१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

मधेस प्रदेशसभामा भाषा सम्बन्धी विधेयकप्रति चर्को विरोध

मधेस प्रदेशका प्रदेशसभा सदस्यहरूले मधेसको कामकाजी भाषा सम्बन्धी विधेयक फिर्ता लिन माग गरेका छन् । मधेसका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्माले बुधबार मधेसको कामकाजी भाषा सम्बन्धी विधेयक सदनमा पेस गरेका थिइन् । 


सो विधेयकमा मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजीलाई कामकाजी भाषाको रूपमा समेटिएको थियो । विधेयकमा मातृभाषाहरूलाई छुटाएर आयातित भाषाहरूलाई स्थान दिइएको भन्दै मधेस प्रदेशसभामा प्रदेशसभा सदस्यहरूले विरोध जनाएका हुन् । 



प्रदेशसभा सदस्य रामसरोज यादवले भाषा जस्तो संवेदनशील विषयमा आएको विधेयक हचुवाकै भरमा ल्याइएको आरोप लगाए । उनले प्रदेश सरकार मधेसमा कति वटा भाषा बोलिन्छन् भन्ने विषयमा स्पष्ट हुनु आवश्यक रहेको बताए । उनले मधेसमा सबैभन्दा बढी बोलिने मैथिली भाषालाई पहिलो नम्बरमा राखेर अन्य मातृभाषालाई समेट्नु पर्ने थियो जुन नसमेटिएकोमा प्रदेशसभा सदस्य यादवले आपत्ति जनाए ।

सत्ताको नेतृत्व गरिरहेको जनमत पार्टीकै प्रदेशसभा सदस्य चन्दन सिंहले मधेसमा अनेकौँ भाषा रहेको बताउँदै हामीले मधेसी भाषामा शपथ लिएका थियौँ त्यो भाषाको सम्मान विधेयकमा हामीले खोजिरहेको बताए ।



अर्का प्रदेशसभा सदस्य जयनुल राइन यो विधेयकले मुस्लिम समुदायको प्रतिनिधित्व नगरेको गुनासो गरे । उनले मुस्लिम समुदायको भाषा उर्दु नसमेटिएसम्म यो विधेयक पास हुन नदिने चेतावनी दिए ।

भाषा सम्बन्धी विधेयकलाई लिएर प्रदेशसभा सदस्यहरू जितेन्द्र सोनल, रत्नेश्वर गोइत, युवराज खतिवडा लगायतका प्रदेशसभा सदस्यहरूले विरोध जनाएका छन् । प्रदेशसभा सदस्यहरूको विरोधपछि सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक केही समय स्थगित गरेका थिए । 



  • प्रकाशित मिति : १० माघ, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया