इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले शनिबार दिउँसोसम्म बन्धक मुक्त नगरे युद्धविराम भङ्ग हुने र फेरि लडाइँ चर्किने चेतावनी दिएका छन् ।
उनले इजरायली सेनालाई गाजाभित्र र वरपरको क्षेत्रमा खट्न आदेश दिइसकेको पनि बताए । नेतन्याहूका अनुसार हमासले बन्धकहरूलाई मुक्त गर्ने कार्य स्थगित गर्ने बताएपछि आफूले त्यस्तो आदेश दिइएको हो ।
यद्यपि नेतन्याहूले हमासको कब्जामा रहेका बाँकी ७६ बन्धकलाई मुक्त गर्नुपर्ने माग गरेका हुन् कि युद्धविराम सम्झौताअन्तर्गत आगामी शनिबार मुक्त हुने भनिएका थप तीन बन्धकका सन्दर्भमा उक्त चेतावनी दिएका हुन् भन्ने स्पष्ट पारेनन् ।
बीबीसीका अनुसार एक इजरायली मन्त्रीले प्रधानमन्त्रीले ‘सबै बन्धक’ मुक्त गर्नुपर्छ भन्ने सन्दर्भमा उक्त अभिव्यक्ति दिएको बताएकी छन् ।
हमास के भन्छ ?
हमासले युद्धविराम सम्झौताप्रति आफू प्रतिबद्ध रहेको र ‘कुनै पनि प्रकारका जटिलता वा ढिलाइका लागि इजरायल जिम्मेवार’ रहेको प्रतिक्रिया दिएको छ ।
तीन साताअघि भएको युद्धविराम सम्झौतालाई इजरायलले उल्लङ्घन गरेको हमासको आरोप छ । उसले महत्त्वपूर्ण मानवीय सहायता अवरुद्ध गरिएको आरोप पनि लगाएको छ । तर, त्यसलाई इजरायलले खण्डन गरेको छ ।
यसै सप्ताहान्तका लागि निर्धारित बन्धक मुक्त गर्ने काममा विलम्ब गर्ने हमासको निर्णयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरेल पनि सम्झौताबाट पछि हट्दा हुने बताएका थिए ।
उनले शनिबारसम्ममा ‘यदि सबै बन्धकहरू मुक्त नगरिए’ युद्धविराम खारेज गरिनुपर्ने सुझाएका थिए । –बीबीसी
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।