त्यो ‘क्याप’ किन्न नपाएकै कारण यहाँसम्म आइपुगेँ

क्रिकेटप्रतिको मेरो रुचि र लगाव सानैदेखिको हो, तर त्यतिवेला मलाई क्रिकेटभन्दा ज्यादा ब्याडमिन्टन र जुडो मन पर्थ्यो । यसको मतलव क्रिकेट मनै पर्दैनथ्यो भन्ने होइन । मन त पर्थ्यो, तर अलि कम । जुडो खेल्दा मलाई धेरै सकस हुन्थ्यो । म बलियो, हट्टा–कट्टा थिइनँ, त्यसैले म सधैँ हार्थें र पिटाइ पनि त्यतिकै खान्थेँ । हरेक खेलमा म कुटिन्थेँ । 

मलाई एक दिन लाग्यो, जुडो मेरो वशको कुरा होइन, सधैँ यसैमा रहिरहेँ भने अझ धेरै धुलाइ खानुपर्नेछ । जुडो छोड्नुमै मेरा भलाइ छ । त्यसैले जुडोबाट सदाका लागि सन्यास लिए । 

अब कुरा गरौँ, ब्याडमिन्टनको । ब्याडमिन्टन खेल आफँैमा महँगो थियो, जुन मेरो वशमा थिएन । मसँग अन्तिम विकल्प थियो, क्रिकेट । त्यसैले क्रिकेटतर्फ अघि बढेँ । क्रिकेटलाई आत्मसात् गर्नु मेरो बाध्यता मात्र पनि थिएन । रहर पनि थियो । क्रिकेटले त्यसताका कमाएको लोकप्रियताले त्यो रहर जगाइदिएको थियो । 

ती दिनमा क्रिकेट टिभीमा देखाउन सुरु भएको थियो । हामी साथी, घरपरिवार सँगै बसेर खुब हेर्थ्याँै । यसै क्रममा मेरो क्रिकेट इच्छा बानीमा परिणत भइसकेको थियो । क्रिकेट हेर्नु मेरा लागि अडिक्सन नै भइसकेको थियो । हिन्दुस्तानका अन्य सहरमा जस्तै हाम्रो गाउँ जालन्धरका गल्ली–गल्लीमा क्रिकेट खेलिन्थ्यो । बिस्तारै हामी पनि टिम बनाएर खेल्न थाल्यौँ । मलाई बिस्तारै क्रिकेटको मात चढ्दै जान थाल्यो । घरको हालत एकदमै कमजोर थियो, तर पनि मलाई क्रिकेट मन पर्छ भनेर थाहा पाएपछि बाबाले साथ र हौसला दिनुभयो । उहाँले मलाई क्रिकेट एकेडेमीमा भर्ना गराइदिनुभयो । 

म १३ वर्षको थिएँ, क्रिकेट सिक्नका लागि जालन्धरबाट चन्डिगढ जाँदा । ती दिनमा चन्डिगढमा स्पोट्र्स अथोरिटी अफ इन्डिया थियो । मैले त्यहीँबाट क्रिकेट सिक्न सुरु गरेँ । 

एक दिन बलिङ गरेर देखाउँदा, काेचले सोधे– के बन्न चाहन्छौ ? 



‘अफ स्पिनर ।’ उनको प्रश्नमा मैले उत्तर दिए । 

मैले भन्न त अफ स्पिनर बन्न चाहन्छु भनिहालेँ, तर मलाई अफ स्पिनर बन्न के गर्नुपर्छ त्यो पनि थाहा थिएन । यतिसम्म कि अफ स्पिनरको अर्थ पनि थाहा थिएन । गाउँमा राम्रो बलिङ गर्थें र धेरै विकेट पनि लिन्थेँ । तर, यहाँको कुरा पूरै फरक थियो । मैले गाउँमा गर्ने गरेको बलिङको त तरिका नै नमिलेको रहेछ । यहाँ मैले सुरुमा कसरी सही ढंगले बलिङ गर्ने भनेर सिक्नुपर्यो । धेरै मिहिनेत गर्नुपर्यो । मैले मात्र होइन, मलाई सिकाउने कोचले पनि धेरै मिहिनेत गरे । 



उनले मलाई सम्झाए– राम्रो स्पिनर बन्न औँलामा तागत हुन जरुरी छ । औँलामा तागत भए मात्र बल राम्रोसँग घुमाउन सकिन्छ । मैले उनले भनेबमोजिम अभ्यास गर्न थालेँ । उनले मलाई बलिङ गर्दा शरीरलाई कसरी सन्तुलनमा राख्नुपर्छ भनेर पनि सिकाए । त्यतिवेलादेखि नै मैले सुइङ बलिङ गर्न सुरु भइसकेको थियो र मेरो बलिङ स्टाइल अरूको भन्दा फरक थियो । 

यो कुरा मेरा कोचले पनि नोटिस गरिरहेका रहेछन् । उनले मलाई आफ्नो ल्याकत र क्षमतालाई चिन्न पनि सिकाउँदै लगे । परिणामस्वरूप मेरो बलिङ दिनानुदिन परिष्कृत हुँदै जान थाल्यो । 

पन्जाबको अन्डर–१६ टिमको छनोट हुँदा सबैभन्दा पहिला मेरो नाम फिक्स भएको थियो । हामीले पहिलो खेल हरियाणाविरुद्ध खेल्यौँ । त्यसपछि दिल्ली र हिमाञ्चल प्रदेशविरुद्ध । ती तीनै खेलमा हामीले शानदार प्रदर्शन गर्यौं । ती खेलमा म २० भन्दा बढी विकेट लिन सफल भएँ । खेल राम्रो भएकै कारणले १६ वर्षकै उमेरमा म अन्डर–१९ को टिममा पर्न सफल भएँ ।

बाबाको चाहना मैले ‘नेसनल टिम’ बाट खेलेको हेर्ने थियो । उहाँका आँखामा म यो सपना प्रस्टै देख्न सक्थेँ । मभित्र पनि अब देशको लागि खेल्नुपर्छ भन्ने भावना जन्मिसकेको थियो । 

भारतीय नेसनल टिम म्याच खेल्न चन्डिगढमा आउँदा हामी पनि नेटमा बलिङ गर्न जान्थ्यौँ । मलाई त्यो दिन अहिले पनि याद छ, जब मैले सचिन, सिद्धु, कुम्ले, अजहरुद्धिन र श्रीनाथजस्ता स्टार खेलाडीलाई निकै पहिलोपटक नजिकबाट देखेको थिएँ । मैले उनीहरूमध्ये केहीसँग टिसर्ट मागेको थिएँ र उनीहरूले दिएका पनि थिए । 

एक दिन मेरो जीवनमा एउटा घटना घट्यो, जसले मेरो जीवनलाई फेरिदियो । भयो के भने हामी त्यसदिन क्रिकेट ड्रेस र किट्स हेर्दै एउटा ‘स्पोटर्स सप’मा पुग्यौँ । सायद, त्यो सन् १९९७ को अन्तिम महिनातिरको कुरो हो । त्यस सपमा जर्सी हेर्दै जाँदा मलाई एउटा ‘क्याप’ औधी मन पर्यो । त्यस क्यापमा ‘बिसिसिआई’को पनि लोगो थियो । त्यसकारण पनि त्यो क्याप मन परेको थियो । 

मैले पसलेलाई सोधेँ– यो क्यापलाई कति पर्छ ?

‘यो क्याप तिम्रो लागि होइन ।’ क्यापको दाम बताउनुको साटो पसलेले मलाई बेपरबाह गर्दै रुखो आवाजमा उत्तर दियो ।
 
मलाई पसलेको ग्राहकसँग प्रस्तुत हुने तरिका मन परेको थिएन । त्यसैले सोधिहालेँ– किन, म क्याप किन्न सक्दिनँ ?

‘यो क्याप ती खेलाडीका लागि हो, जो भारतीय टिमका लागि खेल्छन् ।’ उनले मेरो ठाडो प्रश्नको ठाडै उत्तर मतिर फ्याँके ।
 
त्यसपछि मैले केही प्रतिक्रिया जनाइनँ । बरु पसलेको त्यो कुरा मेरो मनमा गहिरोसँग बस्यो । सँगै ममा एक चुनौती पनि थपियो । आफैसँग संकल्प गरे, कुनै दिन मलाई पनि यो क्याप लगाउनु छ । देशका लागि खेल्नेछु । 

हामी त्यहाँबाट बाहिर निस्केपछि सबै साथीलाई पनि लागेको थियो कि पसलेको कुराले हरभजनलाई भित्रैबाट बिझेको छ । मैले पनि देशका लागि खेल्छु र यो क्याप जुनसुकै हालतमा लगाउँछु भन्ने त्यतिवेला नै सोचिसकेको थिएँ ।

‘लाइभ हिन्दुस्तान डटकम’मा  ‘मेरी कहानी’ ब्लगअन्तर्गत प्रकाशित भएको हरभजन सिंहको ब्लगको अनुवादित अंश ।

  • प्रकाशित मिति : जेठ ४, २०७६ शनिबार १६:४३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया