३० पुस, २०८२ बुधबार
Jan. 14, 2026

काश्मिर सीमामा भारत-पाकिस्तानबीच गोली हानाहान
फाइल तस्बिर

भारतीय र पाकिस्तानी सैनिकले दुई चिरपरिचित प्रतिद्वन्द्वीलाई विभाजन गर्ने अत्यधिक सैन्यीकृत काश्मिर सीमामा गोलीबारी गरेका छन् । पाकिस्तानी पक्षले बिहीबार कम्तीमा चार जनाको ज्यान गएको बताएको छ ।

सन् १९४७ मा बेलायती औपनिवेशिक शासनको अन्त्यमा एसियाली उपमहाद्वीपबाट विभाजन भएयता काश्मिर दुई छिमेकी देशबीच विभाजित छ । दुवै राष्ट्रले यसमाथि पूर्ण दाबी गर्छन् र यस हिमालय क्षेत्रको नियन्त्रणका लागि दुई युद्ध र थुप्रै साना लडाइँ लडेका छन् । 



पाकिस्तानी सरकारी प्रसारक पिटिभीले अज्ञात सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै बुधबारको घटनामा त्यस देशका दुई सैनिक र दुई सर्वसाधारण घाइते भएको जनाएको छ ।

अज्ञात भारतीय सुरक्षा अधिकारीहरूले प्रसारणकर्ता एनडिटिभीलाई पाकिस्तानी सेनाले बिना कुनै उक्साहट गोली चलाएपछि भारतीय सेनाले जवाफमा गोली चलाएको बताएका छन् ।



एएफपीले सोध्दा पाकिस्तानी सेनाले टिप्पणी गर्न अस्वीकार गर्‍यो । भारतीय सेनाका अधिकारीहरूले टिप्पणीको अनुरोधमा जवाफ दिएनन् ।

यो घटना त्यस क्षेत्रमा दुई दिनअघि एक विस्फोटक उपकरणबाट दुई भारतीय सैनिक मारिएको घटनापछि भएको हो ।

सन् २००३ मा दुवै छिमेकीले हस्ताक्षर गरेको सीमा युद्धविराम सम्झौता त्यसयताका दशकहरूमा मोटामोटी कायम रहेको छ तर दुवैले एक अर्कालाई यसको उल्लङ्घन गरेको बारम्बार आरोप लगाउँछन् ।

गत महिना भारतीय सेनाले भारत प्रशासित क्षेत्रमा प्रवेश गर्ने प्रयास गर्दा काश्मिर सीमामा आफ्ना सैनिकहरूले दुई विद्रोही लडाकूलाई मारेको बताएको थियो ।



धेरै विद्रोही समूहले मुस्लिम बहुल क्षेत्रको स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै त्यस क्षेत्रमा तैनाथ भारतीय सेनासँग लडेका छन् । द्वन्द्वमा दसौँ हजार मानिसको मृत्यु भएको छ । तीमध्ये अधिकांश सर्वसाधारण छन् ।

सन् २०१९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले आंशिक स्वायत्तता रद्द गरेर नयाँदिल्लीबाट क्षेत्रको प्रत्यक्ष नियन्त्रण लागू गरेपछि लडाइँ घटेको छ । तर, गत वर्ष तीन वर्षमा ५० भन्दा बढी सैनिकको ज्यान लिने घातक विद्रोही आक्रमणहरूको शृङ्खलापछि दक्षिणी पहाडी क्षेत्रहरूमा हजारौं थप सैनिक तैनाथ गरिएका थियो ।

भारतले नियमितरूपमा पाकिस्तानलाई भारतीय सेनामाथि आक्रमण गर्न विद्रोहीहरूलाई साझा सीमा पार गराएर पठाएको आरोप लगाउँछ । पाकिस्तानले यो आरोप अस्वीकार गर्दै आफूले काश्मीरको आत्मनिर्णयको सङ्घर्षलाई मात्र समर्थन गर्ने बताउँछ । 

  • प्रकाशित मिति : १ फागुन, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया