भारत सरकारले शुक्रबार विश्वको सबैभन्दा ठूलो धार्मिक उत्सवमा ४२ करोडभन्दा बढी तीर्थयात्रीले धार्मिक स्नान गरेको बताएको छ । आयोजक अधिकारीहरूले कृत्रिम बौद्धिकता (एआई) र निगरानी क्यामेरा प्रयोग गरेर गणना गरिएको अनुमान गरेका छन् ।
संयुक्त राज्य अमेरिका र क्यानडाको जनसङ्ख्याभन्दा बढी यो अचम्मको सङ्ख्याको स्वतन्त्र रूपमा पुष्टि गर्न सम्भव छैन । यो एक अर्ब ४० करोड जनसङ्ख्या भएको विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको राष्ट्रका लागि पनि आश्चर्यजनक तथ्याङ्क हो ।
‘त्रिवेणी सङ्गममा ४२ करोडभन्दा बढी भक्तजनले डुबुल्की लगाए’, गङ्गा, यमुना र पौराणिक सरस्वती नदीहरूको सङ्गमलाई उल्लेख गर्दै सरकारको प्रेस सूचना ब्यूरोले भन्यो ।
उत्तरी सहर प्रयागराजमा प्रत्येक १२ वर्षमा आयोजना हुने प्रार्थना र स्नानको छ हप्ता लामो हिन्दू उत्सव कुम्भ मेला अझै दुई हप्ताभन्दा बढी समय बाँकी छ । यो जुन फेब्रुअरी २६ मा समाप्त हुँदैछ ।
भारतमा धर्म र राजनीति गहिरो रूपमा जोडिएका छन् । आलोचकहरूले यो उत्सवलाई हिन्दू राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदीको साख बढाउन प्रवर्द्धन गरिएको बताउँछन् । प्रधानमन्त्री मोदीले आफैं बुधबार पवित्र स्नान गरे ।
मोदीका निकट सहयोगी एवं भारतीय जनता पार्टी (भाजपा) कै आक्रामक साधु योगी आदित्यनाथ उत्तर प्रदेशका मुख्यमन्त्री हुनुहुन्छ र उत्तर प्रदेशमै यो उत्सव भइरहेको छ ।
आयोजकहरूले क्यामेराहरूको नेटवर्क र माथिबाट उड्ने ड्रोनहरू प्रयोग गरिरहेको बताएका छन् । एआई प्रणालीहरूले भक्तजनहरूको सङ्ख्या गणना गर्न र भीड व्यवस्थापन गर्न डाटा प्रशोधन गरिरहेका छन् । तर, त्यसले १९ जनवरीमा भएको घातक भागदौडलाई रोक्न सकेन ।
उक्त भागदौडमा कम्तीमा ३० जनाको मृत्यु भयो र ९० अन्य घाइते भए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।