अमेरिकाको उत्तरपश्चिमी राज्य अलास्कामा बिहीबार १० जना यात्रु बोकेको एउटा सानो व्यावसायिक विमान बेपत्ता भएको छ । विमान दुर्घटना भएको आशङ्का गरिएको छ ।
अलास्का राज्य प्रहरीका अनुसार ९ जना यात्रु र एकजना पाइलट सवार बेरिंग एयर क्याराभान अलास्काको स्थानीय समयअनुसार अपरान्ह ४ बजे उनालाक्लिटबाट नोमतर्फ उडेको विमान बेपत्ता भएको हो ।
यी दुई शहर नोर्टन साउण्डमा एक अर्काबाट लगभग १४६ माइल (२३५ किलोमिटर) को दूरीमा अवस्थित छन् । खोजी तथा उद्धारकर्मीहरूले विमानको अन्तिम जानकारी प्राप्त गर्न काम गरिरहेको अधिकारीहरूले एक विज्ञप्तिमा बताएका छन् ।
हराएको यो विमान संयुक्त राज्य अमेरिकामा हालै भएको उड्डयन विपत्तिको पछिल्लो घटना हो । गत ३० जनवरीमा राजधानी वासिङ्टनमा अमेरिकी सेनाको हेलिकोप्टरसँग यात्रुवाहक विमान ठोक्किँदा विमानमा सवार सबै ६७ यात्रुको मृत्यु भएको थियो ।
फिलाडेल्फियाको व्यस्त इलाकामा अर्को एक मेडिकल विमान दुर्घटना हुँदा सात जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।