विद्यार्थीहरूले पदच्यूत पूर्वनेता शेख हसिनाका पिताको सङ्ग्रहालय भत्काउन सुरु गरेको केही घण्टापछि सयौँ बंगलादेशी प्रदर्शनकारीहरूले बिहीबार हसिनासँग सम्बन्धित भवनहरू भत्काएका छन् ।
हसिनाका दिवङ्गत पिता एवं बंगलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानको घर र सङ्ग्रहालयमा गत वर्ष विद्यार्थी नेतृत्वको क्रान्तिको क्रममा आगो लगाइएको थियो । उक्त क्रान्तिले हसिनाको १५ वर्षको निरङ्कुश शासनको अन्त्य गरेको थियो ।
हसिनाले अगस्ट ५ मा हेलिकोप्टरबाट पुरानो मित्रराष्ट्र भारततर्फ उडान भरेको ठीक ६ महिनापछि बुधबार राति हथौडा र धातुका डन्डा बोकेको भीडले राजधानी ढाकाको भवनको पर्खालहरू भत्काउन थालेको हो ।
नरसंहारको मुद्दामा ढाकामा मुद्दाको सामना गर्न पक्राउ पूर्जीको अवज्ञा गरिरहेकी ७७ वर्षीया हसिना निर्वासनबाट फेसबुक प्रसारणमा देखा पर्ने रिपोर्टहरूको प्रतिक्रियामा विरोध प्रदर्शन भड्किएको थियो ।
बिहीबार बिहान बाँकी रहेको आगोले कालो पारेका पर्खालहरू भत्काउन डिगरहरू प्रयोग गरिँदै थियो । प्रदर्शनकारीहरूले हसिनाका दिवङ्गत पतिको ढाकाको घरमा भएको आगलागीसहित हसिनासँग सम्बन्धित देशभरका अन्य घरहरूमा पनि तोडफोड र आगो लगाइदिए ।
सबैभन्दा ठूलो बंगाली दैनिक प्रथम आलोले खुल्ना सहरमा हसिनाको परिवारको स्वामित्वमा रहेको भवन ध्वस्त पार्न भीडले सरकारी स्वामित्वको उत्खनन यन्त्र प्रयोग गरेको दाबी गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।