अदालतको आदेश नमान्ने डिल्लीबजार मालपोत प्रमुखलाई ५ हजार जरिवाना

काठमाडाैं– उच्च अदालत पाटनले डिल्लीबजार मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत विश्वराज मरासिनीलाई ५ हजार जरिवाना तिर्न आदेश दिएकाे छ।

पटक पटक ताकेता गर्दा पनि अदालतको आदेश कार्यान्वयन नगरी मौन बसेको भन्दै बुधबार न्यायाधीश मुहब्बत साविर हुसैन र टेकनारायण कुँवरको इजलासले उनलाई जरिवाना गर्ने निर्णय गरेकाे हाे । 

जग्गासम्बन्धी एक विवादमा उच्च अदालत पाटनले मरासिनीलाई फाइल पठाइदिन पहिलोपल्ट गत वर्षको जेठ ३० मा आदेश दिएको थियो। उक्त इजलासले साे आदेश कार्यान्वयन गरी अदालतले पठाएका पत्रसहित ‘७ दिनभित्र जरिवाना तिर्न आफैं आउनू’ भन्ने आदेश गरेको हो।

काठमाडौं महानगरपालिका र मालपोतलाई विपक्षी बनाउँदै स्थानीय ओमी अमात्यलगायतले दायर गरेको रिटमा निर्णय फाइल पठाउनुपर्ने थियो। तर डिल्लीबजार मालपोत प्रमुख मरासिनीले पाँचौंपल्टसम्म पनि नपठाएपछि अदालतले जरिवाना तिर्न आदेश दिएकाे हाे । 

पहिलो पत्र कार्यान्वयन नभएपछि गएको वर्षभरि उच्च अदालतले मालपोत कार्यालयलाई अरू ४ वटा चिठी पठाएकाे थियाे । तर मालपाेतले कुनै जवाफ दिएन । 

'यसरी अदालतको आदेश र पत्राचारलाई कुनै पनि रूपमा सम्बोधन नगरी,कुनै जवाफ समेत नदिइ अदालतको आदेशप्रति उदासिनता देखाएको पाइयो,' उच्च अदालत पाटनले बुधबार गरेको जरिवानासम्बन्धी निर्णयमा उल्लेख छ।



'न्याय प्रशासन ऐन, २०७३ दफा ३४ बमोजिम कारबाही गर्न उपयुक्त देखिएकोले डिल्ली बजार मालपोत कार्यालयका प्रमुखलाई उक्त ऐनको दफा ३४ (२) बमोजिम पहिलोपटक पाँच हजार जरिवाना गरिदिएको छ।'  भनी आदेशमा उल्लेख छ । 

अब पनि मालपाेतबाट कुनै फाइल वा जवाफ नआए पत्रको संख्या अनुसार पटकैपिच्छे जरिवाना गरिने जानकारी अदालतले दिएको छ।



  • प्रकाशित मिति : जेठ २, २०७६ बिहीबार १३:१०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया