खुमन अधिकारी चर्चित लोकदोहोरी गायक अर्थात् लोक सङ्गीतका क्षेत्रमा रुचाइएका स्रष्टा हुन् । १० हजार बढी गीतमा स्वर दिइसकेको उनी अत्यन्तै व्यस्त गायकका रूपमा पनि परिचित छन् । देश-विदेश, मेला महोत्सव, रोदी घर आदि स्टेजमा उनको माग बढ्दो छ । खुमनले ‘मनको देउतैले’, ‘जोर शंख फुकेर’, ‘बिन्ती मेरो कोटी कोटीमा’, ‘रुमाल चिनो लैजाऊँ बैनालाई’, ‘एउटै डोरी पासो लगाम भो’, ‘सिलाई दिउला भोटो’, ‘स्याङ्जालीलाई नभन जाली’, लगायत चर्चित गीत दर्शक श्रोतामाझ ल्याइसकेका छन् । प्रस्तुत छ, तिनै गायक अधिकारीसँग प्रमिला कार्कीले गरेको कुराकानी :
पछिल्लो समय कत्तिको व्यस्त हुनुहुन्छ ?
पछिल्लो समयमा विभिन्न मेला महोत्सवमा दौडधूप छ । र आफ्नै युट्युब च्यानल खुमन अधिकारीमा ‘बाहुनको र्झोले’ एउटा नयाँ गीत ल्याएको छु । भर्खरै आएको गीतलाई अत्यधिक रुचाइएको छ । गीतमा लाइक कमेन्ट सकारात्मक आएको छ । गीत मौलिक परिवेशमा रहेकाले रोदीमा बसेर, वारिपारि गाउँमा बसेर मादल बजाएर सुन्न र नाच्ने किसिमको छ । विशेष गरी मगर र गुरुङ समुदायमा बढी प्रचलित संस्कारमा आधारित गीत भएकाले रुचाइएको छ ।
तपाईँको विगतलाई सम्झिऔँ, साङ्गीतिक क्षेत्रमा तपाईँ कसरी आउनुभयो ?
बच्चा अवस्थामा वा जान्ने हुँदादेखि नै लोक गीत गुनगुनाउँथे । स्कुल पढ्दा विभिन्न कार्यक्रमहरूमा भाग लिन्थेँ । लोक गीतको प्रतिस्पर्धामा सहभागी हुन्थे । त्यस्ता प्रतिस्पर्धाहरूमा जहिले प्रथम हुन्थेँ । आक्कलझुक्कल कहिलेकाहीँ दोस्रो नि हुन्थेँ । तर मेरो घर र समाज सबै लोक गीतमय नै थियो । मेरो आमाले असाध्यै राम्रो लोक गीत गाउनुहुन्छ । त्यही गुणले पनि लोक सङ्गीतमा आएको हुँ । पढाइको सिलसिलामा काठमाडौंमा आएपछि सपना पुरा गर्दै छु ।
साङ्गीतिक क्षेत्रमा प्रवेश गर्न कत्तिको सहज या असहज भयो, यहाँसम्म आइपुग्दा कसरी हेर्नुहुन्छ ?
मेरा सपनाहरू अझै पूरा भए जस्तो लाग्दैन । किनभने मान्छे अघि बढ्दै जाँदा कहाँसम्म पुगिन्छ थाहा नै हुँदैन । चुलीमा पुग्न त अझै बाँकी नै छ । अझै दौडिरहेको छु । भर्खर चार खुट्टाले हिँड्दै छु । कुनै पनि काममा सफलता मिल्नको लागि सहजै सहजता हुँदैन । धेरै अप्ठ्यारा चुनौतीहरूको सामना गर्नै पर्छ । गीत सङ्गीतमा पनि संघर्ष त गर्नै पर्छ । यसमा पनि प्रतिस्पर्धा धेरै नै छ । खुट्टा तान्ने प्रवृत्ति पनि छ । सय प्रतिशतमा २५ प्रतिशत मात्रै सपना पूरा भएको छ । अझै ७५ प्रतिशत सपनाहरू अधुरा नै छन् ।
पहिले तपाई सङ्गीत क्षेत्रमा आउँदै गर्दाको अवस्था र अहिले आउनेहरूका लागि के कस्तो फरक पाउनु भएको छ ?
मैले औपचारिक रूपमा २०६३ सालदेखि नै गीत गाउन थालेको हुँ । पछिल्लो समय आएका गायक गायिकाहरूले झ्याप्प आउने र पैसा खर्च गराएर गीत रेकर्ड गराइ नै हाल्छन् । त्यसैले अहिले गीत गाउन सजिलो छ । तर त्यस बेला अहिलेको जस्तो सजिलो थिएन । पहिला जुन गायक गायिकाको गीत हिट भयो त्यहीँ मात्र खोजेर गाउन लगाउने चलन थियो । नयाँलाई खासै मौका दिने प्रचलन थिएन ।
त्यति बेलाको माहौलमा धेरै भिडेर गीत रेकर्ड गराउनु पर्दथ्यो । पहिला पहिला चलेका गायक गायिकाहरूले मात्र गीत गाए भने मात्र चल्छ नत्र चल्दैन भन्ने थियो । अहिले त राम्रो गीत जसले गाए नि चल्छ । प्रतिभा राम्रो हुनुपर्यो, स्वर राम्रो हुनुपर्यो, त्यसको मेलोडी, एरेन्जमेन्ट, म्युजिक भिडियो राम्रो हुनपर्यो । त्यसैले त्यो बेलाको र अहिलेको समय धेरै नै फरक छ । अहिले गीत गाउन सहज छ जस्तो लाग्छ ।
जब मैले गीत गाउँदै गएँ र गीतहरू चल्दै गए अनि मलाई खोज्न थालियो । एकै दिनमा १४ वटा गीत रेकर्ड गराएको मलाई याद छ । जुन समय अडियो विक्री हुन्थ्यो, त्यो समय क्यासेट ‘ए’ र ‘बी’ साइट भन्ने हुन्थ्यो । त्यो समयसँग जुध्दै गर्दै आएको हो । त्यसैले समय आकाश पातलको फरक भइसकेको छ । अहिले टेक्नोलोजीले परिवर्तन ल्याएको छ । अहिले सबैको हात हातमा मोबाइल, आफ्नो युट्युब च्यानल बनाइसकेका छन् । र आफ्ना सबै कुराहरू युट्युबमा पोस्ट हुन्छन् आफ्नो गीत गाउने अनि युट्युबमा हाल्ने गरिन्छ । समाजमा परिवर्तन आएको छ । पछिल्लो समयमा सहज प्रविधि आएकाले सजिलो भएको छ ।
बाल्यकाल रहँदा कतै स्टेज कार्यक्रम वा गाउँघरका बिहेबटुलो तिर गीत प्रस्तुत गरेको अनुभवहरू स्मृतिमा छन् ?
गीत गाउँदै जाने क्रममा म जहिल्यै प्रथम हुन्थेँ । प्रथम नभए दोस्रो त अवश्य हुन्थेँ । स्याङ्जाको इलोङ्गा भन्ने ठाउँमा लोक गीत प्रतियोगिता थियो, त्यहाँ गीत गाउन हाम्रो समूह गएको थियो । त्यहाँ गीत गाउँदा जहिल्यै प्रथम भइरहने मान्छे हाम्रो समूह तेस्रो भयो । म नजिकै बसेर रिजल्ट सुनिरहेको थिए । अन्तिमबाट रिजल्ट सुनाइरहनु भएको थियो, तेस्रो नम्बरमा हाम्रो नाम आयो । प्रथम र दोस्रो त अरू नै भए ।
म त्यो बेला किन प्रथम भइन भनेर धेरै दुखी भएको थिएँ । किन भएन, के कुरामा कमजोरी भयो भनेर म रोएको छु । त्यो क्षणचाहीँ म सम्झन्छु । अहिल्यै अग्र पङ्क्तिमा सफलता मिलिरहँदा एक्कासि पछाडि पर्दा भावुक भइँदो रहेछ । त्यो पल अहिले पनि सम्झन्छु । पैसा नभएर धेरै तनाव व्यहोरेको छु । गीत गाएर अलि तल पर्दा त झन् छाँगाबाट झरेको जस्तो हुन्थ्यो ।
लोक सङ्गीतले आफ्नो मर्म बिर्सेर उस्श्रृंखल हुन थाले, दोहोरीका नाममा विकृति बढ्यो भन्ने गुनासो छ । तपाईँलाई के लाग्छ ?
गीत सङ्गीतमा विकृतिको कुनै पनि मापदण्ड छैन । अहिले यतिसम्म चाहिँ ठिक हो , यो भन्दा बढी भयो भने विकृति हो भन्ने मापन भएको छैन । साथीहरूले विभिन्न किसिमका गीतहरू गाइरहनुभएको छ । हाम्रो एउटा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान छ । त्यसको उपाध्यक्ष पनि छु । विकृतिजन्य प्रस्तुतिहरू आउँदा तीनलाई रोक्नका लागि विभिन्न किसिमका उपायहरू पनि अपनायौँ ।
त्यस्ता खालका गीतहरू रेकर्डिङ स्टुडियोमा रोकेर हुन्छ या लाइभ दोहोरी स्टुडियोमा कडाइ गरेर अथवा म्युजिक भिडियोमा कुनमा कस्तो खालको विकृति आएको छ, त्यसमा अध्ययन गर्ने गर्छौँ । कुनै शब्दमा अपाच्य खालको, कुनै सिधै दोहोरो अर्थ लाग्न खालका हुन सक्छन् । कस्तो खालको गीत रेकर्ड भएको छ त्यसमा बुझेर हामीले समाजमा अपाच्य खालका गीतहरू रोक्ने प्रयास त गरेका छौँ । सबै गीतहरूलाई रोक्यौ त भन्न नसकिएला तर केही गीतहरू चाहिँ रोकेका छौँ ।
धेरै कलाकारहरू सजक पनि हुनुभएको छ । समाज र परिवारसँग बसेर हेर्ने नसकिने गीत ल्याउन चाहिँ हुँदो रहेनछ भन्ने बुझ्नु भएको छ । त्यसलाई कसैले राम्रो भन्दैन रहेछ भनेर सजक पनि भएको देखिन्छ । हामी जस्तो मान्छेहरूले त्यस्तो खालको गीतहरूबाट अलि टाढै रहेको राम्रो हुन्छ । राम्रो सृजना, वास्तविक मौलिकतालाई आधार मानेर अगाडि बढ्दा हुन्छ भन्ने लाग्छ ।
दोहोरी सङ्गीतको शैलीमा आइरहेको परिवर्तनलाई कसरी लिनुहुन्छ ?
पहिले र अहिले त धेरै परिवर्तन छ । पहिला भन्दा अहिले अझै सहज छ । पैसा हुनेलाई त झन् अझै सहज छ । पछिल्लो समयमा प्रतिभा भन्दा पनि सङ्गीत बजार अलि बढी पैसामुखी भएको हो कि भन्ने पनि लाग्छ । जसले धेरै खर्च गर्यो, बुस्ट हान्यो, म्युजिक भिडियोमा अत्यधिक खर्च गर्यो त्यो चलेजस्तो देखिन्छ । हुन पनि पैसा हुनेले त्यो गर्नु राम्रो होला तर राम्रो प्रतिभाहरू मरिरहेको छन् । ती प्रतिभाहरू पनि अगाडि आउनुपर्छ ।
त्यसैले पहिला र अहिलेमा फरक भनेको पूरै टेक्नोलोजीमा परिवर्तन आएको हो । अर्को कुरा सङ्गीत क्षेत्रमा प्रवेश गर्ने आधार नै फरक भइदियो । पहिला बुझेर, एकदमै अध्ययन गरेर, सबैसँग सल्लाह लिएर कसरी कुन बाटोमा अगाडि जाने हो भनेर सोचेर अगाडि बढ्ने गरिन्थ्यो, अहिले अन्धाधुन्ध प्रवेश गरिन्छ । जे पर्छ पर्छ ठोकौँ भन्ने हिसाबले झ्याम्म हाम फाल्ने प्रवृत्ति छ । यतातिर चाहिँ अलि विचार पुर्याउनुपर्छ जस्तो लाग्छ ।
मेला महोत्सवमा भाइरल प्रस्तुति बढी रुचाउने गरिन्छ । यसले कलाकारलाई राम्रो गरेको छ या विभेद ?
एउटा गीत जसोतसो गायो अनि राम्रो चलिदियो भने भाइरल भइहाल्यो, अर्को गीत चल्ने नचल्ने ठेगान हुँदैन । तर त्यस्तो कलाकारलाई खोज्ने चलन छ । उसले गएर स्टेजमा ड्याङ ड्याङ आधा घण्टा एक घण्टा गाउनु पर्यो भने त्यही एउटा गीत मात्र गाएर त पुग्दैन नि । अरू गीत पनि गाउनुपर्छ । मेला महोत्सवमा जाने सुरु र अन्तिममा आफ्नो गाउन बाँकी सबै अरूको गीत गाएर फर्किने गरेको पनि पाएको छु । एउटा राम्रो पक्षचाहिँ के होइन भने आयोजक टिमले पनि कलाकार र कलाकारितालाई नबुझेको हो कि भन्ने चाहिँ मलाई लाग्छ । किनकी धेरै राम्रो र सदाबहार हिट गीतहरू गाउने कलाकारहरू मेला महोत्सवमा व्यस्त नभएर एउटा दुई वटा मात्रै गीत गाउनेलाई मात्र खोज्ने प्रचलन अलि बढी छ ।
तपाईँका कति गीत आए बजारमा ? आफ्ना कति आए र अरूका कति गीत गाउनु भयो ?
वास्तवमा आफ्नो गीत भनेर धेरै गीत गरिन । जब आफ्नो युट्युब च्यानल खोले त्यसपछि सबैले आफ्नो आफ्नो गर्ने रहेछ भन्ने लाग्यो । म पनि गर्न पर्यो भनेर कस्सिए । आफ्नो लगानीका गीत, आफ्नै च्यानलमा राख्न थालेँ । पहिला लगभग आठ नौ हजार गीत त अरूको नै गाइयो । दिनकै १३–१४ वटा गीत रेकर्ड नै गरियो । ०६३ देखि ७० सम्म त त्यसरी नै गाइरहेको थिएँ । त्यसपछि टेक्नोलोजीले परिवर्तन ल्यायो, युट्युबको मार्केट आयो । त्यसपछि रेकर्डिङ गर्ने, भिडियो बनाउने सिधैँ युट्युबमा राख्ने समय आयो । सबैले आफ्नो लगानी गर्दा, आफैँ गाउन पनि थाल्नुभयो । अहिले कम भएको मात्र हो तर अझै पनि बुझेको मान्छेले खोजी रहनु भएको छ । मैले पनि निरन्तरता दिएको छु ।
तपाईँका गीतहरूले कस्तो सन्देश प्रवाह गरेको छ जस्तो लाग्छ ?
म पश्चिमको मान्छे, पश्चिमेली लोकलयमा आधारित गीतहरू गाएको छु । पूर्वतिर चल्ने भाकाहरू गाएको छु । १०–१२ वटा काँठ क्षेत्रमा चल्ने भाका गएको छु । काठमाडौं उपत्यकामा चल्ने अलि फरक भाकामा आठ नौवटा गीत गाएको छु । त्यसपछि सांस्कृतिक गीतहरू गाएको छु, सालैजु, कौडा, भजन, रोइला, पञ्चेबाजा जस्ता सांस्कृतिक गीतहरू र सेलो पनि गाएको छु । पछिल्लो समय लोक गीतलाई पनि केन्द्रित गरेर फिल्मका गीतहरू बनाउन थालिएको छ । फिल्मका बढी चलेका हरेक गीतहरू लोकमा नै आधारित छन् । नयाँ दुई वटा फिल्ममा लोकमा नै आधारित गीतहरू गाएको छु । समग्रमा सबै क्षेत्रका गाउने प्रयास गरिरहेको छु ।
हजारौं गीत गाउनुभयो, आफूलाई चाहिँ सबैभन्दा बढी मन परेको कुनै गीत छ ?
सबै गीतहरू राम्रा छन् । मलाई खुमन अधिकारी भनेर चिनाउने ‘मनमा देउतैले नरोऊ भन्ने हजारौँ भेटियो, रुवायो एउटैले’ भन्ने गीत हो । यो २०६३ सालमा बजारमा आएको थियो । त्यसपछि ‘त्यो मन रुन्न होला र मलाईजस्तो तिमीलाई नि भा थ्यो रे भेटै हुन्न होला र’ यो मलाई धेरै नै मन परेको भाका हो ।
दोहोरी गीतले नेपाली समाजमा सांस्कृतिक पहिचान र संस्कारको संरक्षणमा कत्तिको भूमिका खेलिरहेको छ ?
यसको संरक्षण गर्ने नै लोक गीतले हो । अन्य गीतहरूले पनि गर्यो होला गरेको छैन भन्दिन । तर लोक गीत भनेको लोकको भाका हो नि त । लोक गीतले हाम्रो जनजनको कथा बोकेको हुन्छ । माटो बोकेको हुन्छ । विरहका भाकाहरू बोकेको हुन्छ र यथार्थ चित्रण गरेको हुन्छ । हाम्रो देशको कला, संस्कृति, संरक्षण गर्ने भनेकै लोक गीतले जस्तो लाग्छ ।
दोहोरी गीतहरूले देशको पहिचान र संस्कृतिको संरक्षण गर्छ भन्नुभयो । सरकारी पक्षबाट चाहिँ यसको संरक्षणमा कत्तिको ध्यान पुगेको छ जस्तो लाग्छ ?
सरकारी पक्षबाट त हामी एकदमै पिछडिएका छौ । विकसित देशमा हेर्ने हो भने एउटा गायक गायिकाले गाएको गीत चल्यो भने उसको जीवन बन्छ । उसलाई जीवनभर घर–गाडी, गार्डसहितको सुविधा दिने व्यवस्था हुन्छ । छिमेकी देश भारतमा नै सङ्गीतको कस्तो बजार छ, सरकारले त्यसलाई प्राथमिकतामा पनि राखेको छ । नेपालमा त्यही व्यवस्था नभएर त कतिपय कलाकारहरू विदेशिएका छन् । कति अग्रज र सबैको मनमा बसेका कलाकारहरू अमेरिका गएर बस्नु भएको छ ।
सरकारी पक्षबाट उहाँहरूलाई सुविधा दिने र त्यही अनुसारको नीति नियम बनाई दिएको भए कलाकारहरू देश बाहिर जान पर्दैन थियो । कलाकारहरू गीत चलेसम्म ठिक नचलेपछि के गर्ने भनेर विकल्प खोज्न हिँड्नुहुन्छ । यसका पछाडि सरकारी तहबाट हामीलाई केही सुविधा छैन । कुनै राजनीतिक क्षेत्रलाई आधार बनाएर गरिएको कार्यक्रममा कुनै चर्चित कलाकारलाई बोलाइएको छ भने प्रधानमन्त्रीभन्दा पनि कलाकारको महत्त्व धेरै हुन्छ । त्यस्तो कुरा सरकारले नबुझ्दा धेरै पछाडि परेका छौ । नेपालमा कलाकार भन्दा पनि बढी आम जनताले पीडा भोग्नु परेको छ । यो पनि नेताहरू र राजनीतिकै कारणले हो ।
राजनीतिक क्षेत्रमा यति धेरै समस्या छ । राम्रो गर्नेलाई अघि बढ्न दिइँदैन । नेपालको राजनीतिले गर्दा गर्दा जनता जहिले पछाडि नै परिरहेका छन् । हामी यस्तो देशमा छौ कि चाहेर केही पनि हुन सक्दैन । आफ्नो ठाउँबाट र आफ्नो लागि त गर्ने हो, गरिरहेका छौ । तर अरूको लागि केही गरौँ, बोलौँ भन्ने हो भने माथिल्लो तहमा भएको मान्छेले जे पनि गर्न सक्छन् । हामी त्यही भएर चुप लागेर बस्नुपर्छ । कलाकार पनि यही अवस्थामा छौ । कलाकारिता क्षेत्र यस्तो फस्टाइरहेको छ, सबैको मनमा छ तर चर्चा पाएको कलाकारको यहाँ कुनै महत्त्व हुँदैन । उसले गाउन सक्दासम्म र क्षमता हुँदासम्म गाउँछ त्यसपछि अब के गर्ने होला भनेर बाटो खोज्नुपर्ने हुन्छ ।
तपाईँले अहिलेसम्म कति देशमा कति प्रस्तुति दिइसक्नुभयो ?
म अमेरिका बाहेक अरू देशमा धेरै पटक गइसकेको छु । हरेक देशमा कार्यक्रमहरू पनि गरेको छु । अमेरिका अझसम्म पुग्या छैन । अमेरिकाबाट भनेको जस्तो कार्यक्रम आएको छैन । धेरै देशमा धेरै कार्यक्रमहरू गरे तर अमेरिकामा कार्यक्रम गर्ने मौका मिलेको छैन ।
नेपालको विभिन्न भेगमा फरक फरक प्रकारका दोहोरी गीत गाइन्छ । तपाईँले गाउने गीत कस्ता हुन् ?
हरेक गीतले एउटा सन्देश दिएको हुन्छ, चर्चाको हिसाबमा हेर्ने हो भने माया पिरतीको गीतले अलि बढी चर्चा पाउने भएको हुनाले त्यस्ता गीतहरूलाई धेरै फोकस गरेका छौँ । तर शिक्षामूलक, सन्देशमूलक गीतहरूलाई बढी प्राथमिकता दिएको छौ । मौलिकतालाई ध्यानमा राखेर नै धेरै गाउने गरेको छौ ।
लोक सङ्गीतका लागि साधना, अध्ययन र अनुसन्धान कतिको जरुरत पर्ने रहेछ ?
मान्छेहरू के चाहिँ भ्रममा हुनुहुन्छ भने लोक गीत गाउनेहरूले सिक्नुपर्दैन, पढ्नु पर्दैन यिनीहरूले सिकेका हुँदैनन्, पढेका हुँदैनन् भन्ने कतिपयले भनिरहनु भएको हुन्छ । क्षमता हो भन्ने बुझ्नपर्छ । मैले सानैदेखि गाउँथे भने मलाई कसैले सिकाउनु पर्यो त ? तर आधुनिक गाउनेले त सुनेर साधना नगरी त गाउन सक्दैन । लोक गीत गाउनेहरूले पनि सबैले अध्ययन गर्नुभएको छ । सबैले सिक्नुभएको छ, सबै पढेलेखेको हुनुहुन्छ । त्यसैले लोक गीतको बजार फस्टाइरहेको छ । सबै जना नाचिरहनुभएको छ । मेला महोत्सवहरू पनि लोक गीतमय बनेका छन् ।
मौलिक र रैथाने संस्कार–संस्कृतिलाई लोक सङ्गीतले कत्तिको न्याय गरेको छ ?
न्याय त गरिरहेको छ । पुरानै खालका चलिरहेका भाकाहरूलाई टपक्कै टिपेर ल्याएर रेकर्डिङ गर्ने अनि बजार व्यवस्थापन गर्ने चलन छ । अहिले मैले गाएको बाहुनको झोर्ले भन्ने गीतमा गाउँघरको मौलिकपन छ साँझमा महिलाहरूले पछ्यौरी ओढेर, उतापट्टि केटाहरूले टक्क कम्मल वा बर्को ओढेर, मादल बजाएर गाइने भाकाको गीत तयार भएको छ । त्यसैले लोक गीतले नै गर्दा त्यो पुराना सङ्कलित भाकाहरूलाई संरक्षित गरिरहेको छ ।
सङ्गीतमा आउने नयाँ साथीहरूलाई के सुझाव छ ?
भर्खरै लोक गीत सङ्गीतमा पाइला टेक्नुभएको छ भने जोसैजोसमा नलाग्नुहोला बुझेर लाग्नुहोस् । आफ्नो मूल्याङ्कन आफैले गर्नुपर्छ । आफ्नो मूल्याङ्कन आफैले गर्न सकेन भने अरूले मूल्याङ्कन ठिक गर्न पनि सक्छ, गलत गर्न पनि सक्छ । आफ्नो मूल्याङ्कन आफै गर्नुस् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।