सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जाल दर्ता हुन नआए बन्द गर्ने चेतावनी दिएका छन् । उनले एक कार्यक्रममा बोल्दै नेपालमा दर्ता नभएका सामाजिक सञ्जाललाई चल्न नदिने बताएका हुन् ।
सञ्चारमन्त्री गुरुङले अहिले नेपालमा दर्ता भएर सञ्चालनमा आएको सामाजिक सञ्जाल टिकटक मात्रै रहेको बताउँदै मेटा (फेसबुक), इन्स्टाग्राम, ह्वाट्सएपलगायत अन्य सामाजिक सञ्जाललाई दर्ताका लागि सार्वजनिक आह्वान गरिएको बताए । उनले भने, ‘हामीले मेटालाई बोलाइरहेका छौँ, आउँछ, की आउँदैन, हेर्न बाँकी छ । आएन भने नेपालमा चल्न दिन्नौँ ।’
उनले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई कारबाही गर्नकै लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताए । सामाजिक सञ्जाल अराजक बन्दै गएको र त्यसलाई नियमन गर्नुपर्ने आम नागरिककै मागअनुसार सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याइएको उनको दाबी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।