२९ पुस, २०८२ मंगलबार
Jan. 13, 2026

शान्तिवार्ता गर्न के चाहन्छन् युक्रेन र रुस ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यही साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार फोनमा ट्रम्पले शान्ति वार्ता सुरु गर्न सुझाव दिए ।  

तीन वर्षदेखि जारी युद्धलाई अन्त्य गर्न वार्ताका लागि मस्को र किएभको धारणा बाहिर ल्याउन एएफपीका समाचारदाताले उनीहरूको अडानबारे समीक्षा गरेका छन् ।



सङ्घर्षको मूल कारण सम्बोधन हुनुपर्छ : रुस

ट्रम्पसँगको कुराकानीमा पुटिनले युक्रेनमा युद्ध अन्त्य गर्न द्वन्द्वको ‘मूल कारण’ समाधान गर्न आवश्यक रहेको बताएका थिए । रुसका अनुसार सन् २०२१ को अन्त्यतिर मस्कोले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) र वासिङ्टनसँग युद्ध सुरु गर्नुभन्दा केही हप्ताअघि राखेको सुरक्षा मागलाई सङ्केत गर्दै यो कदम चालिएको हो ।



ती मागहरूले युरोपको सुरक्षा संरचनामा व्यापक परिवर्तनको परिकल्पना गरेका थिए, जसमा पूर्व सोभियत देश, बाल्टिक राज्य, रोमानिया र बुल्गेरियासहित पूर्वी समूहका सदस्यहरूबाट अमेरिकी र नाटो सेनाहरूको फिर्ता समावेश थियो । उनीहरू सबै नाटो र ईयू सदस्यहरू हुन् ।

रुसले नोटोसँग युक्रेनलगायत अन्य कुनै पनि पूर्व सोभियत राष्ट्रलाई सदस्यता प्रदान नगर्ने वा पूर्व सोभियत सङ्घको भू–भागमा सैन्य कारबाही नगर्ने प्रतिबद्धता पनि मागेको छ । क्रेमलिनले आक्रमण गरेदेखि नै युक्रेनको नियन्त्रणमा रहेको रुसको भूभागलाई आफ्नो सेनाद्वारा नियन्त्रित युक्रेनी भू–भागसँग साटासाट गर्ने विचारलाई अस्वीकार गर्दै आएको छ ।

मस्कोले सन् २०२२ मा युक्रेनका चार वटा दक्षिणी र पूर्वी भू–भागमा कब्जा जमाएको र सन् २०१४ मा क्रिमिया कब्जा गरेको उल्लेख गर्दै द्वन्द्व अन्त्य गर्ने कुनै पनि सम्झौताले ‘धरातलीय नयाँ वास्तविकता’ प्रतिबिम्बित गर्नुपर्ने बताएको छ ।

जेलेन्स्कीको कार्यकाल गत वर्ष समाप्त भएको दाबी गर्दै उसले जेलेन्स्कीसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरेको छ । आक्रमणपछि लागू गरिएको सैनिक कानुनअन्तर्गत जेलेन्स्की नेता रहेका हुन् । उनले अन्तर्राष्ट्रियरूपमा मान्यता प्राप्त गरेका छन् ।



पुटिनले अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशंसा गरेका छन् । साथै, उनले ट्रम्पसँग भेट्न तयार रहेको बताएका छन् । पुटिनले ट्रम्प सन् २०२२ मा ह्वाइट हाउसमा भएको भए युद्ध सुरु हुने थिएनसमेत बताएका छन् ।  

न्यायपूर्ण शान्तिको सुनिश्चितता : युक्रेन

युक्रेनी राष्ट्रपति जेलेन्स्की युद्ध जतिसक्दो चाँडो अन्त्य होस् र युक्रेनले भविष्यमा हुने रुसी आक्रमणहरू रोक्ने सुरक्षा सुनिश्चितता प्राप्त गरोस् भन्ने चाहन्छन् । साथै, नाटोको सदस्यता वा ठूलो मात्रामा विदेशी शान्ति सेनाको टुकडीलाई रोक्ने सुरक्षा सुनिश्चितता प्राप्त गरोस् भन्ने उनको माग छ । 

उनले वार्तामा युक्रेन, रूस, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घलार्ई पनि समावेश गर्नुपर्ने बताउँदै आएका छन् । किनभने हाल इयुको सदस्यताको उम्मेदवारका रुपमा रहेको किएभ समूहमा सामेल हुनेमा जेलेन्स्की आशावादी छन् । 

किएभले रुसलाई आफ्नो भू–भाग सुम्पन अस्वीकार गरिरहेको छ  । तर, जेलेन्स्कीले युक्रेनले कूटनीतिको माध्यमबाट केही भू–भाग पुनः प्राप्त गर्न सक्ने बताएका छन् । उनले शान्ति सूत्र र विजय योजना गरी दुई दस्तावेजमार्फत युद्ध अन्त्य गर्ने युक्रेनी दृष्टिकोणको वरिपरि सहयोगीहरूलाई भेला गर्ने प्रयास गरेका छन् । उनले किएभबाहेकको वार्ता असफल हुने बताएका छन् । 

युक्रेनले गत अगस्टमा रुसको सीमावर्ती क्षेत्र कुस्र्कको केही भाग कब्जा गरेको थियो । उसले यो क्षेत्र कुनै पनि वार्तामा एक महत्वपूर्ण लेनदेनको विषय हुने बताएको थियो । यसै साताको सुरुमा जेलेन्स्कीलेले युक्रेनमा रुसको कब्जामा रहेको केही भूभागको बदलामा यसलाई त्याग्ने विचार अघि सारेका थिए । 

यसअघि उनले रुसी सेनाको पूर्ण फिर्ता वार्ताको पूर्वशर्त हुने र ‘न्यायोचित शान्ति’ले मात्र युद्धको स्थायी अन्त्य गर्न सक्ने बताएका थिए ।   

सन् २०२२ जुलाईमा मस्को र किएभले टर्की र संयुक्त राष्ट्रसंघसँग सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौताले युक्रेनलाई अनाज निर्यात गर्न ‘ब्ल्याक सी’मा रुसी नौसैनिक नाकावन्दीलाई बाइपास गर्न अनुमति दिएको थियो । 

क्रेमलिनले प्रतिबन्धको अन्त्य गर्ने राहतको मागलाई बेवास्ता गरिएको गुनासो गर्दै एकतर्फीरूपमा एक वर्षपछि सम्झौताको अन्त्य भएको घोषणा गरेको थियो । 

फ्रान्स, जर्मनी, युक्रेन र रुसले बेलारूसको राजधानी मिन्स्कमा क्रेमलिन समर्थित पृथकतावादी शक्ति र किएभबीचको लडाइँ अन्त्यका लागि शान्ति सम्झौता गर्ने प्रयास गरेको एक दशकपछि म्युनिखमा यो साता वार्ता भएको हो ।

ती नाजुक सम्झौताहरूले रुसी समर्थित पृथकतावादीहरूलाई पूर्वी युक्रेनको ठूलो भूभागमा वास्तविक नियन्त्रण प्रदान गरेको थियो । यसले रुसलाई सन् २०२२ को पूर्णरूपमा आक्रमण सुरु गर्न आफ्नो सेना निर्माण गर्न समय दिएको थियो । 

  • प्रकाशित मिति : १ फागुन, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया