किसुनजीका लागि मदनले उम्मेदवारी फिर्ता लिन खोज्नुभएकाे थियाे तर कांग्रेसले नै मानेन

मदन भण्डारीसँग मेरो उठबस विशेषगरी पञ्चायती निरंकुशताविरुद्धको आन्दोलन सफल भएपछि ०४७ सालबाट भयो । पार्टीको कार्यक्रमको सिलसिलामा उहाँसँग मेरो कुराकानी हुन्थ्योे । उठबस बाक्लो हुँदै गयो । नियमितजस्तो भेटघाट हुन थाल्यो । ०४८ सालमा निर्वाचित भएर म राष्ट्रिय सभामा गएँ । यही सिलसिलामा उहाँसँग बढी भेट भयो ।  

त्यसक्रमा पार्टीको महाधिवेशन सम्पन्न भयो । म न्यायिक समितिका लागि निर्वाचित भएँ । न्यायिक समितिमा निर्वाचित भइसकेपछि झन् बढी उहाँसँग नजिक रहेर काम गर्ने अवसर पाएँ । पार्टीका विभिन्न कार्यक्रममा, आन्दोलनका दौरान उहाँसँग भेटघाट गर्ने, सँगै हिँड्ने उठबस गर्ने, अवसर प्राप्त भयो । 

मदन भण्डारी विचार र दृष्टिकोणमा प्रस्ट हुनुहुन्थ्यो । पार्टीलाई यसरी अगाडि बढाउनुपर्छ, साथीभाइहरू यसरी अगाडि बढ्नुपर्छ भनेर सल्लाह–सुझाब दिइरहनुहुन्थ्यो ।  उहाँले जतिपनि कुरा गर्नुहुन्थ्र्यो, प्रस्ट गर्नुहुन्थ्यो । उहाँमा स्पष्ट दृष्टिकोण थियो ।  

उहाँसँगका स्मरणीय केही घटनाक्रम छन् । हामी माले थियौँ । नेपाली कांग्रेसलगायत सबै पार्टी मिलेर पञ्चायती निरंकुशताविरुद्ध आन्दोलन गर्यौँ । निरंकुशतालाई पराजित गरेर लोकतान्त्रिक व्यवस्था स्थापित गर्यौँ । दलका प्रतिनिधिले नै संविधान पनि बनाए । त्यो वेलाको एउटा प्रसंग मलाई सम्झना छ । निरंकुशता त पराजित गरियो । तर, धेरै लामो समयसम्म निरंकुशताकाविरुद्ध आन्दोलन गरेका राजनीतिक दल मिलेर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण थियो । हामी यही कुरा नेपाली कांग्रेसलाई भन्थ्यौँ । तर, नेपाली कांग्रेसका साथीहरू मान्नुभएन । कृष्णप्रसाद भट्टराई (किसुनजी)ले त खुलामञ्चबाटै भाषण गरेर भन्नुभयो– ‘एक हजार सिटले मलाई पुग्दैन, कहाँबाट यो कम्युनिस्टहरूसँग मिल्नु !’

त्यतिवेला मदन भण्डारीले ‘ठीकै छ कोसिस गरौँ, मिलौँ’ भन्नुभयो । त्यतिवेला भण्डारी चुनावका लागि इलाममा आइपुग्नुभएको थियो । उहाँ किसुनजीसँग काठमाडौंमा लडिराख्नुभएको थियो । मनमोहन अधिकारीको विरुद्धमा कांग्रेसले धरानमा एकदम कमजोर उम्मेदवार दिएको थियो । त्यतिवेला हामीले मुख्य–मुख्य नेताहरूले उम्मेदवारी दिएको ठाउँमा मिलाउनुपर्छ भनेका थियौँ । तर, प्रतिस्पर्धामा अगाडि बढिसकेका थियौँ । मुख्य केही ठाउँमा मिलाउनुपर्छ भन्ने कुरा उठेको थियो । 

त्यतिवेला मदनले इलाममा आएर हामीसँग भन्नुभएको कुरा मेरो सम्झनामा ताजै छ– ‘हामी त मिल्न चाहन्छौँ, तर, नेपाली कांग्रेस मिल्नुपर्यो । अब तपाईंहरूको जुन चिन्ता छ, कृष्ण भट्टराईसँग म उठिराखेको छु । तर, त्यसै त त्यहाँ छोड्न सक्दिनँ । किनभने चुनावको वेलामा फेरि कम्युनिस्टहरू डराएर भागे भन्ने कुरा हुन्छ । मलाई एउटा निहुँ प्राप्त होस् ल । तपाईंहरूसँग कुरा गर्दागर्दै अहिले नै म आधार दिन्छु, तपाईंहरूलाई । हाम्रो पार्टी अध्यक्ष मनमोहन अधिकारीको विरुद्धमासुनसरीमा नेपाली कांग्रेसले जुन उम्मेदवार दिएको छ, त्यो एकदम कमजोर उम्मेदवार हो । त्यसै पनि मनमोहन अधिकारीलाई कसैले त्यहाँ जित्न सक्दैन । त्यही पनि धरानजस्तो ठाउँमा हामीले हार्ने प्रश्नै छैन । त्यो ठाउँको नेपाली कांग्रेसको उम्मेदवार साह्रै कमजोर छ, ऊ गिरिजाजीले भन्नेबित्तिकै बस्छ, त्यो उम्मेदवारलाई फिर्ता लिइदिनुस्, त्यो उम्मेदवार फिर्ता लिइदिनेबित्तिकै यसरी नेपाली कांग्रेसले हाम्रो मनमोहन अधिकारीविरुद्धको उम्मेदवारी फिर्ता लियो, काठमाडौंमा मेरो उम्मेदवारी फिर्ता लिन्छु भनेर अहिले म मेरो उम्मेदवारी फिर्ता लिन्छु ल । तपाईंहरू लाग्नुस् ।’



मदनले यसो भन्नुभएको मलाई हिजोअस्तिजस्तो लाग्छ । यो राम्रो आधार प्राप्त भयो भनेर हामी खुसी भएर लाग्यौँ । तर, गिरिजाजीले मान्नुभएन । नेपाली कांग्रेसले मानेन । स्थिति यो हो । त्यसले पनि बुझ्न सकिन्छ, मदन भण्डारी एकदम प्रस्ट हुनुहुन्थ्यो । 

हामीले चुनाव लड्याैँ । संविधान बन्यो । त्योभन्दा अघिको एउटा प्रसंग छ । संविधानबारे हाम्रा थुप्रै असन्तुष्टि थिए । मदन भण्डारीले ती सबै कुरालाई एकदम सिलसिलाबद्ध ढंगले व्यवस्थित रूपमा राखेर हामीलाई भन्नुभयो । हामीले यसमा असहमति राखेर यसलाई आन्दोलन गर्दै अगाडि जाउँला । आन्दोलन निरन्तर अगाडि बढ्दा सफलता प्राप्त हुन्छ । त्यतिन्जेल के गर्छौं त ? भन्दा हाम्रा यी असहमति राख्दै जनताको मन जित्दै, हृदय जित्दै हामी अगाडि बढ्नुपर्छ र यसमा आलोचनात्मक सहमति राख्दै अगाडि बढ्नुपर्छ भन्नुभयो । यति प्रस्ट र सोझिएको दृष्टिकोण थियो । त्यसले हामीलाई कहाँ ल्याइपु¥यायो ? त्यसलाई अहिले व्याख्या नै गर्नुपर्दैन । 



अर्को जोड्न चाहन्छु, अब चुनाव हुने भयो । कतिपय साथीभाइ, बुद्धिजीवीहरूको चिन्ता थियो, अब यो पार्टी के होला भन्ने । किनभने भर्खर क्रान्तिकारी प्रक्रियामार्फत आएको पार्टी । त्यतिवेला हाम्रो पार्टीमा पनि यस्ता खालका धारणा थिए । सबै चुनाव लड्ने भए । यो चुनावमा लड्न सबैजना गएपछि यो पार्टी कहाँ पुग्ने हो ? बुद्धिजीवीको कस्तो खालको धारणा थियो भने, एकदम व्यवस्थित ढंगले चुनाव लड्ने, नेताहरू पनि चुनाव नलडी पार्टीमै बस्ने, कतिजना चुनाव लड्न जाने हो व्यवस्थापन गर्नुपर्छ भन्ने थियो । यो सबैकुरा मदन भण्डारीलाई राखिसकेपछि बागबजारको पार्टी कार्यालयमा भनेको कुरा अहिले म सम्झन्छु । 

उहाँले प्रस्टैसँग भन्नुभयो– ‘हेर्नुस्, हामी समाज परिवर्तनका लागि, देश र जनताको हितमा लड्नका लागि अगाडि आएका हौँ । यो सन्दर्भमा विश्वमै शिर ठाडो हुने गरी हामीले बुलेट होइन, जनताको ब्यालेटमार्फत देश सञ्चालन गर्ने जिम्मेवारी लिनुपर्छ भनेर अगाडि आएका हौँ । बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गर्दै अगाडि बढ्न खोजेका हौँ । यस्तो अवस्थामा मन साँघुरो बनाउने, अस्पष्टता राख्ने काम गर्नुहुँदैन । यो बाटोबाट हिँडिसकेपछि अब यसमा यताउति चाइँचुइँ छैन, जतिजना भ्याइन्छ, सकिन्छ त्यतिजना चुनाव लड्नुपर्छ । कोही लड्ने, कोही नलड्ने यस्तो खालको अन्योल हुँदैन ।’ 

यति प्रस्टताका साथ उहाँले कुरा राख्नुभयो । पार्टी एकदम दन्दनाएर राजनीतिमा अगाडि बढ्यो । परिणामस्वरूप हामी यो ठाउँमा आइपुग्यौँ । यसरी मदन भण्डारी यस्तो प्रस्टताका आफ्नो कुरा राख्नुहुन्थ्यो । मदन भण्डारीसँगका ती क्षण मेरा लागि अविस्मरणीय छन् । 

त्यसैगरी अर्को कुरा पनि छ । सन्धि ऐनबारे राष्ट्रिय सभामा हुँदा हामीले धुमधाम लड्यौँ । त्यतिवेला मदन भण्डारी प्रतिनिधिसभामा हुनुहुन्थ्यो । उहाँ पटक–पटक हामीसँग सल्लनह गर्नुहुन्थ्यो । कानुनको विद्यार्थी भएको नाताले यसमा म बढी लागेको थिएँ । मलाईं बोलाउँदै उहाँले यसमा के भइरहेको छ ? कतातिर गइरहेको छ ? भनेर सोध्नुहुन्थ्यो । र, आफूले ल यसमा यसो गर्नुस् है भनेर उहाँले निर्देशन दिनुहुन्थ्यो । मलाई त्यो राम्रो सम्झना छ ।
 
प्रत्येक विषयमा प्रस्टता, प्रस्ट दृष्टिकोणका साथ अगाडि बढ्ने प्रतिबद्धता हुनुपर्छ । उहाँको जस्तै एकदम सादा जीवन जिउन सक्नुपर्छ । मलाई त्यतिवेलाको सम्झना छ । मदन भण्डारी साइकल लिएर हिँड्नुहुन्थ्यो । जनताले, पार्टीका कार्यकर्ताले यसरी साइकल चढेर साध्य हुँदैन भन्थे । 

मलाई उहाँबारे अर्को घटनाको याद आउँछ । नेपाली कांग्रेस सरकारको विरुद्धमा हामी आन्दोलनमा थियौँ । आन्दोलनका क्रममा नेपाल बन्दसम्म भयो । त्यसपछि के गर्ने ? आन्दोलन अगाडि बढाउने कि फेरि अर्को नेपाल बन्द गर्ने आदि कुराहरू उठे । त्यो कुरा पार्टीभित्र छलपल भयो । पार्टीभित्र छलफल हुँदा मदन भण्डारीले आन्दोलनलाई अगाडि बढाउने कुरा गर्नुभयो । तर, त्यतिवेला यो कुरा अल्पमतमा प¥यो । अर्थात् पार्टीले आन्दोलन टुंग्याउनुपर्छ भनेर निर्णय ग¥यो । हनुमान ढोकाको चोकनिर ठूलो आमसभा आयोजना थियो । अब के हुन्छ भनेर जनता र कार्यकर्ता पर्खेर बसेका थिए । त्यतिवेलाका कार्यकर्ता अहिलेका जस्ता थिएनन् । अहिलेका कार्यकर्ता अवसर मात्रै खोज्छन् । पार्टीका कोही साथीभाइ आमसभामा भाग लिएर ‘ल हामी अब यसो गर्नुपर्छ’ भनेर भन्न सक्ने फेला परेनन् । 

मदन भण्डारी आन्दोलनलाई रोक्न हुँदैन भन्ने पक्षमा हुनुहुन्थ्यो । आखिरमा मदन भण्डारी पनि त्यो आमसभामै जानुभयो । उहाँले आमसभामा गएर दन्दनाएर भाषण गर्नुभयो । हामीले हिजो-अस्ति नेपाल बन्द गराएर आफ्नो शक्ति प्रदर्शन गरिसक्यौँ । हामीले उठाएको कुरालाई जनताले अनुमोदन गरिसके । अब पटक–पटक नेपाल बन्द गर्नुपर्दैन, शान्तिपूर्ण ढंगले अगाडि बढौँ भनेर आमसभामा बोल्नुभयो । त्यो जनमतलाई कन्भिन्स गर्नुभयो । यो हो नेता भनेको । उहाँले यी कुरा पटक–पटक गर्नुभयो । व्यवहारमा लागू गर्नुभयो । 

मदन भण्डारीको दुर्घटनालाई हामीले ‘रहस्यपूर्ण हत्या’ भनेका छौँ । पार्टीले त्यतिवेलै भनेको छ । हामी अहिलेसम्म त्यसैमा दृढ छौँ । हामीलाई त्यही हो भन्ने विश्वास छ । तर, यो पत्ता लाग्न सकेको छैन । यसबारे सिद्धान्ततः यस्ता कुराहरू यत्तिकै रहनुहुँदैन । यसमा विवाद रहेन । तर, अहिले नै यस्तो भन्ने कुनै निष्कर्षमा हामी पुगेका छैनौँ ।  

(नेकपाका स्थायी कमिटी सदस्य सुवास नेम्वाङसँग फरकधारका रमेश दवाडीले गरेको कुराकानीमा आधारित)
 

  • प्रकाशित मिति : जेठ ३, २०७६ शुक्रबार १९:२२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया