आन्दाेलनपछि बौद्ध– जोरपाटी सडकमा कालोपत्रे सुरु

साँखु– लामो समयदेखि अलपत्र चाबहिल–साँखु सडकखण्डअन्तर्गत टुसाल–जोरपाटी सडकखण्डमा कालोपत्र सुरु भएको छ। ठेकेदार कम्पनी युनाइटेड विल्डर्सले टुसालबाट जोरपाटीतर्फ कालोपत्र सुरु गरेको हो।

धुलो र हिलोले आजित बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीयवासी, व्यवसायी र सर्वसाधारणले गतसाता यातायात नै अवरुद्ध पारी सडक आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका थिए।

सडकमा उत्रिएका आन्दोलनकारी र उक्त सडकखण्ड निर्माण गर्न ठेक्का पाएको युनाइटेड विल्डर्सबीच ६ बुँदे सहमति भएपछि कालोपत्रे सुरु गरिएको हो।

बौद्ध व्यापार सङ्घका अध्यक्ष दीपक चौलागाईंका अनुसार आइतबारदेखि कालोपत्र गर्नुपूर्व रोलर लगाउने, सवबेस, बेस बनाउने काम काम सुरु भएको थियो भने अहिले कालोपत्र भइरहेको छ।

गतसाता स्थानीयवासीले सडकमा यातायात अवरोध गरेपछि ठेकेदार कम्पनीका प्रमुख शकुन्तलालाल हिराचन, काठमाडौँ महानगरपालिका वडाध्यक्ष दीपेन्द्र लामा, बौद्ध व्यापार सङ्घका अध्यक्षसहित बसेको बैठकबाट कालोपत्र गर्ने सहमति भएको थियो।

विगत चार वर्षदेखि सडक धुलाम्मे र हिलाम्मे हुँदा त्यसको प्रत्यक्ष असर उक्त सडकखण्डका स्थानीय तथा यात्रुलाई परेको स्थानीय विनिता कोइरालाले बताइन्। 



सरकारले ०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले ०७२ जेठमा सडकखण्डको निर्माणको लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो।

कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडक विस्तारको जिम्मा पाएका थिए। तर अहिलेसम्म उक्त सडकखण्डले सम्पन्नता पाउन सकेको छैन। रासस



  • प्रकाशित मिति : जेठ २, २०७६ बिहीबार १३:४८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया