कांग्रेसद्वारा देशव्यापी प्रशिक्षणको तालिका सार्वजनिक

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले देशव्यापी रूपमा नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिने भएको छ । कांग्रेस उपसभापति एवं प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा केन्द्रीय कार्यालयमा शुक्रबार सम्पन्न बैठकले सो निर्णय गरेको हो । 

बैठकमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा. पुरुषोत्तम दाहालले प्रशिक्षणसम्बनधी प्रस्तावका सम्बन्धमा जानकारी गराएका थिए । दाहालको प्रस्तावमा प्रतिष्ठानका सदस्यहरूले आ–आफ्ना धारणा राखेका थिए । 

बैठकको निर्णयअनुसार ७ वटै प्रदेशका १४ स्थानमा महाधिवेशन प्रतिनिधिका लागि दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ । त्यसैगरी, क्रियाशील सदस्यका लागि १ दिने आधारभूत प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । 

देशव्यापी जनजागरण सञ्चालन गरिरहेको कांग्रेसले केन्द्रीय स्तर (काठमाडौं)मा र देशका अन्य भागमा पनि क्रमशः  ‘नेपाली कांग्रेस मेला’ कार्यक्रमको आयोजना गर्ने भएको छ । गणतन्त्र दिवसको सन्दर्भमा काठमाडौंमा जेठ १४ गते ‘गणतन्त्रको एक दशक’ विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम, र १५ गते बिहान प्रभातफेरी र बेलुका दीप प्रज्वलन तथा १६ गते संघीयताको कार्यान्वयन विषयमा विचार गोष्ठी आयोजना गर्ने कांग्रेसद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

जिल्लाहरूमा पार्टीको राष्ट्रिय जागरणको कार्यक्रमसँगै समन्वय हुने गरी कार्यक्रम सञ्चालन गर्ने र जिल्लामा हुने गणतन्त्र दिवसको कार्यक्रमलाई सहजीकरण गर्न केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानबाट प्रतिनिधि पठाउने निर्णय भएको प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा. पुरुषोत्तम दाहालले फरकधारलाई जानकारी गराए ।





  • प्रकाशित मिति : जेठ ३, २०७६ शुक्रबार १७:४३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया