१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

आईटी क्षेत्रबाट समृद्ध नेपाल सम्भव छ ? [अन्तर्वार्ता]

विश्वलाई जोड्ने एक बलियो माध्यम बनेको छ, सूचना प्रविधि अर्थात् आईटी क्षेत्र । आईटीको विकासकै कारण विश्व नै एउटा गाउँमा परिणत भएको छ । हुन त आईटी विश्वलाई जोड्ने माध्यम मात्र नभइ यो क्षेत्र व्यापार, व्यवसायदेखि हरेक कुरामा महत्वपूर्ण र अभिन्न अंग नै बनिसकेको छ । इन्टरनेटको पहुँच, प्रविधिको विकाससँगै नेपालमा पनि आईटी क्षेत्रमा अवसर बढ्दै गएको छ ।


आईटी क्षेत्रले नेपालको सामाजिक तथा आर्थिक रुपान्तरणमा ठूलो भूमिका खेल्न सक्ने बताउँछन्, नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नासआइटी) का उपाध्यक्ष गौरव पाण्डे । उनका अनुसार हाल नेपालबाट औपचारिक तथा अनौपचारिकरूपमा वार्षिक करिब एक अर्ब डलरको आईटी सेवा निर्यात भइरहेको छ । नेपालमा ८० हजारदेखि एक लाख व्यक्ति आईटी क्षेत्रमा कार्यरत छन् । पछिल्लो समय आईटी धेरैको रोजाइमा पर्छ । एउटा कम्प्युटर, एउटा मोबाइल, एकजना मात्र बस्न मिल्ने ठाउँ, खासै ठूलो लगानी नपर्ने जस्ता कारण यो क्षेत्र अहिले धेरैको रोजाइमा पर्न थालेको उनी बताउँछन् । 



‘विदेशको काम नेपालको कुनै पनि ठाउँमा बसेर गर्न सकिन्छ । विश्वका ठूला–ठूला कम्पनीमा समेत नेपालीले काम गरिरहेका छन्,’ उनी भन्छन् । हाल नेपालले हार्डवेयर, सफ्टवेयर निर्माण, ग्राफिक डिजाइन, एनिमेसन, टेलिमेडिसिन, अनलाइन मार्केटिङलगायतका सेवा विदेश निर्यात गरिरहेको छ । तर, यो पर्याप्त भने होइन । अरू देशको तुलनामा आईटी क्षेत्रमा नेपाल धेरै पछाडि छ । नयाँ–नयाँ प्रविधिमा नेपालमा अनुसन्धानको काम एकदमै कम भइरहेको पाण्डे बताउँछन् । 

‘अहिले यति अर्बको सफ्टवेयर निर्यात भयो भनेर हामी खुसी भइरहेका छौँ । तर, अरू देशको तुलनामा हामी प्रविधिको क्षेत्रमा धेरै पछि छौँ । हामीले गर्न पर्ने अझै धेरै बाँकी छ,’ उनी भन्छन्, ‘तर, पछिल्लो समय सरकार र नागरिकमा पनि आईटी क्षेत्रको विषयमा चासो भने हुन थालेको छ ।’



भर्खरै सरकारले अध्यादेशमार्फत कानुन संशोधन गर्ने निर्णय गरेपछि आईटी क्षेत्र उत्साहित बनेको छ । नेपाली आईटी कम्पनीले विदेशमा लगानी गर्न पाउने कानुनी प्रावधान बनेपछि यो क्षेत्र उत्साहित भएको हो । सरकारको यो निर्णयले सूचना प्रविधि क्षेत्रमा नयाँ सम्भावनाको ढोका खुल्ने नासआइटीका उपाध्यक्ष पाण्डे बताउँछन् । ‘सरकारले अध्यादेशमार्फत नेपाली आईटी कम्पनीहरूले विदेशमा लगानी गर्न पाउने, शाखा खोल्न पाउने, कारोबार गर्न र त्यहाँको आम्दानी नेपाल भित्र्याउन पाउने कानुनी व्यवस्था गरेको छ,’ उनी भन्छन्, ‘सरकारको यो निर्णयले हामी एकदमै खुसी छौँ । पटक–पटकको प्रयासले हामी सफल भएका छौँ । संसदबाट पनि सहजै पास होस् भन्ने हाम्रो चाहना छ ।’

यस व्यवस्थाले नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने र वैदेशिक मुद्रा आर्जनमा वृद्धि गर्ने उनको भनाइ छ । नेपाल अहिले प्रविधिको क्षेत्रमा फड्को मार्नेक्रममा छ  । धेरै ठूलो परिमाणमा नभए पनि नेपालका कम्पनीबाट सानो स्केलको प्रोजेक्टमा सहभागिता भने पुगेको छ । ठूला प्रोजेक्टमा नेपालको सहभागिताका लागि कानुनी झन्झट, जनशक्ति, पूर्वाधारलगायत समस्या रहेको उनी बताउँछन् । त्यसैले सरकारले नियामकभन्दा पनि सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।

पाण्डेका अनुसार बंगलादेश, श्रीलंका, भियतनाम, भारतलगायतका देशले आईटी क्षेत्रको विकासका लागि ठूलो धनराशि खर्च गरिरहेका छन् । त्यसैले नेपाल सरकारले पनि दीर्घकालीन योजना ल्याएर आईटी क्षेत्रलाई नीतिगत सहजीकरण गर्नुपर्छ । साथै सरकारले अबको पुस्ताका लागि सुरुदेखि नै आईटी शिक्षालाई प्राथमिकतामा राख्नुपर्छ । शिक्षकको क्षमता अभिवृद्धि गर्नुपर्छ ।

विद्यालय तहदेखि नै डिजिटलमा आउनुपर्छ  । यसमा अवसर छ बनेर सम्भावना देखाइदिनुपर्छ  । यसो गर्न सकियो भने तीन–चार लाख जनशक्ति उत्पादन गर्न खासै गाह्रो छैन । विश्वमा चम्किरहेको आईटी क्षेत्रको अवस्था नेपालमा कस्तो छ त ? के नेपाली आईटी क्षेत्रबाटै मालामाल बन्न सकिन्छ ? आईटी क्षेत्रमा थप सरकारका योजना कस्तो हुनुपर्छ ? सुनौँ नासआइटीका उपाध्यक्ष पाण्डेकै शब्दमा :



  • प्रकाशित मिति : २४ माघ, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया