कांग्रेसले स्याल हुइयाँ मच्चायो, बुद्धिजीवी पनि पछि–पछि कुदे : प्रधानमन्त्री ओली

काठमाडौ‌– प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका नाममा सरकारले अराजकता मच्चाउन नदिने बताएका छन् । शुक्रबार राजधानीमा आयोजित २६औँ मदन–आश्रित स्मृति सभामा बोल्दै ओलीले सरकार, नागरिक र पार्टीहरुले पनि संविधानको पालना गर्नुपर्ने दायित्व बिर्सन नमिल्ने बताए । 

लोकतन्त्रमा कानुनी शासन पनि हुने भन्दै उनले लोकतन्त्रलाई अराजकता र स्वतन्त्रताको परिभाषाभित्र राख्न नमिल्ने बताए । सरकारले गरेका राम्रा कामबाट अत्तालिएर राष्ट्रिय एकता हुन नदिने विभिन्न षड्यन्त्र भइरहेको र यसले नेपाली समाजमा विद्वेष र घृणा फैलाउने काम गरेको उनको भनाइ थियो । षड्यन्त्ररु भइरहे पनि भन्दै देश बनाउने महान् अभियानमा आफू लागेको उनले बताए । 

सरकार र आफ्नो पार्टी लोकतन्त्र, समुन्नत र अनुशासित समाजको पक्षमा हिँडिरहेको तर देश–विदेशबाट अराजक र असभ्य समाज बनाउने प्रयास भइरहेको प्रधानमन्त्रीको आरेप छ । यद्यपि, त्यस्ता षड्यन्त्र सफल हुन नदिने दाबी गर्दै उनले भने,  ‘प्रतिक्रियावादी शक्ति सफल हुने छैनन् । पार्टी एकताबद्ध छ ।’ 

राष्ट्रपतिले मेरो सरकार भनेको विषयमा कांग्रेसले स्याल हुइयाँ मच्चाएको र बुद्धिजीवीहरू पनि कांग्रेसकै पछि लागेको आरोप लगाए । उनले भने, ‘भारतमा पनि त्यसरी नै सम्बोधन गर्ने प्रचलन छ । तर, यहाँ बहुतै स्याल हुइयाँ मच्चाइयो । बुद्धिजीवी पनि यसमा कुदे ।’ 

यसलाई पद्धतिकै विरोध भएको आरोप लगाउँदै प्रधानमन्त्रीले थपे, ‘यो गणतान्त्रात्मक प्रणालीको विरोध हो, राष्ट्रपतिको होइन ।’ सरकार देश र लोकतन्त्रको पक्षमा दृढ रहेको भन्दै उनले सामाजिक न्याय र समानताको पक्षमा अविचलित रहने बताए । 

पूर्वप्रधानमन्त्री एवं नेकपाकै वरिष्ठ नेता माधव नेपालप्रति इंगित गर्दै उनले भने, ‘हामी बहुमतका साथ सरकारमा छौँ, तर बहुमत कतिलाई पचेको छैन ।       अर्को पटक नेकपाको एकल दुई तिहाइ पुग्छ ।’ 



केही दिनअघि एक कार्यक्रममा नेपालले नेकपाले ५५ प्रतिशत मात्रै मत पाएको तर सरकारे दुईतिहाइको दम्भ देखाइरहेको बताउँदै त्यस्तो दम्भ नराख्न आग्रह गरेका थिए । 



  • प्रकाशित मिति : जेठ ३, २०७६ शुक्रबार १४:५०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया