२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

सामाजिक सञ्जाल विधेयकविरुद्ध आन्दोलन गर्ने चेतावनी

सरकारले राष्ट्रिय सभामा पेस गरेको सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता लिएर सरोकारवालाहरूसँग छलफल गर्न एक कार्यक्रमका वक्ताहरूले धारणा राखेका छन् । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले विधेयक फिर्ता नलिए आन्दोलनका कार्यक्रम घोषणा गर्न सुझाव दिएका छन् । 


नेपाल प्रेस युनियन केन्द्रीय समितिको कानुन विभागले आयोजना गरेको विवेचना कार्यक्रममा बोल्दै सीएमआर नेपाल जर्नालिजम एकेडेमीका निर्देशक उज्ज्वल आचार्यले विधेयक लोकतान्त्रिक मूल्य र मान्यता विरोधी प्रावधान रहेकाले संशोधन आवश्यक रहेको औँल्याए ।



उनले भने,‘सामाजिक सञ्जालको महत्त्व र आवश्यकता नबुझेका व्यक्तिहरूले विधेयकको खाका तयार भएको देखिन्छ । मन्त्रालयको सुपर पावरवालाले खाका बनाएजस्तो छ । विधेयकमा भएका प्रावधानहरू व्यवहारिक रूपमा कार्यान्वयन असम्भव छ । अन्तर्राष्ट्रिय रुपमा ग्राह्य नै छैन । यसलाई व्यवस्थित रूपमा ल्याउन संशोधन आवश्यक छ ।’

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले सरकारले कुनै पनि विधेयक ल्याउनुअघि सरोकारवालाहरूसँग छलफल नै नगर्ने गरेको भन्दै आपत्ति जनाए । उनले भने,‘सामाजिक सञ्जाल विधेयक पनि छलफल र कुनै तयारी विना आएको छ । अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने किसिमको छ । अभिव्यक्तिलाई सङ्कुचन गर्ने, प्रयोगकर्तालाई तर्साउने किसिमले ल्याइएकाले फिर्ता लिनु जरुरी छ ।’



नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरहीले जन निर्वाचित सरकारले यस्तो खालको विधेयक ल्याउन असम्भव रहेको औँल्याउँदै यसले लोकतन्त्रको उपहास गराएको बताए । ‘सरकारले गल्ती सच्याउनपर्छ । फिर्ता गर्न आनाकानी गरेको खण्डमा आन्दोलनको बाटो रोज्नै पर्छ,’ उनले भने । 

पत्रकार महासंघकै पूर्वअध्यक्ष विष्णु निष्ठुरीले विधेयकका फिर्ता ल्याउने सम्बन्धमा पत्रकार महासंघले संस्थागत पहल गर्न नसकेको टिप्पणी गरे । उनले भने,‘नेपालका प्रधानमन्त्रीदेखि जनप्रतिनिधिहरूप्रति नै विश्वास नभइरहेको अवस्थामा संविधान विरोधी विधेयक आउनु नौलो होइन । विधेयक फिर्ता ल्याउन सरोकारवालाहरू लाग्नुपर्छ ।’ 



  • प्रकाशित मिति : २४ माघ, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया