्रेममा पर्छिन् र अन्ततः गर्भवती हुन्छिन् । यसले उनको परिवारलाई मात्रै होइन, उनको भविष्यलाई नै संकटग्रस्त बनाउँछ । 

नाटकमा सकारात्मक पक्ष त छन् नै तर केही कमजोर पक्ष पनि छन् । नेपाली विषय पढाउने शिक्षकलाई हास्यको पात्र बनाइएको छ । नाटक होस् या फिल्म नेपाली पढाउने शिक्षकलाई प्रायः जोकर नै बनाइएको हुन्छ । शिक्षकलाई नै कमेडी बनाएपछि कक्षा त कमेडी  हुने नै भयो । त्यसैले यसमा अलि ध्यान दिनुपर्ने देखिन्छ । यसै पनि नेपालमा नेपाली विषयलाई नै हेलाको दृष्टिले हेरिन्छ । यो कटु यथार्थ हो । नाटकले केवल विद्यार्थी, विद्यालय, र अभिभावकको विषयलाई मात्र नभई कार्यालयमा कर्मचारीप्रति पनि व्यंग्य गरेको छ । हाकिम भएको बेलामा काम गरेजस्तो गर्ने, तर अन्य समयमा फेसबुक चलाउने तथा सेल्फी खिच्नेजस्ता क्रियाकलाप देखाइएको छ । 


 
नाटकमा गहन विषयको उठान गरिएको छ । यसको विषयवस्तुलाई कलाकारहरूले अझ सशक्त बनाएका छन् । कलाकारहरूलाई मञ्चमा चल्न सिकाउने काम घिमिरेसँगै अमजद प्रवेज र अवतार पाठकले गरेका छन् । कलाकारको अभिनय प्रशंसनीय छ । उनीहरूका कतिपय कमजोरीलाई छोपिदिएको छ, लाइभ म्युजिकले । लाइभ म्युजिकमा छन्, स्मारिका फुँयाल, नमन चित्रकार, रविन परियार र सन्तोष कपाली, सञ्जय शाही र यशोदा सापकोटा । नाटकमा प्रकाश संयोजन गरेका छन्, मानाङ लावतीले । 

जेठ ६ गतेसम्म निरन्तर मञ्चन हुने नाटकमा सौरभ सिंह, सविन कट्टेल, मन्जु श्रेष्ठ, दिवेन कार्की, विमल सम्बाहम्फे, मोहन महत, रविन परियार, संगीता उराव, गोविन्द ओली, सन्जु कार्की, विवेक चौलागार्इं, प्रकाश खनाल, सन्तराम पासी, प्रेम खतिवडा, हिमाल भुजेल, सुरेश सार्की, पवित्रा खड्का, झकेन बिसीलगायत कलाकारले अभिनय गरेका छन् ।

  • प्रकाशित मिति : जेठ १, २०७६ बुधबार १६:१४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया